घरमै खानेपानी पुग्दा स्थानीय हर्षित



शेरबहादुर थापा, सुर्खेत ।

कुनै समय थियो, उकालोबाटोमा ठुलठुला गाग्री पिठुँमा बोकेर पानी ल्याउन जानुपर्ने । पानी बोकेर ल्याउनुपर्ने भएकाले पानीको थोपा थोपालाई समेत खेर फाल्न नसकिने अवस्था थियो ।

अझ भनौं पानी घर नजिक नहुँदा करिब १ घण्टाको पैदल दुरीमा रहेको तुरतुरे मुहानमा जानुपर्ने बाध्यता थियो । साना साना बालबालिकालाई सानो भाँडा थमाएर खानेपानीको जोहो गर्नु पर्ने सहारे स्थित दमारेका २० घरधुरीको दिनचर्या नै थियो ।

एक त सामाजिक विभेदको रुपमा पछि परेको समूदाय त्यसैमाथि पानीको मुहान छुन नदिने माथिल्लो जातीका केहि व्यक्तिको प्रभाव ः उनीहरुले आफूलाई चाहिनेजति पानी लगेपछि मात्रै बचेको पानी प्रयोग गर्न पाइन्थ्यो ।
तर त्यहि बचेको पानी भर्ने सवालमा आपसमा दिनदिनै भगडा परिरहने अनि आपसी बोलचाल समेत नहुने अवस्था थियो । सुर्खेतको सहारेस्थित दमारगाउँमा रहेको दलित वस्तीले खानेपानीका लागि वर्षौसम्म यो भन्दा ठूला पीडा भोग्यो ।

अब भने अवस्था फेरिएको छ । घर आँगनमै खानेपानीका धाराहरु जडान भएका छन् । मन लागेको बेला पानी उपलब्ध छ । बस्ति भन्दा माथीतिर पानी ट्याकीं निर्माण गरिएको छ । अब कसैले पनि छोइछिटो गर्ने अवस्था छैन, कसैको दबाबमा पानी लिनुपर्ने अवस्था पनि रहेन कारण अहिले दलित वस्तीमै खानेपानीका धारा निर्माण भएका छन् ।

छिमेकीको अपहेलना र पानीको जोहो गर्दै हैरान बनेको दलित वस्तीको अहिले मुहार नै उज्यालो बनेको छ । एक महिनादेखि आफ्नै आँगनमा धाराको पानी भर्न पाएपछि दलित वस्तीमा खुसीयाली छाएको हो ।

दमारगाउँ निवासी जैसरा कामीले खानेपानी घरमै आँउदा आफूलाई गौरववोध भएको बताइन । पानी बोक्दै खेर जाने समयलाई अब तरकारी तथा अन्य घरायसी काममा खर्च गर्ने अवसर मिलेको छ । उनी भन्छिन ‘एक घण्टा लगाएर पानी ल्याउनुपथ्र्यो, पानीका लागि छिमेकीसँग संधै झगडा हुन्थ्यो ।

हामीले पहिला नै पानी भरेको दिन त छिमेकीले पानी नै बहिस्कार गर्थे, मुहानमा छोएको र धमिलो बनाएको भन्दै गाली गर्थे ।’

तर आजकाल पानीको समस्या हराएको देख्दा अझै पनि सपना हो की जस्तो लाग्ने गरेको उनको भनाई छ ।

उनी अब उपलब्ध पानीले जीवीकोपार्जनका लागि तरकारी खेति गर्ने र नजिकै रहेको बोटेचौर बजारमा लगेर विक्री गर्दै छोराछोरीलाई पढाउने बताउँछिन । उनले खानेपानी निर्माण भएकोमा हर्षित हुँदै अनुकुलन परियोजनालाई हार्दिक धन्यवाद समेत दिन्छिन ।

