स्वास्थ्य शिविरमा एक हजारले लिए सेवा



नेपाल समाचारपत्र
काभ्रे
ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले काभ्रेको भीमखोरीस्थित माम्तीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १ हजार जनाले सुविधा लिएका छन्।

रायमाझी कुलदेवता केन्द्रीय समिति, काठमाडौं मेडिकल कलेज सिनामंगल र नेपाल बाथ रोग उपचार केन्द्र जावलाखेलको सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १ हजारले सेवा लिएका हुन्।

स्वास्थ्य शिविरमा आँखा, दाँत, बाथ, स्त्रीरोग (महिलाहरूको आङ खस्ने तल्लो पेट दुख्ने र महिनावारी गडबड हुने) का लागि विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गरिएको रायमाझी कुलदेवता केन्द्रीय समितिका सचिव लक्ष्मणबहादुर रायमाझीले बताउनुभयो।

रोगले दुःख दिएर कुनै कारणवश स्वास्थ्य सेवा लिन नसकेकाहरूले आफ्नो घरदैलामा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए। आफ्नो रोग कुनै कारणले भन्न नसकी सेवा लिन नसकेको रोगी बिरामीको सहज रूपमा सुविधा लिएको रायमाझी कुलदेवता समिति काभ्रेका अध्यक्ष बलराम रायमाझीले बताउनुभयो। निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि लायन्स क्लब अफ काठमाडौं निर्भानाले पनि सहयोग गरेको थियो।

स्वास्थ्य शिविरलाई व्यवस्थित बनाउन आयोजकले अग्रिम रूपमा टेलिफोनबाट नाम टिपाइएको थियो। स्वास्थ्य शिविरमा ४३ जना डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। सचिव रायमाझीको अनुसार स्वास्थ्य शिविरमा स्त्रीरोग र बाथरोगका बिरामी बढी रहेका छन्। शिविरमा सिन्धुली, काभ्रे र रामेछापका स्थानीयले स्वास्थ्य सेवा लिएका थिए। रायमाझी कुलदेवता केन्द्रीय समितिका अध्यक्ष खेमबहादुर रायमाझीले कुलदेवता समितिले विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा स्वास्थ्य शिविरलगायतको काम गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्