सुरुङ्गामा चर्र्कीएको जग्गाकाण्डको विवादमा टुङ्गो



भद्रपुर,(नेस)
झापा कनकाई नगरपालिका साविक सुरुङ्गामा चर्र्कीएको जग्गाकाण्डको विवाद जिल्ला नापी कार्यालय झापाले टुङ्गो लगाएको छ ।

कनकाई नगरपालिका ४ निवासी दुर्गा चापागाईको नाममा रहेको सुरुङ्गा ५ (ख) कित्ता नम्बर २२८ को साढे १० धुर जग्गा संधियार रत्नकुमार श्रेष्ठले किर्ते कागजात पेश गरेर एकीकृत नक्सा जारी गरेर हड्पेको जग्गा बेचेको खुलासा भएपछि जग्गाकाण्ड विवाद चर्किएको थियो ।

संधियार श्रेष्ठले नापी कार्यालयका कर्मचारी र पहुँचबाला व्यक्तिको आडमा चापागाईको नाममा रहेको कित्ता नम्बर २२८ को जग्गा आप्mनै कित्ता नम्बर १५३ को साढे १६ धुर जग्गामा एकीकृत नक्सा जारी गरेर २७ धुर जग्गा कायम गरेको थियो ।

नापी कार्यालय झापाले सो जग्गामा बल्झिएको विवाद समाधानका लागि फिल्ड मुचुल्का र प्रतिवेदन तयार पारेको थियो । फिल्ड मुचुल्का र प्रतिवेदनको आधारमा सुकुम्बासी आयोगबाट प्रदान गरेको कित्ता नम्बर २२८ को साढे १० धुर जग्गा चापागाईले भोगचलन गर्दै आइरहेको प्रमाणित भएको नापी कार्यालयले जिल्ला प्रशासन कार्यालय झापालाई पेश गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार नापीका सर्वेक्षकहरु सुरेश मेहता, सन्तोषकुमार यादव र सरोजकुमार विकलाई नापीले फिल्डमा खटाई सो जग्गाको मुचुल्का तथा प्रतिवेदन तयार पार्न जिम्मा दिएको थियो । साथै मालपोत तथा नापीको सम्पूर्ण भुमिलगतहरु नक्सा, फिल्डबुक, सुकुम्बासी समस्या समाधान आयोग झापाको ०६७ माघ १० को श्रेस्ता कार्यान्वयन गरिदिने पत्र, मालपोतको ०६७ फागुन १२ को टिप्पणी आदेश, जग्गाधनी प्रमाण पुर्जाको अध्ययन गर्दा साविक सुरुङ्गा गाविसको ५ (ख) को नक्सा आयोगका अध्यक्ष प्रेमप्रसाद दाहालले ०६७ माघ ३१ गते प्रमाणित भएको देखिन्छ । ५ (ख) कित्ता नम्बर १५३ आयोककै पालामा कित्ताकाट भएको र जग्गाधनीको नाम र क्षेत्रफल समेत सुधार भइसकेको थियो ।

कित्ताकाट भई कामय कित्ता नम्बर २२७ को फिल्डबुक खाली रहेको कित्ता नम्बर २२८ चापागाईको नाममा कायम र कित्ता नम्बर १५३ को जग्गा श्रेष्ठले भोगचलन गर्दै आइरहेकाले नक्सा सुधार गर्दा फरक नपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदन प्रशासन कार्यालय झापा र नापी विभागमा पठाइएको छ । नापी कार्यालयका प्रमुख नापी अधिकृत डिल्लीराज भण्डारीले साविक सुरुङ्गा जग्गा काण्डको विवाद समाधान भइसकेको बताए ।

उनका अनुसार आयोगबाटै जग्गा प्रदान गर्दा केही त्रुटि देखिएकोले समस्या उत्पन्न भएको थियो । तर, सबै काजगात केलायाएर हेर्दा २२८ नम्बरको जग्गा चापागाईको र १५३ नम्बर जग्गा श्रेष्ठकै रहेको खुल्नमा आएको र सोही अनुसार कित्ताकाट गरी नक्सा जारी गरिदिने अधिकृत भण्डारीले बताए ।

रत्नकुमार श्रेष्ठसंगको मिलोमतोमा जग्गालाई विवादीत बनाउने घटनामा सम्लग्न नापीका कर्मचारीलाई निजामती ऐन अनुसार कार्वाही गरिने उनले बताए । श्रेष्ठको जग्गाको फिल्ड मुचुल्का बनाउनदेखि नक्सा एकीकृत गर्ने काममा सम्लग्न कर्मचारीलाई छानविन गरि कार्वाही गरिने उनले बताए । विवादीत जग्गाको बारेमा थाहा हुदाहुदै एकीकृत नक्सा जारी गरेको कर्मचारीलाई लिखित स्पष्टिकरण सोधि सकेको उनको भनाई छ ।

घटनामा सम्लग्न कर्मचारीलाई कुनै पनि हालतमा उन्नमुक्ति नदिइने उनले बताए । कुन–कुन कर्मचारी सम्लग्न भएको बिषयमा जिज्ञासा राख्दा उनले भने– त्यस बिषयमा आन्तरिक छानविन भइरहेकोले चाडै नाम बाहिर ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्