६ हजार घर पुनर्निर्माण शुरू



४ सय २ लाई दोस्रो किस्ताको प्रमाणीकरण

नानीराम नेपाल, सिन्धुपाल्चोक

विनाशकारी भूकम्पको २२ महिनाका बीच ६ हजार बढी भूकम्पपीडितले निजी आवास पुनर्निर्माण शुरू गरेका छन्। पुनर्निर्माण अनुदानको पहिलो किस्ता प्राप्त गरेपछि सरकारी मापदण्डअनुसार नै जिल्लाका विभिन्न गाविसमा गरी ६ हजार भूकम्पपीडितले घर बनाउन थालेका हुन्।

फागुन तेस्रो सातासम्म जिल्लाका ५ हजार ७ सय ६८ ले घर बनाउन शुरू गरेको भवन निर्माण डिभिजन कार्यालयले जानकारी दिएको छ। भवन निर्माण डिभिजन कार्यालयका अनुसार जिल्लाका सबै गाविसमा एकसाथ पुनर्निर्माण शुरू भइसकेको छ। पछिल्लो तथ्यांकअनुसार तातोपानी गाविसमा सबैभन्दा बढी ६ सय ५३ घर पुनर्निर्माण शुरू भएको छ। ‘सबै गाविसमा निजी आवास पुनर्निर्माणको कामले गति लिएको छ’ –भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर टंकप्रसाद गौतमले भने।

पहिलो किस्ताको काम सम्पन्न गरिसकेकालाई दोस्रो किस्ता र तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरणको क्रम बढेको पनि उनले बताए। ‘दोस्रो किस्ताका लागि झन्डै १ हजार निवेदन आएका छन्, ४ सय बढीलाई प्रमाणीकरण नै गरिएको छ’ –उनले भने। दोस्रो किस्ताका लागि गाविसमा दर्ता भएका निवेदनमध्ये भवनसंहिता विपरीत बनेका घरहरू भने प्रमाणीकरण हुन सकेका छैनन्। भवनसंहिताअनुसार नभएपछि विभिन्न गाविसका गरी १ सय ३० घरका लागि दोस्रो किस्ता भुक्तानीको प्रमाणीकरण हुन सकेको छैन।

हालसम्म ९ सय ८२ जनाले दोस्रो किस्ता भुक्तानीका लागि सम्बन्धित गाविस कार्यालयमा निवेदन दिएका छन्। जसमध्ये ४ सय २ जनालाई दोस्रो किस्ताको रकम भुक्तानीका लागि प्रमाणीकरण गरिएको छ। पहिलो किस्ताको काम सम्पन्न भएको प्राविधिक मूल्यांकनपछि उनीहरूलाई दोस्रो किस्ताको भुक्तानीका लागि प्रमाणीकरण गरिएको इन्जिनियर गौतमले बताए। हालसम्म जिल्लाका विभिन्न गाविसका गरी २९ जना लाभग्राहीलाई तेस्रो किस्ताका लागि प्रमाणीकरण गरिएको छ।
पीडितलाई ठग्दै प्राविधिक
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितका लागि प्राविधिक सहयोग गर्न इन्जिनियर गाउँगाउँमा खटाई पठायो। तर पीडितलाई सघाउ गर्नुको सट्टा प्राधिकरणबाट खटिएका प्राविधिकले भूकम्पपीडितलाई विभिन्न बहानामा दुःख दिन थालेका छन्। ग्रामीण भेगका बस्तीमा विभिन्न बहानामा प्राविधिकले भूकम्पपीडितबाट मोटो रकमसमेत असुली गरिरहेका छन्। घर बनाउन शुरू गरेका भूकम्पपीडितबाट प्राविधिकले १० हजारसम्म असुल गर्ने गरेका छन्। पुनर्निर्माणका अनुदानको पहिलो किस्ताको ५० हजार लिएका भूकम्पपीडितबाट गाविसमा खटिएका प्राविधिकले नक्सापासलगायतका विभिन्न बहानामा रकम लिइरहेको पाइएको छ।

भूकम्पको डेढ वर्षपछि फुल्पिडाँडा गाविस–७ का चन्द्रप्रसाद नेपालले घर बनाउन शुरू गरे। पुनर्निर्माणको अन्योलका बीच घर बनाउन शुरू गरेका उनलाई पुनर्निर्माण प्राधिकरणबाट खटिएका प्राविधिकले अनिवार्य नक्सापास गर्नुपर्ने भन्दै पैसा मागे। नक्सापास नभएपछि घर बनाउन नै नपाउने भनेपछि उनले प्राविधकलाई ८ हजार रुपियाँ तिरेर घरको नक्सा बनाउन लगाए। ‘नक्सापास गरेर मात्र घर बनाउन पाइन्छ भने’, उनले भने– ‘इन्जिनियरलाई ८ हजार दिएर नक्सा बनाउन लगाएँ।’ गाउँका अरू भूकम्पपीडितले पनि ८ देखि १० हजारसम्म खर्च गरी घरको नक्सा बनाएको उनले सुनाए।

पुनर्निर्माण अनुदान प्राप्तिसँगै घर बनाउने काम थालेका अर्का भूकम्पपीडित रामचन्द्र पौडेलले पनि १० हजार खर्चिएर नक्सा बनाउनुपर्यो। नक्सापास अनिवार्य भन्दै प्राविधिकले उनलाई रकम मागे। उनले पनि १० हजार रुपियाँ दिएर नक्सा बनाई घर बनाउन शुरू गरेका हुन्। ‘प्राविधकलाई पैसा दिएर नक्सा बनाएँ अनि घर बनाउन शुरू गरें’, उनले भने– ‘नक्सापास नभई घर नै बन्दैन भनेपछि के गर्नु ?’ प्राविधकले नक्सा त बनाइदिएका छन् तर त्यो पनि अपुरो नै। गाउँमा प्राधिकले नक्सा बनाउँदै पीडितसँग रकम लिइरहँदा गाविस कार्यालय भने बेखबर जस्तै छ। गाविसको सिफारिसविना नै प्राविधिकले नक्सा तयार पार्ने गरेका छन्। ‘दोस्रो किस्ता लिएपछि एकैचोटि सबैको नक्सा पास गर्ने भनेका छन्’ –उनले भने।
गाउँ विकास समितिमा घर बनाउनका लागि नक्सापास अनिवार्य छैन। नक्सापासविना नै घर बनाउन सकिने प्रावधान छ। तर गाउँगाउँमा प्राविधकले अनिवार्य नक्सापास गर्नुपर्ने भन्दै पीडितसँग रकम असुलिरहेका छन्। खाली कागजमा नक्सा बनाएर उनीहरूले पीडितलाई दिन्छन् अनि १० हजारसम्म रकम लिन्छन्।

प्रतिक्रिया दिनुहोस्