गाउँलेको प्यारो क्लिनिक



सन्तोष अधिकारी, गोरखा

आरुपोखरी–२ का ९६ वर्षका मोतीलाल श्रेष्ठ वृद्ध स्याँस्याँ गर्दै क्लिनिक आइपुगे। करिब १५ मिनेटको उकालो चढेर आरुपोखरी–१ सातदोबाटेमा रहेको रियल मेडिसिन फाउन्डेसनले गाउँलेसँगको समन्वयमा सञ्चालन गरेको क्लिनिकसम्म। उनी गाउँका सबैभन्दा पाको मान्छे पनि हुन्। स्वास्थ्य चौकीमा आएर सुस्ताउँदै भन्दै थिए– ‘बुढ्यौलीसँगै दम, रुघाखोकीले च्याप्यो। यहाँ डाक्टरसापकहाँ जँचाउन आको।’ उनले भनेका डाक्टरसाप हेल्थ असिस्टेन्ट विष्णु शर्मा हुन्। उनै विष्णुले गाउँमा कोही बिरामी हुँदा चेकजाँच गर्ने गर्छन्। गाउँलेलाई शर्माको अत्यन्तै विश्वास पनि छ। श्रेष्ठ जस्तै दिनहुँ दर्जनौं मानिस त्यहाँ सेवा लिन आउँछन्।

‘विष्णु सर हुनुहुन्थेन भने गाउँका कति मान्छे अकालमै मर्थे’, स्थानीय रणबहादुर बरामु भन्छन्– ‘छन त यहाँ सरकारी स्वास्थ्य चौकी पनि छ। तर, के गर्नु टाढा छ। यहाँको स्वास्थ्य चौकीमा सधैं स्वास्थ्यकर्मी हुँदैनन्। कि आरुघाट जानुपर्यो कि गोरखा बजारै हो। यो क्लिनिकले त यहाँका मान्छेलाई बचाएको छ।’ उक्त फाउन्डेसका दुई कर्मचारी शर्मा र स्टाफ नर्स विनिता सापकोटाले त्यहाँका मानिसलाई २४ सै घण्टा सेवा दिएको बरामु बताउँछन्। गत वर्षको जनवरीबाट गाउँमा क्लिनिक सञ्चालन गरेर सेवा प्रदान गरिरहेको फाउन्डेसनले भूकम्पले जीर्ण भवन मर्मत गरी सेवा दिइरहेको छ। उक्त संस्थाले सञ्चालन गरेको भवन रहेको जग्गा गाउँलेले उपलब्ध गराएका हुन्।

अहिले उक्त संस्थाले गाउँको स्वास्थ्य सेवासँगै अन्य विभिन्न क्षेत्रमा पाँच वर्ष काम गर्ने कार्ययोजना तयार पारेको बताएको छ।‘अहिलेसम्म हामीले यही क्लिनिकबाट मात्रै यहाँका जनतालाई सेवा दिएका थियौं’, रियल मेडिसिन फाउन्डेसनका नेपाल प्रतिनिधि गणेश श्रेष्ठले भने– ‘अब हामीले यहाँको मानिसको जीविकोपार्जनमा पनि सहयोग गर्छाैं।’

उक्त क्लिनिकमा औषधि किन्दा औषधिको प्याकेटमा लेखेको भन्दा २५ प्रतिशत कम मूल्यमा पाइन्छ। औषधि बिक्री गरेर आएको पैसा क्लिनिक सञ्चालन गर्दा निर्माण गरेको समितिको रोहवरमा खर्च गर्ने गरेको क्लिनिकका इन्चार्ज विष्णु शर्माले जानकारी दिए। क्लिनिक सञ्चालन गर्न उक्त संस्थाले सहयोगपश्चात् पनि निरन्तरता दिनका लागि औषधिको पैसा लिने गरेको व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर आलेले बताए। सरकारी स्वास्थ्य चौकी पायक पर्ने ठाउँमा नभएको र स्वास्थ्यकर्मी नियमित कार्यालयमा नबस्ने हुँदा गाउँलेले क्लिनिकलाई माया गरेको आले बताउँछन्।

भूकम्पपछि क्लिनिक भत्किएपछि नयाँ भवन बनाउन लागिएको छ। नयाँ भवन बनाउनका लागि आरएमएफ संस्थाले क्लिनिकका लागि नै भवन बनाइदिने भएको छ। भवन बनाउन संस्थाले जग्गासमेत समुदायबाट नै पाइसकेको आरएमएफ संस्थाका कार्यक्रम व्यवस्थापकसमेत रहेका गणेश श्रेष्ठले बताए। अब सो क्लिनिकलाई बर्थिङ सेन्टरसहितको बनाउन लागिएको हो। गाउँलेको माग भने बर्थिङ सेन्टरसँगै ल्याब पनि रहेको उनले बताए। आरुपोखरी, पन्द्रुङ, पाँचखुवादेउराली २, १ वडा, तान्द्राङ गाविसका सेवाग्राहीले सो क्लिनिकबाट सेवा लिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्