महायज्ञ महोत्सव हुने



बाँके – बाँकेको समृद्धि, पितृ उद्धार एवं मानव जातीकै कल्याणका लागि नेपालगञ्जमा अष्टोत्तरशत १०८ श्रीमद्भागवत पारायण ज्ञान महायज्ञ महोत्सव हुने भएको छ ।

नेपालगञ्जको फूल्टेक्रास्थित १००८ हडियाबाबा आश्रम एवं लक्ष्मीनारायण मन्दिर परिसरमा यही १६ देखि २३ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

महायज्ञ सञ्चालन समितिमा नन्दलाल बैश्य, पशुपतिदयाल मिश्र र अच्युतप्रसाद प्रसाइ संयोजक रहनु भएको छ । संयोजक मिश्रले नेपालगञ्ज पुरानो शहर भएर पनि पछि परेकाले यस्ता पुण्य कामहरु गर्नुपरेको बताउनुभयो ।
महायज्ञका प्रमुख कथावाचक चक्रपाणी आचार्यले ब्रह्मान्डको सन्तुलन मिलाइरहन महायज्ञको ठूलो भूमिका रहेको बताउनुभयो । ‘जीवन र जगतको रहस्य बुझ्न आउनु होला, सबै मिलेर महायज्ञलाई सफलतापूर्वक सम्पन्न गरौं, आचार्यले भन्नुभयो ।
१०८ ब्राह्मण व्यासहरुद्वारा १०८ श्रीमद्भागवत पारायण, बेद, गीता, विष्णुसहस्रनाम उपनिषद् ग्रन्थहरुको पाठ नित्यहवन गर्नका लागि महायज्ञ महोत्सव आयोजना गरिएको हो । आयोजकका अनुसार, १६ गते शोभायात्रा पछि १७ गतेदेखि दैनिक स्वष्तिकवाचन, पूजा, श्रीमद्भागवत मूलपाठ, कथा, रामकथा, भजन किर्तनका साथै श्रद्धालुहरुको आग्रहमा विवाह, ब्रतबन्ध, पासनी, तुलादान, ग्रहशान्तिलगायतका गतिविधि हुनेछन् ।
१०८ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा कर्ता बन्नका लागि पन्ध्र हजार, विधिवत पूजा अर्चना गरी स्थापित गरिएको दिब्य कलश एकको एक हजार पाँच सय र दुई वटा दिब्य कलशको लागि दुई हजार पाँच सय रुपैया लाग्ने आयोजकले बताएका छन् ।
हडियाबाबा आश्रममा गतवर्षदेखि नै यस्तो महायज्ञ महोत्सव आयोजना गर्ने तयारी भएको थियो । आयोजकले यसपाली बाँकेवासी सबैले स्वामित्व लिने गरी महायज्ञ महोत्सव आयोजना गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्