१ लाख ५ हजारसहित मजदुरलाई सम्मान



नेपाल समाचारपत्र
काभ्रे
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट एकाइले उत्कृष्ट कार्य गरेबापत २ मजदुरलाई नगद १ लाख ५ हजारसहित जेष्ठ यातायात मजदुरबाट सम्मान गरेको छ। नगद २५ सयसहित अन्य ४ मजदुर सम्मानित भएका छन्।
हरेक वर्ष फागुपूर्णिमाको अवसर पारेर संगठनले मजदुर सम्मान गर्दै आएको अध्यक्ष भीमसेन लामाले बताए। दशौं र एघारौं मजदुर सम्मानका रूपमा पनौती–२ घर भएका राजकुमार श्रेष्ठ र बनेपा–१ घर भएका भक्तलाल कर्माचार्यलाई नगद १ लाख ५ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो। जिफन्टका उपमहासचिव जनक चौधरीले २ मजदुरलाई सम्मान गर्दै दोसल्ला ओढाएका थिए। श्रेष्ठ ३५ वर्षदेखि यातायात क्षेत्रमा कार्यरत छन् भने कर्माचार्य ३० वर्षदेखि यातायात क्षेत्रमा कार्यरत छन्। त्यस्तै उत्कृष्ट चालकका रूपमा कृष्णबहादुर रञ्जित, नेपालसिं तामाङ र दिलबहादुर श्रेष्ठ सम्मानित भएका छन्। उनीहरूलाई नगद २५ सय प्रदान गरिएको थियो भने उत्कृष्ट परिचालकका रूपमा दिनेश कार्की सम्मानित भएका छन्।

सोही अवसरमा संगठनको १३औं अधिवेशन सम्पन्न भएको थियो। अधिवेशनमा सचिव होमबहादुर श्रेष्ठले संस्थाले वर्षभरि गरेको गतिविधिका बारेमा जानकारी गराएका थिए भने अध्यक्ष भीमसेन लामाले मजदुरहरूको हकहितका लागि संगठनले खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए। कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अञ्चल अध्यक्ष नवराज घिमिरे, एमाले काभ्रेका जिल्ला सदस्य एवं मजदुर इन्चार्ज केशवमणि पौड्याल, काभ्रे व्यवसायी संघका अध्यक्ष दिलबहादुर शाही, सचिव वर्ण शाक्य, हिमाल तराई यातायात सेवा समितिका अध्यक्ष आत्मराम थापा, मजदुर संगठन पनौतीका अध्यक्ष वेदप्रसाद घिमिरेलगायतले मजदुरहरूले खेल्नुपर्ने भूमिकाका बारेमा मन्तव्य राखेका थिए।
अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्षमा भीमसेन लामा र अर्जुन लामाको प्रतिस्पर्धा भएको थियो भने उपाध्यक्षमा धनबहादुर ठकुरी, सचिव होमबहादुर श्रेष्ठ, सहसचिव गंगाश्वर खड्गी रहेका छन्। कोषाध्यक्षमा दिनेशलाल श्रेष्ठ र राहुल तामाङबीच प्रतिस्पर्धा भएको छ।

प्रतिक्रिया दिनुहोस्