मर्मत नगरी धराप पूलबाट सवारी संचालन



केहि महिना अघि टोड्केखोलामा निर्मित पक्कीपूल यसरी भत्किएको थियो ।     तस्विरः ज्ञानमणि नेपाल कालोटोपी

ज्ञानमणि नेपाल कालोटोपी,काभ्रे

काभ्रेको मण्डनभेगस्थित महादेवस्थान र चण्डेनीमण्डन गाविसको सिमाना टोड्केखोलामा निर्माण गरिएको पक्की पूल अहिले धरापमा परेकोे छ ।

तर यसलाई सामान्य मर्मत पनि नगरि सवारी साधन संचालन गरिने गरिएको छ । यसले गर्दा कुनैपनि बेला यहाँ दुर्घटना हुन सक्ने सम्भावना वढेको भएपनि यसतर्फ कसैले पनि चासो राखेको पाइएको छैन । ३ महिना अघि यो पूल भत्किएको थियो । एकापटिको पर्खाल ढलेर ठूलो खाडल बनेपछि यहाँबाट आवत–जावत गर्ने सवारी साधनहरु एकसाता जति ठप्प भए ।

पछि स्थानियहरुले सामान्य मर्मत गरेर टालटुल त पारे तर यो भरपर्दो भएको छैन । त्यस्तै अवस्थामै अहिले यात्रीवाहक बस र मालबाहक सवारीहरु संचालन गरिदैं आइएको छ । तर स्थानिय प्रशासन र राजनितीक दलका प्रतिनिधी कसैले पनि यसमा खासै चासो दिएका छैनन् ।

यो पूल बिग्रिएपछि यस आसपासका गाउँहरुमा भर्खरै शुरु भएको पूर्ननिर्माण प्रक्रियामा समेत समस्या आएको छ । यति मात्र होइन दुध र तरकारी ढुवानीमा समेत अप्ठ्यारो भएपछि कृषकहरु प्रभावित भएको स्थानिय कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडकमा क्षमता भन्दा धेरै लोड बोकेका टिपरहरु गुडेकाले पूल भत्किएको हो । यसको मर्मतका लागि करिव ३ लाख जति बजेट आवश्यक छ तर यति रकम जुटाउन नसक्दा गाउँलेहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

घर बनाउनका लागि गाउँ सम्म निर्माण सामाग्री लैजान समेत अप्ठ्यारो परेको घर बनाउँदै गर्नु भएका स्थानियवासि उद्ववप्रसाद नेपालले बताउनु भयो । उहाँका अनुसार भूकम्पपीडितहरुले निर्माण सामाग्री बीच बाटोमै खसालेर अर्को साधनमा लैजानु पर्ने अवस्था छ । यसले गर्दा ढुवानी खर्च दोब्बरले वढेको र पीडितहरु झन पीडित भएको बताइएको छ ।

पछिल्ला केहिवर्ष देखि मण्डनभेगका चार गाविसमा मेलम्ची खानेपानी आयोजनाले विकास निर्माणका कामहरुमा सक्रियता देखाएको छ । यी गाविसमा मण्डन उपत्यका समन्वय समिती गठन गरि विकासका कामहरु गरिने गरिएको थियो । तर यो पूल मर्मतका लागि उसले पनि यतिबेला चासो देखाएको छैन । बरु आयोजनाले गरेको सहयोगबाट गाउँका भद्रभलाद्मीहरु विभिन्न ठाउँमा भ्रमण गएको र विकास निर्माणमा उनीहरुले चासो नदेखाएको स्थानियवासिहरुको गुनासो छ ।

उनीहरुका अनुशार पूल भत्किएपछि हालै मात्र यी गाविसहरुबाट भ्रमणका लागि भनेर ३ लाख जति खर्च गरिएको थियो । त्यो बजेट पूलमा लगानी गर्न पाएको भए हजारौं नागरिकहरु लाभान्वित हुन्थे । तर राजनितीक दलका स्थानिय नेताहरुले यतातिर सोच्न पनि सकेनन् । त्यसैले समस्या आएको हो ।

यसमा अब पनि कसैले ध्यान नदिने हो भने आगामी दिनमा अझ समस्या थपिने स्थानियवासिहरु बताउँछन् । हिउँदमै पूल भत्कियो, वर्षा लागेपछि झन के होला ? यो पूल मर्मत गर्न सक्ने हो भने महादेवस्थान गाविसबाट चण्डेनीमण्डन हुदै ज्याम्दी र दोलालघाट जान निकै सजिलो हुनेछ भने सिन्धुपाल्चोक जिल्लाका केहि गाविसका वासिन्दाहरु पनि लाभान्वित हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्