जग्गेबाटै अन्तरजातीय बिहे



गोकुल घोरसाइने, बारा

आफन्त र केही छिमेकीको समेत असहमति बाबजुद पनि बाराको निजगढ नगरपालिमा एक अन्तरजातीय जोडीले जग्गेबाट नै विवाह गरेका छन्।

नपा–७ का २७ वर्षीय ऋतश सुनुवार (विश्वकर्मा) र ९ की २३ वर्षीया पार्वती आले मगरले आफन्त र छिमेकीबाट भएको विरोधको पर्वाह नगरी बिहीबार परम्पराअनुसार दाम्पत्य जीवन शुरू गरेका हुन्। ‘धेरैले जात नमिल्नेसँग नगर्नु भनेका थिए’, बेहुली पर्वतीका दाजु कुमार आलेले भने– ‘तर दुवै राजी भएपछि घरको जग्गेबाटै अन्माइदिएँ।’ कुमारले दाम्पत्य जीवन सफल हुन जातभन्दा पनि भावना र विचार मिल्नुपर्ने बताए। केही वर्षअघि पिता गुमाएपछि आमा सानुमाया र दाजु कुमारले पार्वतीको कन्यादान गरेका हुन्। ऋतेश ४ दर्जनभन्दा बढी जन्तीका साथ ब्यान्ड बाजा बजाउँदै दिउँसो डेढ बजे पार्वतीको घर पुगेका थिए।

३ वर्षअघिदेखि प्रेम सम्बन्धमा जोडिएका नवदम्पतीले परम्पराअनुसार मागी विवाह गर्ने प्रस्ताव गरेपछि आफन्त र छिमेकीले समेत विरोध गरेका थिए। तल्लो जातको केटासँग बिहे गरेको भन्दै असन्तुष्ट बेहुली पार्वतीका काका टंक आले, काकीलगायत आफन्त र अधिकांश छिमेकी पनि विवाह कार्यक्रममा अनुपस्थित थिए। मगर कुलका स्थानीय पुरोहितले विधिअनुसार फरक जातकालाई मण्डपमा राखेर विवाह गर्न नमिल्ने बताएपछि आफन्त र छिमेकी पनि विवाह कार्यक्रममा सरिक हुन हच्चिएका हुन्। पुरोहित कृष्णप्रसाद कोइरालाले अस्वीकार गरेपछि दाजु कुमारले हेटांैडाका अर्का पण्डित बोलाएर विवाह सम्पन्न गरेका हुन्। शुरूमा जात नमिलेको भन्दै विपक्षमा देखिएका दाजु कुमार पनि केही दिनअघि मात्र अन्तरजातीय विवाहका लागि राजी भएका हुन्।

बेहुली पार्ततीले भावना र विचार मिलेपछि आफूहरू विवाह गर्न तयार भएको बताइन्। ‘जात ठूलो कुरा होइन’, उनले भनिन्– ‘भावना र विचार मिले मात्र सम्बन्ध बलियो र दिगो हुन्छ।’ बेहुला ऋतेशका काका सीतारामले आफ्नो परिवार र समाजमा भने अन्तरजातीय विवाहको विषयमा कुनै विवाद नरहेको बताए। उनले पनि विवाहका लागि जातभन्दा पनि केटा र केटीको मन मिल्नुपर्ने बताए। स्थानीय समाजसेवी कर्णबहादुर लामाको विचारमा अन्तरजातीय विवाह गरेर पार्वती र ऋतशले उदाहरणीय काम गरेका छन्। यो विवाहले अन्तरजातीय विवाहका लागि अरूलाई पनि प्रेरणा प्रदान गर्नुका साथै समाजबाट जातीय प्रथा र भेदभाव घटाउन पनि मद्दत पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस्