भूकम्पपीडितको घरमै पुगेर दोस्रो किस्ता



मोतीराम तिमल्सिना, काभ्रे

जिल्लाका भूकम्पपीडितका लागि शुक्रबारबाट दोस्रो किस्ताको रकम रविओपी गाविसबाट वितरण गर्न शुरू गरिएको छ। प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले पीडितको घरमै पुगेर रकम वितरण गर्न शुरू गरेका हुन्।

रविओपी गाविसमा लाभग्राहीको सूचीमा परेका ९ सय ७० मध्ये पहिला किस्ता ९ सय ३० जनाले लिएका थिए। त्योमध्ये १ सय ३० जनाले घर निर्माणको काम शुरू गरे पनि दोस्रो किस्ताका लागि ४० जना मात्रै योग्य भएको बताइएको छ। त्यस्तै १९ वटा घर उक्त गाविसमा पूर्ण रूपमा निर्माण कार्य सम्पन्न भएका छन्। उनीहरूको हकमा के गर्ने भन्ने ऐनले नबोलेकाले छलफल भइरहेको प्रजिअ सिंखडाले बताए। भूकम्पपीडितको घरमै पुगेर वितरण गरिएको रकम डेड लाख रहेको छ। रविओपीका होमनाथ कोइराला, भुवनेश्वर कोइराला, हरिबहादुर थापालगायतलाई शुक्रबार दोस्रो किस्ताको रकम वितरण गरिएको थियो।

पीडितले प्राविधिकका कारण पुनर्निमार्णमा समस्या भएको बताएका थिए। दोस्रो किस्ता प्राप्त गरेका होमनाथ कोइरालाले प्राविधिकको अल्पज्ञानका कारण पटकपटक घर निर्माण गर्दै भत्काउँदै गरेको बताए। त्यस्तै भूकम्प गएलगत्तै पुनर्निर्माण गरेका रविओपी गाविसका दलबहादुर खत्रीले अझै रकम प्राप्त गर्न सकेका छैनन्। ८ छोरासहितका २५ सन्तान भएका खत्रीले चारवटा घर भूकम्प प्रतिरोधात्मक निर्माण गरे पनि मापदण्ड नपुगेको भन्दै प्राविधिकले असहयोग गरेको उनले बताए। दोस्रो किस्ता वितरणका लागि एसपी सहकुलबहादुर थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका जिल्ला प्रमुख ध्रुव गैंडा, स्थानीय विकास अधिकारी कोमल धमला, डिभिजन भवन कार्यालयका इन्जिनियर अष्टलाल सुवाललगायतको टोली रविओपी पुगेको थियो।

पहिलो किस्ता पनि रविओपीबाट नै वितरण शुरू भएको थियो। लाभग्राहीको सूचीमा परेर पनि रकम प्राप्त गर्न नसक्ने भूकम्पपीडित पनि छन्। सूचीमा नपर्ने पीडित पनि छन्। अनुदान लिएर घर निर्माण शुरू गर्ने १० प्रतिशत मात्रै भूकम्पपीडित छन्। अनुदान रकम लिएकै दिन सिध्याउनेहरू पनि छन्। स्थानीय विकास अधिकारी संयोजक रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ तथा पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी जिल्लास्तरीय गुनासो व्यवस्थापन समितिमार्फत् ६७ हजार ७ सय ११ जना लाभग्राहीमध्ये ६२ हजार २१ जनासँग सम्झौता सम्पन्न गरेको छ। प्रथम किस्ताको निकासा ६१ हजार २ सय ७४ जनाले प्राप्त गरेका छन्। जसअनुसार भूकम्पपीडितले ३ अर्ब ६ करोड ३७ लाख रकम भुक्तानी भइसकेको छ। सरकारी अनुदानबाट ५८ हजार ७ सय ७१ जनाले अनुदान पाए भने गैरसरकारी निकायबाट २५ सय ३ जनाले अनुदान पाए। २ अर्ब ९३ करोड ८५ लाख ५० हजार रकम सरकारी अनुदानबाट भुक्तानी भएको छ भने गैससबाट १२ करोड ५१ लाख ५० हजार भुक्तानी भएको छ।

१२ वटा गाविसमा पूर्णरूपमा सम्झौता सम्पन्न भएको छ। फलाँटे र भुम्लुटार गाविसमा पनि सम्झौता सकिएको छ। जिल्लामा २१ हजार ९ सय २९ गुनासो दर्ता भएका छन्। तीबाहेक जिल्ला गुनासो ब्यवस्थापन समितिबाट ३ सय ४१ गुनासो सम्बोधन भएका छन्। प्रथम किस्ता लिएर घर निर्माण गर्ने लाभग्राहीको संख्या १५ सय २१ पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाइका संयोजक स्थानीय विकास अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्