धान उत्पादन बढाउन अनुदान



त्रिशूली (नुवाकोट), १४ चैत । जिल्लामा चैतेधानको उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ ।

नुवाकोटमा चालु आवदेखि सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रममार्फत किसानलाई नगद अनुदान दिन लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमल गैरेले बताउनुभयो ।

ञ“धान नेपालको प्रमुख खाद्यबाली हो, यसको उत्पादन वृद्धि गराउन सरकारले यो वर्षदेखि अनुदानको कार्यक्रम ल्याएको हो,” उहाँले भन्नुभयो – “किसानलाई थोरै अनुदान दिँदा धानखेती गर्न उनीहरुमा उत्साह बढ्ने विश्वास लिएका छौँ । अनुदानका लागि सरकारले तोकेको मापदण्डमा खेती गर्नुपर्छ ।”

चामल आयात गर्ने बाध्यतालाई अन्त्य गराउन यो कार्यक्रम सञ्चालन गरिएकाले किसानले धान उत्पादनमा विशेष ध्यान दिनुपर्ने जिल्ला कृषि कार्यालयले जनाएको छ ।

बृहत्तर उत्पादन कार्यक्रमले जिल्लाका साविकको १० गाविसलाई समेटेको छ । मदानपुर, थानसिङ, थानापति, खानिगाउँ, चौघडा, गणेशस्थान, कविलाश, रालुका र नर्जामण्डपलाई कार्यक्रममा समेटिएको जिल्ला कृषि कार्यालयका बाली विकास अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार १० गाविसका १०० हेक्टर क्षेत्रफलका लागि प्रतिहेक्टर रु पाँच हजारका दरले प्रोत्साहन रकम दिन थालिएको हो ।

रकम लिन कृषि सहकारी र समूहमार्फत आउनुपर्ने हुन्छ । प्रोत्साहन रकम प्राप्त गर्न धान लहर मिलाई रोप्नुपर्ने र बाली बिमा गर्नुपर्ने बाली विकास अधिकृत सुवेदीले बताउनुभयो ।

रोप्ने काममा कृषि कार्यालयबाट प्राविधिक सहयोग भइरहेको छ । बाली बिमाले किसानलाई उनीहरुले लगाएको धान बालीमा कुनै कारणवश क्षति हुनपुगेमा त्यसको आर्थिक क्षतिपूर्ति उपलब्ध गराउनेछ ।

नुवाकोटमा छ हजार हेक्टरभन्दा बढी क्षेत्रफल खेतमा चैते धान लगाइने गरेको छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिक टन रहेको छ । जिल्लामा विशेष गरी ताइचुङ, सीएच ४५, कन्चन, खुमल ११, जीरे मसिनोजस्ता जातका धान लगाउने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्