बस दुर्घटना पीडितद्वारा क्षतिपूर्ति माग



दीपेन्द्र शर्मा, जाजरकोट

जाजरकोट सदरमुकाम खलंगाबाट जिल्ला पश्चिममा पर्ने साल्म गाविसको खाराका लागि छुटेको ना३ख २२७९ नम्बरको यात्रु बस छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत बोहरा गाउँ नजिकै दुघर्टनामा पर्दा २६ जनाको मृत्यु भएको छ। घटनामा परी ३६ जना घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ। घटनास्थलमा १५ जना र उपचारका क्रममा ९ जना तथा रुकुमको चौरजहारी मिसन अस्पताल लैजाँदै गर्दा बाटोमा २ जना गरी २६ जनाको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेश रिमालले जानकारी दिनुभयो।

बसपार्कबाट करिब ४ किलोमिटर दूरीमा पर्ने भेरीमालिका नगरपालिका–४ बोहरागाउँ मोडमा २ सय मिटर तल पासागाड खोलामा बस खसेको हो। २३ जनाको चलानी लिएर गएको बसले बीच बाटोमा थप यात्रु राखेर ६२ जना सवार रहेको प्रहरीको भनाइ छ। यात्रुले खचाखच भरिएको बसको ब्रेक फेल भएर दुघर्टना भएको प्रहरीको अनुमान छ। भेरीगंगा यातायात समितिको थोत्रो बस, यात्रुको अत्यधिक चाप, ओरालो बाटोमा तीव्र गतिमा गाडी हुइँकिएकाले अनियन्त्रित भई दुघर्टना भएको घाइतेले बताएका छन्।

यसैबीच जाजरकोटमा भएको बस दुघर्टनाका पीडित र आफन्तले क्षतिपूर्तिसहित उचित राहतको माग गर्दै सदरमुकाममा शुक्रबार प्रदर्शन गरेका छन्। जाजरकोट उद्योग वाणिज्य संघको पहलमा पीडितका आफन्त र स्थानीय बासिन्दाले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहतको व्यवस्था, घाइतेको यथाशीघ्र उपचारको व्यवस्थाका साथै थोत्रा बस चलाउने, सिन्डिकेट लगाउने यातायात व्यवसायीलाई कारबाही र खारेजीको माग गर्दै प्रदर्शन गरेको उद्योग वाणिज्य संघका सचिव प्रमिला सिंह राठौरले बताउनुभयो। शुक्रबार साँझ दुवै पक्षबीच वार्ता हुँदा भेरी गंगा यातायात समितिले मृतक परिवारलाई २५ हजार रुपियाँको दरले किरियाखर्च दिने र बीमाबापत १ लाख रुपियाँ दिने सहमति भएको छ।

बस दुघर्टनामा मरी मृत्यु हुने २६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। मृत्यु भई सनाखत भएकाहरूमा लहँ–४ का ३१ वर्षीय रामबहादुर बस्नेत, साल्म–५ का ५० वर्षीय नन्दलाल जैसी, सीमा–९ का २१ वर्षीय मदन पुन, भेरीमालिका नगरपालिका–१० का १३ वर्षीय सन्तोष राना, सोही नगरपालिका–११ का २७ वर्षीय गोपाल सुनार, ११ कै २८ वर्षीय शर्मिला सुनार, वडा नं ४ का २१ वर्षीय नवीन चन्द र २५ वर्षीय गणेश बोहरा, वडा नं ३ का २६ वर्षीया शान्ता सुनार, दशेरा–१ का २८ वर्षीय डिलबहादुर बुढा, दशेरा–२ का २९ वर्षीय मनीराम जैसी, भेरीमालिका नगरपालिका–१२ का ५४ वर्षीय बहादुर भनारी, मजकोट–७ का दले तिरुवा, भेरी नगरपालिका–१३ का ४२ वर्षीय हिउँसर गिरी, भेरीमालिका नगरपालिका–११ का गोप्लो सुनार, पजारु–८ का ४८ वर्षीय नैने दमाईं, भेरीमालिका नगरपालिका–८ का चैते खत्री, जुंगाथापाचौर–५ का भरत बीसी र गर्खाकोट–२ का ५६ वर्षीय हरिबहादुर शाही, रुकुम चौरजहारी–४ का ५८ वर्षीय कृष्ण गिरी, स्वीकोट सल्यानका उदय बुढा रहेको डीएसपी रिमालले जानकारी दिनुभयो।
मजकोट–७ का ५३ वर्षीय कालो तिरुवा, लालसरी तिरुवा र कलहरी चनारा, साल्मा–५ का आइती कामी र जिते कामीको सनाखत भएको प्रहरीले जनाएको छ। रुकुमको चौरजहारी अस्पतालमा रहेका १० जना घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्