समुदायमै ८ सय ४२ विवाद रूपान्तरण



नेपाल समाचारपत्र
काभ्रे
भूकम्पपश्चात् काभ्रेपलाञ्चोक जिल्लामा शुरु भएको सामुदायिक मेलमिलाप कार्यक्रमबाट समुदायस्तरमा भएका बहुसरोकार तथा विभिन्न खालका ८ सय ४२ वटा विवादहरू रूपान्तरण भएका छन्।

प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालअन्तर्गत जिल्लामा सञ्चालित कार्यक्रमहरूका बारेमा जिल्लास्तरीय विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकारहरूको सहभागितामा आयोजित अभिमुखीकरण कार्यक्रममा सन् २०१६ सम्म भएका उपलब्धि, चुनौती र आगामी २०१७ भित्र गर्ने कामका बारेमा जिल्ला कार्यक्रम संयोजक सरिता सापकोटाले जानकारी गराएकी थिइन्। कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौड्यालले जिल्लामा भएका २ हजार सामाजिक संघ–संस्थाहरू भन्दा भिन्न प्रकृतिको यो संस्थाले समुदायमा पुर्याएको योगदान र भूकम्पपछि जिल्लामा देखिएका तमाम समस्याहरूका बारेमा गरेको संवाद सार्थक भएको बताएका थिए। ‘जिल्लाको फलाँटे र भुम्लुटार गाविसमा भूकम्प पुनर्निर्माणको अनुदान वितरणमा समेत यो कार्यक्रमले घचघच्यायो’, पौड्यालले भने– ‘भूमिहीनहरूको समस्या समाधानमा समेत संवादपछि नै जिल्लास्तरीय समिति गठन भयो’, अहिले मन्त्रिपरिषद्मा ऐन संशोधन गर्ने प्रस्ताव पेस भएको छ।’

मान्छेका भावनाको उपचार गर्न कठिन काम भए पनि कार्यक्रमको प्रभावकारिताले दिगो शान्ति अभियानमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए। राज्यको पुनर्संरचना पछि स्थानीय तहहरूको कार्यान्वयनले मेलमिलाप अभियान र केन्द्रको प्रभावकारिता तथा कार्यक्रम सकिएपछि स्थानीय तहले अपनत्व लिने विषयमा सबै पक्ष लाग्नुपर्ने बताएका थिए। कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण काभ्रेका प्रमुख ध्रुव गैडाले भूकम्पपछि उत्पन्न तमाम विवाद तथा समस्या समाधानमा मेलमिलाप र संवादले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए। कार्यक्रममा मालपोत कार्यालय काभ्रेका मालपोत अधिकृत विनोद कोइराला, नापी अधिकृत ईश्वर शर्मा, जिल्ला सिँचाइ कार्यालयका इन्जिनियर राजु लुइँटेल, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत सविना शर्मा, महिला तथा बालबालिका कार्यालयका अधिकृत प्रज्ञा निरौला, स्थानीय शान्ति समितिका संयोजक देवकुमार मोक्तान, जिल्ला अदालतका पुष्पराज जोशी, नेकपा एमालेका वसुन्धरा हुमागार्इं, नेपाली कांग्रेसका रवीन्द्र सिग्देल, राप्रपाका राजेन्द्र केसी, इलाका प्रहरी कार्यालयका सई भक्त श्रेष्ठ, जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

सामुदायिक मेलमिलापका लागि दक्ष जनशक्ति उत्पादन गर्दै स्थानीय तहमा रहेका द्वन्द्वहरूलाई सामुदायिक मेलमिलापको माध्यमबाट समाधान गर्दै शान्ति स्थापित गर्न, द्वन्द्व रूपान्तरणका लागि आधारभूत तथा विशिष्ट तहको सामुदायिक मेलमिलापसम्बन्धीको तालम सञ्चालन गरी मेलमिलापकर्ताहरूको द्वन्द्व रूपान्तरणमा क्षमता विकास गर्न, सामुदायिक मेलमिलापको अवधारणाबाट व्यक्ति–व्यक्तिबीच तथा बहुसरोकारवाला सम्मिलित द्वन्द्वको रूपान्तरण गरी शान्ति स्थापनाका लागि उक्त कार्यक्रम सञ्चालन भएको थियो। घरेलु हिंसा (श्रीमान्–श्रीमतीबीचको विवाद, मादक पदार्थ सेवनपछि उत्पन्न विवाद), सामान्य कुटपिट, जग्गा खिचला, साँध, बालीअर्मल, राहत वितरण, गालीगलौज, पानीको स्रोत उपयोग, बाटो निकास, पारिवारिक विवाद, ज्याला, जंगलसँग सम्बन्धित विवाद, सिँचाइ, खानेपानी, मदिरा सेवन पुनर्निर्माणलगायतका विवादहरू समुदायमस्तरमै मेलमिलाप केन्द्रमा रूपान्तरण भएको जिल्ला संयोजक सरिता सापकोटाले बताइन्।

प्रतिक्रिया दिनुहोस्