क्षयरोगी छ्यापछ्याप्ती



बीचैमा औषधि खान छोड्दा चुनौती

नेपाल समाचारपत्र
बाँके

बाँकेमा सर्ने खालका कडा क्षयरोगीले पनि बीचैमा औषधि खाना छोड्ने गरेका छन्। अलिअलि आराम हुनेबित्तिकै औषधि नै खान छाड्ने र औषधि पूरा खाएकाले पनि अन्तिममा सम्पर्क नगरेर हिँड्ने गरेको पाइएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार अघिल्लो वर्ष ४ सय ८१ जनाले औषधि सेवन गर्दा २० जनाले बीचैमा औषधि खान छोडेका थिए भने १७ जना औषधि खाएर पनि अन्तिममा सम्पर्क नगरेर घर गएका थिए। यो वर्ष ३० जना क्षयरोगीको मृत्यु भएको जनस्वास्थ्यका फोकलपर्सन प्रेम केसीले जानकारी दिनुभयो। आर्थिक वर्ष २०७२÷०७३ मा खकार जाँच गर्दा सर्ने खालका १ हजार ४८ जना बिरामी फेला परेका छन्। तीमध्ये ५ सय ७३ जना बाँकेबासी रहेका छन्। जसमा पुरुष ३ सय ७६ र महिला १ सय ९७ जना रहेका छन्।

बाँकेमा वर्षेनी १ हजार आसपासमा नयाँ क्षयरोगी फेला पर्ने गरेको छ। ती फोक्सोमा किटाणु देखिएका सर्ने खालका कडा बिरामी हुन्। समुदायमा अझै लुकेर बसेका यस्ता कडा खालका क्षयरोग भएका बिरामी अधिक रहेको आँकलन गरिएको छ। कडा खालका क्षयरोगीले समयमा उपचार नगर्ने हो भने कम्तीमा १० जनालाई रोग सार्न सक्छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खड्काले सय जना बिरामीको खकार जाँच गर्दा दश जना पोजिटिभ देखिनुपर्नेमा बाँकेमा १३ जना भेटिनु चुनौतीपूर्ण रहेको बताउनुभयो। जिल्लामा डट्स सेवा पनि हुनुपर्ने जति प्रभावकारी देखिएको छैन। डट्स सेवाको सफलता दर ९० प्रतिशत हुनुपर्नेमा बाँकेमा ८९ प्रतिशत भएको छ। जनस्वास्थ्यका फोकलपर्सन केसीले यो सफलताको दर राम्रो नभएको बताउनुभयो। ‘यसले डट्स सेवालाई अझै गुणस्तरीय र भरपर्दो बनाउनुपर्छ भन्ने देखाएको छ’ –केसीले भन्नुभयो।

बाँकेमा ५९ वटा डट्स सेन्टर रहेका छन्। ५५ वटा सरकारी, दुईवटा निजी, दुईवटा गैससले सञ्चालन गरेका छन्। त्यस्तै, प्रयोगशाला १३ वटा रहेका छन्। सरकारी ९, निजी र गैससले सञ्चालन गरेका २÷२ वटा छन्। जिल्ला जनस्वास्थ्य प्रमुख खड्काले बिरामीले क्लिनिकमा औषधि खाइदिनाले चुनौती बढेको बताउनुभयो।

राष्ट्रिय क्षयरोग कार्यक्रमको लक्ष्य ८२ प्रतिशतभन्दा बढी रोगी पत्ता लगाउनुपर्छ। तर, ५२ प्रतिशत स्वास्थ्य संस्थाले मात्रै आफ्नो लक्ष्य पूरा गरेका छन्। बाँकेको १४ वटा साविकका गाविसमा रोग पत्ता लगाउने प्रतिशत सतप्रतिशत भन्दा बढी देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, पुरैना, वनकट्टी, गनापुर, कम्दी, कटकुइया, खासकारकादो, वसुदेवपुर, नरैनापुर, बेतहनी, भवानीयापुर, शमशेरगन्ज, कालाफाटा, लक्ष्मणपुर र मटेहियामा सतप्रतिशत भन्दा उच्च रहेको छ। सीतापुर, गंगापुर, उदयपुर, महादेवपुरी, नेपालगन्ज हेल्थपोस्टमा ९० देखि ९९ प्रतिशत, चिसापानी, सोनपुर, नौबस्ता, हिरमिनिया, विनौना, कोहलपुर, वनकटवा, मनिकापुर, फत्तेपुर, खजुराखुर्द, बैजापुर, होलिया, साईगाउँ, खजुरा पीएचसी, खासकुश्मा, रझेना, कचनापुरमा ५० देखि ८९ प्रतिशत, बेलहरी, इन्द्रपुर, उढरापुर, परसपुर र पिप्रहवामा ३२ देखि ४९ प्रतिशत र टिटिहिरिया, राधापुर र रनियापुरमा १४ देखि ३१ प्रतिशत लक्ष्य प्राप्त गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

यसैबीच, शुक्रबार विश्व क्षयरोग दिवस मनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेबाट बाजागाजाका साथ निस्केको प्रभातफेरि बजार परिक्रमापछि शहीद सेतुविक चोकमा पुगेर समापन भएको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सबैको समन्वय र सहकार्यले मात्रै क्षयरोग निवारण गर्न सकिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्