पाँच बालबालिका अति कुपोषित

0
Shares

चिरञ्जीवी मास्के, दोलखा
लखा जिल्लाको विभिन्न गाविसमा रहेका बालबालिका, गर्भवती तथा सुत्केरी महिलामा गरिएको परीक्षणमा ५२ जना बालबालिकामा कडा शीघ्र कुपोषण, ६ सय २४ जनामा मध्यम तथा शीघ्र कुपोषण र ९ सय ५५ गर्भवती तथा सुत्केरी महिलामा मध्यम तथा शीघ्र कुपोषणा पाइएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

फागुन महिनामा पहिचान गरिएका कडा शीघ्र कुपोषणका ५२ जना बालबालिकाको उपचार गरिएकोमा ३ जनाको उपचार जारी रहेको र अन्य बालबालिका भने उपचारपछि स्वस्थ भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ। त्यसै गरी भूकम्पपछि दोलखामा अति कुपोषित ५ जना बालबालिकाले विशेष उपचार कक्षमा उपचार सेवा लिइरहेको जनाइएको छ। भूकम्पपछि आपत्कालीन अवस्थामा अति कुपोषित बालबालिकाको उपचार गर्ने उद्देश्यले स्थापना गरिएको विशेष उपचार कक्षमा ३ जना बालिका र २ बालक गरी ५ जना बालबालिकाले सेवा लिएको जनाइएको छ।

अति कुपोषित बालबालिकामा भोक नलाग्ने, ग्लुकोजको मात्रा कम हुने, तापक्रम कम हुने, छालाको संक्रमण, उचित बुद्धि विकास नहुनेलगायतका समस्या हुने र सामान्य बालबालिकाभन्दा अति कुपोषित बालबालिकालाई मेडिकल जटिलता हुने भएकाले उनीहरूलाई विशेष उपचार कक्षको व्यवस्था गर्नुपरेको राष्ट्रिय स्वास्थ्य कोषकी जिल्ला संयोजक स्मिता भण्डारीले जानकारी दिनुभयो। दोलखामा १४ ओटा उपचारात्मक बहिरंग सेवा सञ्चालनमा रहेको र उक्त बहिरंग सेवाबाट समस्या पहिचान गरी रेफर गरिएका अति कुपोषित बालबालिकालाई चरिकोटस्थित प्राथामिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको भण्डारीले बताउनुभयो। विशेष उपचार कक्षका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा ४ ओटा बेड सञ्चालनमा रहेको र समस्या पहिचान गर्न सजिलो होस भन्ने उद्देश्यले ४२ जना स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको जनाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयले ६ देखि ५९ महिनासम्मका बालबालिकामा गरेको परीक्षणमा ६ सय २४ जनामा मध्यम तथा शीघ्र कुपोषण भेटिएको जिल्ला जनस्वास्थ्य निरीक्षक कुमार दाहालले बताउनुभयो। मध्यम तथा शीघ्र कुपोषण भेटिएका बालबालिकामध्ये ६ सय २ जनाको उपचार गरिएको र त्यसमा ५ सय ३४ बालबालिका उपचारपछि स्वस्थ रहेको तथा ४८ जना बालबालिका अहिले पनि नियमित उपचारमा रहेको जनस्वास्थ्य निरीक्षक दाहालले बताउनुभयो। उपचार गरिएकामध्ये १० जनामा पुनः समस्या देखिएको, २ जनालाई उपचारका लागि अन्यत्र पठाइएको, १ जना सम्पर्कमा नआएको तथा १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

Skip This