अझै पाएनन् भुकम्प पिडितले दोस्रो किस्ता



ज्ञानमणि नेपाल कालोटोपी,काभ्रे ।

चण्डेनीमण्डनका धर्मप्रसाद नेपालले मंशिरमा घर बनाउन शुरु गरे ।सरकारले पहिलो किस्ता दिएपछि उनले घर बनाउन थालेका हुन् ।

अहिले सम्म उनले घर बनाइसके तर दोस्रो किस्ता पाउने अत्तो पत्तो छैन । उनी भन्छन्– “दोस्रो किस्ता कहिले पाइन्छ सरकार ?” अहिले उनी जस्ता करिव डेढसय भूकम्पपीडितहरु सरकारले दिने भनिएको अनुदानको दोस्रो किस्ताको पर्खाइमा छन् ।

तर सरकारले कहिले दिने हो पत्तो छैन । भूकम्पमा काभ्रे जिल्लाकै सबैभन्दा धेरै मानवीय क्षती भएको चण्डेनीमण्डनमा अप्ठ्यारा र असजिलोका वीच भूकम्पको २२ महिनापछि पुनर्निमाणको काम शुरु भएको छ ।

३६ जना मानवीय क्षती र ९९ प्रतिशत घरहरु ध्वस्त भएको यस गाविसमा ९८४ परिवार प्रभावित भएका थिए । यसरी एकैपटक नसोचिएको क्षती भएपछि निकै समय सम्म निराश बनेका उनीहरु भर्खरै घर बनाउन जुटेका छन् ।

यहाँ अहिले सम्म ९३५ परिवारसँग आवास सम्झौता भएको छ । जस मध्ये ९२६ जनाले पहिलो किस्ताको ५० हजार लिइसकेका छन् । हाल सम्म १५७ जनाले घर बनाउन शूरु गरिसकेको र केहि घरहरु सम्पन्न पनि भइसकेका छन् ।

चण्डेनीमण्डन गाविसमा पूनर्निमाण र जिविकोपार्जनका लागि कारितास नेपालले सहयोग गरिरहेको छ । यस संस्थाले गाविसका ६३ जना युवाहरुलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम पनि दिएको छ । संस्थाले स्थानियहरु वीच समन्वय गरि चारवटा कार्यक्रमहरु संचालन गरेको छ ।

जस अन्र्तगत निजी आवास निर्माण, सरसफाई, जिविकोपार्जन र मनोविज्ञान तथा संरक्षणसँग सम्बन्धित कार्यक्रमहरु रहेको संस्थाले जनाएको छ । कसले कस्तो घर बनायो र त्यो घर भूकम्प प्रतिरोधी छ वा छैन भन्ने जस्ता कुरामा संस्थाले सम्बन्धित व्यक्ति सम्म पुगेर अनुगमन तथा सरसल्लाह गर्ने गरेको संस्था प्रतिनिधी पुष्पराज नेपालले बताए ।

सरकारले गाउँ गाउँमा पठाएका इञ्जिनियरहरु अहिले गाउँमा छैनन् । उनीहरुले सामुहिक राजिनामा गरेर बसेका छन् । घर बनाइरहेकाहरु डकर्मीकै भरमा बनाइरहेका छन् । अनुदान सिफारिस गरिदिने कोहि नभएपछि यहाँ दोस्रो किस्ता पाउन योग्य भएर पनि पीडितहरुले पाएका छैनन् ।

यसरी पुनर्निमाण शुरु गरेपनि यतिखेर पीडितहरुलाई धेरै खाले अप्ठ्याराहरु थपिएका छन् । पहिलो कुरा त गाउँमा प्राविधिकहरुको अभाव छ । सिमीत मात्रामा रहेका उनीहरुले सबैको घरको अनुगमन गर्न सक्ने संभावना ज्यादै कम छ । त्यस्तै निर्माण सामाग्रीको मुल्य पनि आकाशिएको छ । गतवर्ष भन्दा अहिले निर्माण सामानको मुल्य झण्डै दोब्बरले वृद्धि भएको छ ।

ढुवानी र दक्ष कामदारहरुको पनि उस्तै समस्या छ भने पाइएका कामदारहरुको ज्यालादर पनि महंगो छ । निर्माण सामाग्रीहरु ढुंगा, वालुवा, गिटी लगायतको पनि अभाव देखिएकाले पीडितहरु झन समस्यामा परेको स्थानियवासि कृष्ण प्रसाद नेपालले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित चण्डेनीमण्डन लगायतका अन्य गाविसहरुमा अझ ठूलो समस्याका रुपमा नक्सापास गर्नु रहेको छ । अहिले सरकारी मापदण्ड पुरा नगरि घर बनाउन पाईंदैन । गाविसका इञ्जिनीयर र प्राविधिकले नक्सा बनाउने काम गर्दैनन् ।

यदि गरिहाले भने पनि त्यसलाई सरकारले मान्यता दिदैंन । एउटा घरको नक्सापासका लागि मात्र १५ देखि २० हजार रुपैयाँ सम्म खर्च गर्न पीडितहरु बाध्य छन् । यसरी हरेक समस्याहरुका वीच शुरु भएको पुनर्निमाण कहिले पुरा हुने हो भन्नेमा अझै अन्योल भएको स्थानियवासिहरु बताउँछन् । सरकारले मापदण्ड अलि खुकुलो बनाइदिए घर बनाउन सकिने झिनो आशा उनीहरुमा अझै बाँकी छ ।

जिल्लामा ६७ हजार ७११ जनाले पहिलो किस्ता बापतको ५० हजार लिएका छन् । जस मध्ये १ हजार ९७६ जनाले मात्र घर बनाउन शुरु गरेका छन् । दोस्रो किस्ता पाउनेहरुका १ अर्ब विनियोजन गरिएको बताइएको छ । तर सिफारिस गरिदिने इञ्जिनियरहरुको अभावले अहिले दोस्रो किस्ताको रकम वितरण भने भर्खरै मात्र शुरु भएको छ । जिल्लाका अन्य गाविसहरुमा पनि विस्तारै पुनर्निमाणका कामहरु शुरु भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्