मोर्चाद्वारा यात्रुबसमा आगजनी



मोर्चाद्वारा यात्रुबसमा आगजनी

शिवहरिप्रसाद भट्टराई, राजविराज

मालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर गत सोमबार ४ जनाको मृत्यु र दर्जनांै घाइते भएको घटनापछि अशान्त बनेको सप्तरी अझै शान्त हुन सकेको छैन। घटनाको विरोधमा अनिश्चित्कालीन जिल्ला बन्दको घोषणा गरी आन्दोलनमा उत्रेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार पाँचौं दिन पनि यातायात, बजार, शिक्षण संस्था, कलकारखाना र सरकारी कार्यालय ठप्प पारी ठाउँठाउँमा टायर बाली प्रदर्शन गरेका छन्।

बन्दको अवज्ञा गरेको भन्दै मोर्चा कार्यकर्ताले जिल्लाको मलेठ सडक खण्डमा वीरगन्जबाट राजविराज आउँदै गरेको ना५ख ६७१३ नम्बरको यात्रुवाहक बसमा आगजनी गरेका छन्। यात्रुलाई ओरालेर मट्टीतेल छर्की लगाइएको आगोबाट उक्त बस जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यता लगातारको बन्दले यहाँको जनजीवन निकै कष्टकर बनेको छ। हिन्दुहरूको महान् चाडपर्व होली नजिकिए पनि यातायात बजार र बैंक तथा वित्तीय संस्थासमेत बन्द हुँदा पैसा झिक्न नपाई सर्वसाधारण बिचल्ल ीमा परेका छन्।

शान्ति सद्भाव कायम राख्न आग्रह

सप्तरीका नवआगन्तुक सीडीओ कृष्णबहादुर कटवालले जिल्लामा शान्ति सद्भाव कायम राख्न हरसम्भव प्रयास भइरहेको भन्दै सञ्चारकर्मीलाई पनि सहयोगको आग्रह गर्नुभएको छ।

बिहीबार मात्रै सप्तरी टेकेका सीडीओ कटवालले शुक्रबार आफ्नै कार्यकक्षमा पत्रकारसँग भेटघाटको आयोजना गरी सप्तरीमा गत सोमबार भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनापछि उत्पन्न तनाव साम्य पार्न सञ्चारकर्मीलाई पनि सहयोगका लागि आग्रह गर्नुभएको हो।

उहाँले हाल देखिएको तनाव साम्य पार्न आफू प्रयत्नशील रहेको र यसका लागि १÷२ दिनमै सर्वपक्षीय बैठक बोलाउने तयारी थालिएको समेत जानकारी दिँदै सबै पक्षलाई संयमिता देखाउन आग्रह पनि गर्नुभयो।

शवयात्रा शनिबार

प्रहरीको गोली लागेर मृत्यु भएका सबै पाँचै जनाको शव शुक्रबार बेलुका धरानबाट सप्तरी सदरमुकाम राजविराज ल्याउने र शनिबार शवयात्रा निकाल्ने तयारी गरिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले जनाएको छ। मोर्चाका प्रवक्ता अमरनाथ मण्डलले सो जानकारी दिएका हुन्। ‘धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवहरूको पोस्टमार्टम कार्य साँझसम्म सकिनेछ’, उनले भने– ‘शुक्रबारै रातिसम्म राजविराज पुर्याई शनिबार बिहान शवयात्रा निकाल्ने तयारी गरिएको छ।’

 

प्रतिक्रिया दिनुहोस्