सुनसरीमा एसइई परीक्षाको तयारी पूरा



इनरुवा, २९ फागुन । सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको छ । पहिलो पटक एसएलसी परीक्षाको बदलामा भइरहेको यो परीक्षाका लागि सबै तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।

जिल्लामा एसइई परीक्षाका लागि ४६ वटा परीक्षा केन्द्र र सोही सङ्ख्यामा केन्द्राध्यक्ष तथा ९२ जना सहायक केन्द्राध्यक्ष चयन गरी परिचालन गर्ने तयारी भएको सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

जिल्लामा नियमित, एक्जाम्टेड र ग्रेड वृद्धि गरी तीन किसिमका परीक्षार्थी परीक्षामा सहभागी हुने सुवेदीले बताउनुभयो । यस पटक नियमित तर्फ ११ हजार ८३० जना, एक्जाम्टेडतर्फ एक हजार ६३ जना, ग्रेड वृद्धितर्फ एक हजार १४९ जना तथा प्राइभेट विद्यार्थीसहित १४ हजार २९४ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

जिल्लाको एक सय ४२ निजी र एक सय २२ सामुदायिक विद्यालय गरी २६४ वटा विद्यालयका विद्यार्थी परीक्षामा सामेल  हुँदैछन् ।

परीक्षा यही चैत ३ गतेदेखि सुरु हुनेछ । परीक्षा केन्द्रको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन हुने कार्यालयले जनाएको छ । परीक्षामा २० देखि २५ जना परीक्षार्थी बराबर एक जना निरीक्षक रहने, एक परीक्षा केन्द्रमा कार्यालय सहायक, एक कार्यालय सहयोगी समेत परिचालन गरिने बताइएको छ । परीक्षा चैत १४ गतेसम्म सञ्चालन हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्