तत्काल पुनर्वास प्रक्रिया थालिने



नेपाल समाचारपत्र
रसुवा
भूकम्पका कारण विस्थापित भएका रसुवाका भूकम्प प्रभावितलाई तत्काल पुनर्वासको प्रक्रिया थालिने भएको छ।

विस्थापितको पुनर्वासको प्रक्रिया अघि बढाउनका लागि सम्भाव्यता अध्ययन तथा छलफलका लागि रसुवा आइपुग्नुभएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले रसुवाका सम्पूर्ण विस्थापितलाई उपर्युक्त स्थानमा तत्काल पुनर्वास गरिने बताउनुभयो। पोखरेलले हाकु र डाँडागाउँबाट विस्थापित भएर उत्तरगया गाउँपालिकास्थित लहरेपौवामा बस्दै आएका ३ सय भन्दा बढी विस्थापितलाई सार्वजनिक तथा सरकारी जग्गामा राख्नका लागि प्रक्रिया अघि बढाइने बताउनुभएको हो।

प्रमुख पोखरेलले आफूले दिएको वचन पूरा गर्न प्रतिबद्ध भएको जनाउँदै भनेकै समयभन्दा केही दिन ढिलो चाँडो हुन सक्ने तर अब जिल्लाका सम्पूर्ण विस्थापितको पुनर्वास हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो। पुनर्बासका लागि सरकारी तथा गैरसरकारी निकाय, समुदाय, विस्थापित, सहयोगी तथा प्राधिकरण सबै एक भएर सबैको सहयोगबाट जतिसक्दो छिटो पुनर्निर्माण प्रक्रिया शुरुआत गर्ने जानकारी दिनुभयो।

जिल्लाको हाकु तथा डाँडागाउँ गाविसबाट विस्थापित भएर हाल लहरेपौवामा बसिरहेका विस्थापितको पुनर्बासका लागि आवश्यक पर्ने घर निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सहकार्य गरी सहयोग गर्नका लागि कादुरी संस्थाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले विस्थापितको पुनर्बासका लागि अभियान गरेरै भए पनि सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा विस्थापित शिविरका अगुवा छेकु तामाङ र बुटिमाया तामाङले विस्थापितले लामो समयदेखि धेरै दुःख भोग्दै आएको, उनीहरूको अवस्था अत्यन्तै नाजुक रहेको, जग्गाधनीलाई भाडा, बिजुलीको कर तिर्नसमेत नसकेको र जीविका धान्न अत्यन्तै गाह्रो परिरहेकाले जतिसक्दो चाँडो खाल्डेको जग्गामा पुनर्बासको प्रक्रिया अघि बढाइदिन माग गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्