सहारे स्थित उक्त दलित वस्तीमा अहिले २० परिवार वसोवास गरिरहेका छन् । उत्पादन नहुने र खानेपानीकै लागि संघर्ष गर्दै आएको दलित वस्तीमा तीन वटा आधुनिक धारा निर्माण गरिएको छ । ति धारामा दुबैतर्फ पानी भर्न मिल्ने सुविधा रहेको छ ।

स्थानीय ममता चुनारा धारामा आएको पानी भर्दै भन्छिन ‘पानीका लागि धेरै दुख पायौं, गाग्री बोकेर घण्टौंसम्म धाउनुपथ्र्यो । अहिले भने आँगनमै धारा छन, बारीमा तरकारीलाई सिँचाइ गर्न समेत पुगेको छ ।’ विगतमा आफूहरुले पानीकै लागि धाउँदा घरको अन्य काम छुट्ने गरेको र बालबालिकालाई स्कुलको साटो पानीको जोहो गर्न पठाउने गरेको उनले स्मरण गरिन । उनी भन्छिन ‘जसले गर्दा छोरा छोरीको पढाइमा समेत समस्या सिर्जना हुने र उनीहरुको शैक्षिक अवस्था समेत कमजोर बन्दै गएको थियो ।’ तर अब त्यसो नहुने उनको विश्वास छ ।

बोटेचौर नजिकै रहेको उक्त बस्तिका दुःख कसैले नसुनेपनि अनुकुलन आयोजनाले सुनेकोमा कृतज्ञता जाहेर गर्दै उनी भन्छिन ‘यसरी घर आँगनमै खानेपानीको व्यवस्था गर्न सघाउ पु¥याउन सहयोग गर्ने संस्थालाई धन्यवाद दिन्छु ।’

उक्त बस्तीमा अत्यावश्यक खानेपानीका लागि धेरैले आश्वासन दिए । चुनावमा मत माग्न आउनेहरु पनि वस्तीमा फिर्ता भएनन् । पुरुषहरु मजदुरीका लागि भारत जाने भएकाले गाउँमा महिला र बालबालिका मात्र । कसैले आफ्नो पीडा नसुनेपछि स्थानीय महिलाहरुको नेतृत्वमा गाविसमा धारा माग गरे । गाविसको सहजिकरणमा सुन्दर नेपाल संस्थाले खानेपानीको लागि आर्थिक सहयोग उपलब्ध गरायो ।

संस्थाको एक लाख ९६ हजार रकम र स्थानीयकै जन श्रमदानको बलमा वस्तीमा खानेपानी आएको हो । स्थानीयकै सक्रियतामा तीन वटा धारा, पानी संकलन गर्ने ट्यांकी र अन्य पूर्वाधार निर्माण गरिएको छ । तिरतिरेपाखा बहुउदेश्यीय खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयको मुहारमा खुसीयाली छाएको छ । अहिले रातको समयमा संकलन भएको पानी स्थानीयले पालैपालो तरकारी खेतीमा सिँचाइ गर्दै आएका छन् । यसले तरकारी उत्पादनमा समेत बृद्धि भएको छ ।

जलवायु परिवर्तनका कारण सिमान्तकृत समुदायहरु बढी जोखिममा रहेको र आफुहरुले दलित वस्तीमा खानेपानी आयोजना सम्पन्न गर्न सहयोग गरेको सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले बताए । उनका अनुसार स्थानीयले माग गरेपछि सहयोग उपलब्ध गराइएको हो ।

अनुकुलन परियोजना अन्तर्गत खानेपानी आयोजना सम्पन्न भएको भन्दै कँडेलले धारा निर्माण भएपछि दलित वस्तीमा खानेपानी संकट टरेको जनाए ।

खानेपानीको समस्या समाधान भएसँगै यो वस्तीको रौनक बढेको उनको भनाइ छ । उनका अनुसार खानेपानी र सिँचाइमा प्रयोग गर्न मिल्नेगरी आयोजनाको काम सम्पन्न भएको हो । खानेपानीको सहजतासँगै स्थानीयले आयआर्जनका काममा सहभागिता जनाउन थालेका छन् । यसले उनीहरुको आयस्रोतसमेत बढने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्