कर्णाली राजमार्गको कथा



शेरबहादुर थापा, सुर्खेत
कर्णाली राजमार्ग सञ्चालनमा आएको करिब दशक वित्न थाल्यो । कर्णाली राजमार्गको आधारमा थुप्रै ठाँउमा सडक सञ्जालको समेत विस्तार भइसकेको छ तर सडक विस्तारले विकासको रुपमा देखिएतापनि स्थानीयलाई जञ्जालै जञ्जाल प्रदान गरेको छ ।

कर्णाली राजमार्गमा आजकल दिनहुँ महेन्द्रनगर, धनगढी, टिकापुर, नेपालगञ्ज र सुर्खेतबाट ३५ भन्दा बढी यात्रुबाहक बसहरु सञ्चालन भइरहेका छन । अन्य सवारी साधनको मात्रा पनि ह्वात्तै बढेको छ ।

केहि समय अघि मृत्यू मार्गको नामले परिचित यो राजमार्गको सुर्खेत देखि कल्याण सम्म एक लेन भएपनि यात्रा त्यति असहज भने छैन तर कल्याण काँध बाट जति अघि बढिन्छ त्यसले हरेक यात्रीलाई भगवान पुकार्नेपर्ने परिस्थितीको सामना गर्नै पर्छ ।

सडक भरि खाल्डै खाल्डा

कर्णाली राजमार्गको अधिकांश कालोपत्रे गरिएको सडकमा अहिले खाल्डै खाल्डा छन । ति खाल्डा पुर्नका लागि खटाइएका सडक मजदुरले न त खाल्डा खुल्डि पुर्ने काम गर्छन न त सडक विभागले उनिहरुले कुनै कडा निर्देशन नै दिन्छन । सडक मजदुरको निगरानी र सहि परिचालन हुन नसक्दा दिन दिनै सडकमा खाल्डा बढिरहेका छन भने दुर्घटना हुने, गाडीहरुका पट्टा भाँचिने लगायतका समस्याले घण्टौं जंगलको जाममा पर्नुपर्ने हुन्छ ।

तर सडक डिभिजनका सुपरभाइजर मान बहादुर शाही भने यो कुरा स्किार्दैनन । उनी दहिखोला सम्म ५१ जना सडक मजदुरहरु कार्यरत रहेका र उनीहरुले सन्तोष जनक कार्य गरिरहेका दाबी गरे । उनले सडकमा रहेका खाल्डा खुल्डि भर्ने, नाला सफाई गर्ने कार्य आगामी वर्षात भन्दा पहिले नै गरिसक्ने योजना सुनाए । यदि ५१ जना मजदुरले समयमै कार्य सम्पन्न गर्न नसके इमरजेन्सी टोलीलाई खटाएर भए पनि काम सक्ने जानकारी दिए ।

५ किमि ग्राभेलै छैन
दैलेख सडक खण्डको खडकावाडा ४ सेप्टि देखि सोही गाविसको वार्ड नं. २ मोतीया खोलासम्मको ५ किलोमिटर सडक त ग्राभेल सम्म हुन सकेको छैन । स्थानीय राम बहादुर खडका सडक विभागको लापरवाहीले गर्दा आफूहरुले बर्षांसम्म धुलो खानुपरिरहेको दुखेसो पोखे । उनका अनुसार सडकका कर्मचारीलाई सोध्दा चाँडै सडक ग्राभेल हुने भनेपनि त्यो दिन आजसम्म देख्न नपाएको बताउँदै चाँडो भन्दा चाँडो कालोपत्र गरि रोगी हुनबाटबचाइदिन आग्रह गरे ।

यत सडक डिभिजन कार्यालय सुर्खेतका सब इञ्जिनियर लक्ष्मण रावलले उक्त स्थानमा यो वर्ष पनि कालोपत्रे नहुने जानकारी दिए । उनका अनुसार त्यस खण्डको सडकको माटो खराब भएको, सधैं माटो खसिरहने हुँदा पहिलेदेखि नै उक्त सडक खण्ड कालोपत्रे हुन नसकेको जानकारी दिए ।
जाक्सी खोलामा पुल असार भित्रै

दैलेख खण्डको जाक्सी खोलामा भागेका ठेकेदार फेरि सम्पर्कमा आएका र उनले यो बर्षको असार मसान्तसम्म पुल तयार गरिसक्ने गरि काम सुरु भएको डिभिजन कार्यालयका सब इन्जिनियर लक्ष्मण रावलले जानकारी दिए । तर सात्ताला गाविस स्थित कुमाले खोला पुलका ठेकेदार सम्पर्कमा नआएका कारण कार्यालयले केहि दिन अघि मात्रै ठेक्का आव्हान गरेको र अबको दुइ महिना भित्रै प्रक्रिया सम्पन्न गरिसक्ने जानकारी दिए ।
सेप्टि बेरियर बन्दा चालक खुशी

कर्णाली राजमार्गको जाक्सी खोलामा अधुरै रहेको पुल । आगामी असार सम्म पुरा हुने ।

सडक साँघुरो भएतापनि मोडमा फलामका सेप्टि बेरिएर बनाउने क्रममा तीव्रता आएपछि सवारी चालकहरु खुशि भएका छन् । यात्रु बाहक बस चलाउने सुरेन्द्र कठायत सेप्टि बेरिएरका कारण दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने बताउँछन । यात्रीहरु समेत मोडबाट गाडी दुर्घटना हुँदा बेरिएरले रोक्न सक्छ होला भन्ने आशमा निर्धक्क यात्रा गर्ने गरेका छन् ।

सडक अतिक्रमण बढ्दो

कर्णाली राजमार्गमा सडक अतिक्रमणले उचाँइ लिएको छ । सडक नजिकका प्राय हरेब बजारमा गाडी दोहोरो गुडनै नसक्ने अवस्थामा पुगेका छन भने सडक छेउ यात्रा गर्ने यात्रुले ठुलै सास्ती बोक्नु परेको छ । दैलेखका राकम कर्णाली, टुनिबगर, पातालखोला लगायतका बजारहरुमा सडक अतिक्रमण भएको प्रस्ट देख्न सकिन्छ । राकम कर्णालीमा व्यवसाय गर्ने गोकर्ण माझी तत्काल सडक विभागले आफ्नो सिमाना छुट्याइहाल्नुपर्ने अन्यथा सडक छेउमा बन्दै गरेका पक्कि घर हटाउँदा दुवै पक्षले ठुलो क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्नेमा जोड दिन्छन ।

 

प्रतिक्रिया दिनुहोस्