उत्कृष्ठ विद्यार्थीलाई ल्याबटप र छात्रवृत्ति



चिरञ्जीवी मास्के,दोलखा  ।

सदरमुकाम चरिकोट स्थित कालिञ्चोक उच्च माविमा अध्यनरत विद्यार्थीहरुलाई सुजन परिता एजुकेशन फाउण्डेशनले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

कालिञ्चोक विद्यार्थी समाजको समन्वयमा फाउण्डेशनले कक्षा ११ मा विज्ञान विषयमा अध्यनरत उत्कृष्ठ विद्यार्थीहरु सोनिया जोशी, सोनु श्रेष्ठ, दावा शेर्पा र हरिचन्द्र चौलागाईलाई ल्याबटप १÷१ वटा नगद २५ हजार छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी फाउण्डेशनले विद्यालयमा कक्षा १ देखि १० सम्म अध्यनरत उत्कृष्ठ छात्रा १ जना र छात्र १ जनालाई झोला, क्यालकुलेटर र स्टेशनरीका सामग्री समेत वितरण गरेको छ ।

कार्यक्रममा फाउण्डेशनका संरक्षक पूर्व न्यायधिश कृष्णानन्द न्यौपानेले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गर्नु भएको थियो । न्यौपानेले अक्षयकोषको लागि फाउण्डेशनको तर्फबाट कालिञ्चोक विद्यार्थी समाजलाई २ लाखको चेक समेत हस्तान्तरण गर्नु भएको थियो ।

कालिञ्चोक उच्च माविका पूर्व विद्यार्थी अमेरीका निवासी सुजन न्यौपानेले हरेक बर्ष फाउण्डेशनको तर्फबाट विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गर्दै आउनु भएको कालिञ्चोक विद्यार्थी समाजले जनाएको छ ।

समाजका अध्यक्ष दिपक वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका संरक्षक पूर्व न्यायधिश कृष्णानन्द न्यौपाने, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशिछवा, पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, पत्रकार महासंघ दोलाखका पूर्व अध्यक्ष राजेन्द्र मानन्धर, जिल्ला समन्वय समितिका आन्तरीक लेखा अधिकृत जगदीश अर्याल, गौरीशङ्कर बहुमुखी क्याम्पासका क्याम्पस प्रमुख सुनिल आचार्य, कालिञ्चोक उच्च माविका शिक्षक शम्भु गौतम, कालिञ्चोक विद्यार्थी समाजका पूर्व अध्यक्ष ध्रुब वस्नेत र सदस्य मोहन रिजालले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा कालिञ्चोक विद्यार्थी समाजले फाउण्डेशनका संरक्षक कृष्णानन्द न्यौपाने, विद्यालका पूर्व प्रधानाध्यापक कृष्णबहादुर गौतम, शिक्षक चित्रबहादुर कार्की र बाबुराम शर्मालाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्