लुकाएर हैन खुलेर कुरा गरौँ



विपना मुसिख्वाल, भक्तपुर ।

पाँचथरकी रमिला श्रेष्ठको स्तनमा एक महिना अगाडी देखि सानो गाठो आयो । सुरुवातमा के आएको हो ? भनी जानकारी नभएको उहाँलाई रेडियोको विज्ञापन सुने पछि क्यान्सर भएको जस्तो लागेर उपचारको लागी भक्तपुर आउनु भयो । भक्तपुर क्यान्सर अस्पतालमा पुग्नु भएको उहाँले उपचारको क्रममा क्यान्सर भएको हो भनी थाहा पाउनु भयो । जसको केही दिन पछि सल्यक्रिया गर्नु भयो । उहाँको दुवै स्तन क्यान्सर भएको थियो ।

‘पहिले मेरो स्तनमा सानो गाँठो आयो । अहिले सम्म मैले चिने जानेको कोही व्यक्तिमा यस्तो आएको थिएन । अरुलाई सोध्दा थाहा छैन भन्नुहुन्थ्यो ।’ उहाँले भन्नुभयो,‘गाठो आए पछि स्तनमा एक्कासी दुख्ने, चिलाउने, घोच्ने, साथै हल्का सुनिने हुन्थ्यो । काम गरेर गाह्रो भएको होला भनी बस्थे । रेडियोमा यस्तो भएमा क्यान्सर हुन सक्छ भनी जानकारी पाए । अनि यहाँ आएको हुँ ।’

सिन्ध्ुापाल्चोककी सविता दाहाल (नाम परिवर्तन) को स्तनमा पनि यस्तै समस्या आयो । पुस महिना देखि समस्या आएको उहाँमा वीर अस्पतालमा उपचारको लागि पुग्नु भयो । ‘वीर अस्पतालमा गएर सल्यक्रिया गरेर घरमा फर्किए । तर एक हप्ता पछि घाउ पाकेर आयो । फेरी घर परिवार तथा साथीहरुसंग सल्लाह गरी भक्तपुर क्यान्सर अस्पताल पुगेँ ।’उहाँले भन्नुभयो, ‘यस्तो रोग लुकाएर राख्नु हुदैन । थाहा पाउने वित्तिकै साथीहरुलाई भनी उपचार गर्नु पर्छ ।’ उहाँको दायाँ स्तनमा क्यान्सर भएको हो ।

स्तनको भागमा दुख्ने वा नदुख्ने गाँठो आउने, दुवै स्तन समान नभई आकार र बनौट फरक हुनु, मुन्टोबाट रगत वा फोहोर पानी बग्नु, स्तनको छालाको रंगमा परिवर्तन आउनु स्तन क्यान्सरको लक्षण हुन् ।

स्तन क्यान्सरका विशषज्ञ उत्सबमान श्रेष्ठले स्तन क्यान्सर जोसुकै व्यक्तिलाई हुने गर्दछ । विशेष गरी ४० वर्ष देखिका महिलाहरुलाई वढि हुने जानकारी गराउनु भयो । ‘ढिला बच्चा जन्माउने , अनावश्यक एक्सरे गर्नु ,व्यस्त जीवन शैली, बच्चालाई राम्रोसंग स्तनपान नगराउनु, धुम्रपान तथा मद्यपानको सेवन, पोलेको खाने कुरा खाने, व्यायामको कमी, बासोजन्य पदार्थको अधिक सेवन तथा वंशाणुगत गुण स्तन क्यान्सरका प्रमुख कारण हो ।’ उहाले भन्नुभयो,‘ ४० वर्ष पछि समयसमयमा उपचार गर्ने,लाज नमानी समस्या आउने वित्तिकै उपचार गर्ने , खानपानमा ध्यान दिने गरेमा यसबाट बच्न सकिन्छ ।’

आफ्नो स्तन आफै जाँच्ने, चिकित्सकद्धारा जाचेर, मेमोग्राफ, अल्ट्रासाउण्ड वा एक्सरे,र बायोपसी विधिको प्रयोग गरी क्यान्सरको उपचार गर्न सकिन्छ ।

कुनै पनि गाँठोलाई हानेर ,तन्काएर, कोषिकाको अध्ययन गरी क्यान्सर हो या होईन भनी पत्ता लगाउन सकिने प्याथोलोजिस्ट डाक्टर राकेश पाठकले वताउनु भयो । उहाँले भन्नुभयो, ‘महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर पछि दोस्रो ठुलो क्यान्सर हो । मैले दिनको तीन जना क्यान्सर भएको पत्ता लगाउछु । महिलालाई मात्र नभई पुरुषहरुमा पनि देखा परेको छ ।’

कुन उमेर समुहका महिलालाई क्यान्सर लाग्छ भनी प्रश्न सोध्दा पाठकले भन्नुभयो, ४० वर्ष नाघेको महिलाहरु वढि हुने गर्दछ । तर पनि २० देखि २५ उमेर समुहका महिलाहरुलाई समेत स्तन क्यान्सर हुने गरेको पाईन्छ ।

क्यान्सर निको हुनको लागी उपचारमा मात्र नभई विरामीमा आत्मविश्वासको पनि आवश्यक पर्ने चिकित्सकको भनाई रहेको छ । स्तन क्यान्सरका विशषज्ञ श्रेष्ठले भन्नुभयो,‘यो रोग निको हुनको लागी उपचार मात्र प्रर्याप्त हुदैन । यसको लागि विरामीसंग आत्म विश्वासको पनि आवश्यक छ ।

गत वर्ष सन २०१६ मा मात्र भक्तपुर क्यान्सर अस्पतालबाट तीन सय २८ जना व्यक्तिमा स्तन क्यान्सर पत्ता लगाएको थियो । जसमध्ये तीन जना पुरुषमा रहेको थियो ।केही वर्षको तुलनामा यस वर्ष स्तन क्यान्सरको विरामी उपचारको लागी प्रशासनको भनाई रहेको छ ।

किन पछिल्लो समयमा क्यान्सर रोगका लागी उपचारको लागि आउने गरेको भन्दा प्रश्न सोध्दा श्रेष्ठले भन्नुभयो,‘पहिले जनतामा यस सम्बन्धि कुनै चेतना थिएन । तर अहिले सञ्चारमाध्यमले दिने सुचना, विभिन्न संघ सस्थाले यस सम्बन्धि गरेको घर दैलो कार्यक्रम, क्यान्सरको बारेमा पाठ्य पुस्तकमा समावेश गरेको तथा विभिन्न चेतना मुलक कार्यक्रमले संख्या बढेको हो ।’

उहाँले क्यान्सरलाई लुकाएर राख्नु हुदैन भनी आएको चेतनाले गर्दा नै उपचार गर्ने संख्या बढेका र निको भएको समेत उल्लेख गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्