कैदीले दिए जेलमै बसेर परीक्षा



नेपाल समाचारपत्र
काभ्रेपलाञ्चोक
हीबारबाट शुरू भएको परीक्षा जिल्लाका ४० वटै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले डाँडापारि, कोसीपारि र शहरी क्षेत्रका सबै केन्द्रमा परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

परीक्षा केन्द्रका लागि झन्डै ३ सय सुरक्षाकर्मी परिचालन भएका थिए। जिल्ला कारागारबाट अपहरण तथा हातहतियार मुद्दाका वीरबहादुर तामाङ, कर्तव्य ज्यान मुद्दाका सुरेश श्रेष्ठ, सवारी ज्यान मुद्दाका दिनेश श्रेष्ठ र ज्यान मुद्दाका पेमा लामाले परीक्षा दिएका छन्। उनीहरूले घर पायक पर्ने विद्यालयबाट परीक्षा फाराम भरेका थिए। जिल्लामा १ सय ४३ वटा सामुदायिक विद्यालयबाट ५ हजार ६ सय ३३, संस्थागत ६९ वटा विद्यालयबाट २ हजार १ सय २७, औपचारिक १, खुला विद्यालय १ र प्राविधिक विद्यालय २ गरी २ सय १२ विद्यालयका ८ हजार ८० नियमिततर्फ फाराम भरेकामध्ये १ सय ६२ जनाको ७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षा दिन पाएनन्। परीक्षामा दृष्टिविहीन २ जना सुनिता कार्की र प्रवेश तामाङ सहभागी भएका छन्। त्यस्तै बहिरा विद्यालयबाट ७ जना विद्यार्थीले परीक्षा दिएका छन्।

बनेपाको चैतन्यमा नगिना कोख श्रेष्ठ, दोलालघाटको दुलालेश्वर माविमा सरिता चौलागार्इं र चण्डेनी माविमा सत्यदेवी भट्टराई महिला केन्द्राध्यक्ष रहेका छन्। परीक्षामा नियमिततर्फ ८ हजार ८० विद्यार्थी नियमित तर्फबाट सहभागी हुँदै छन् भने एक्सचेन्जमा नयाँ ३ सय १५ र पुरानो २ सय २५ गरी ८ हजार ६ सय २० विद्यार्थी परीक्षामा सहभागी भएका छन्। अघिल्लो वर्षको एसएलसी परीक्षामा १० हजार ३ सय २ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। एसएलसी परीक्षामा भन्दा एसईई परीक्षामा १ हजार ६ सय ८२ विद्यार्थी कम भएका छन्। सरकारको ७५ प्रतिशत हाजिरी नपुगेका १ सय ६२ विद्यार्थीलाई परीक्षामा सहभागी नगराउने नीतिअनुसार विद्यालयले त्यस्ता विद्यार्थीलाई परीक्षा दिन लगाएको छैन।

प्रतिक्रिया दिनुहोस्