पहिरोको जोखिमको स्थलगत सर्वेक्षण



हेटौंडा,(नेस)

मकवानपुरका १८ गाविस तथा नगरपालिका क्षेत्र भूकम्पका कारण पहिरोको जोखिममा परेकोे आशंकामा पुनर्निर्माण प्राधिकरणले सर्वेक्षण गर्ने भएको छ ।

राईगाउँ, धियाँल, हेटौंडाको २६ र २७ वडालगायत खैराङ, डाँडाखर्क,राक्सिराङ गरी १८ गाविसमा पहिरो जोखिम सर्वेक्षण गरिने भएको हो । प्राधिकरणले ढिलो गरी सर्वेक्षण काम थाले पनि पहिरो जोखिमका विषयमा जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी नारायण शर्मादुवाडीले जानकारी दिए ।

जिल्लाका पहिरोको उच्च जोखिममा रहेका स्थान सर्वेक्षणबाट पहिचान गरी प्राधिकरणले प्रतिवेदन दिएपछि बसोबास स्थान सार्ने तथा अन्य आवश्यक कार्ययोजना बनाउने उनले बताए । प्राधिकरणले मकवानपुरका १८ गाविसका २९ स्थानका ३ हजार २३ घरधुरी पहिरोको जोखिममा परेकाले जोखिम मापनका लागि प्राविधिकसहित टोली सर्वेक्षणका लागि खटाएको हो ।

भूकम्पपछि मकवानपुरमा भूक्षय अत्यधिक देखिएका कारण मानवीय दृष्टिकोणले अति जोखिमयुक्त रहेको एक अध्ययनले देखाएको छ । तराईका १० जिल्लामा फैलिएको चुरे क्षेत्रमा तीनहजार चार सय ५६ वटा पहिरो पहिचान गरिएको छ । जसमध्ये मकवानपुरमा अत्यधिक पहिरो भेटिएको त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभागले करिब एक वर्ष लगाएर गरेको अध्ययनबाट देखिएको हो । चुरेक्षेत्र ओगटेको मकवानपुरमा धेरै भूक्षय भएका छन् । मकवानपुरमा मात्र करिब ८ सय पहिरो गएको छ ।

चुरेक्षेत्र ओगट्ने अन्य क्षेत्र भन्दा मकवानपुरमा बढी पहिरो गएको अध्ययनले देखाएको छ । उक्त परियोजनाका अनुसार मकवानपुरमा सातसय ९२ वटा पहिरो भेटिएको छ । भूगर्भविद्, इञ्जिनियर, जीआईएस विज्ञ र सामाजिक सर्भेयरले गरेको अध्ययनले मकवानपुर पहिरोबाट जोखिममा रहेको देखाएको हो ।

जिल्ला भूसंरक्षण कार्यालय मकवानपुरले भूकम्पपश्चात केही गाविसका पहाड बग्नसक्ने सम्भावना रहेको जनाएको छ । भूकम्पले बिकट गाविसका पहाड चर्किएका कारण वर्षामा बग्नसक्ने खतरा रहेको बताइएको छ ।
भूकम्पले पहाड चर्काएको छ । अलि ठूलो वर्षा हुनासाथ पहाड बग्नसक्ने प्राविधिक अध्ययनले देखाएको छ । पहाड खस्दा ठूलो मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने देखिन्छ । बस्ती स्थानान्तरण र प्रकोप न्यूनीकरणमा ध्यान पु¥याउनु पर्ने आवश्यकता औंल्याइएको छ ।

चुरेक्षेत्रको भूवनौट नै सुक्खा माटो भएका कारण पानी पर्नासाथ भूक्षयको सम्भावना बढी रहेको छ । मकवानपुरमा साना र ठूला गरी करिब २ हजार पहिरो रहेको जानकारी दिइएको छ । विज्ञहरुले गुगल म्याप, फिल्ड अध्ययन, स्याटेलाइट सर्भे, रिमोट सर्भे, जीआईएस विश्लेषणका आधारमा पहिरो पहिचान गरेका हुन् ।

अध्ययनका क्रममा उनीहरुले १० जिल्लाका १ हजार ४ सय पहिरोको स्थलगत अध्ययन गरेका थिए । अध्ययनले ३ हजार ५ सयमध्ये धेरै पहिरो मझौला छन् । केही पहिरो अत्यधिक ठूला र खतरासमेत रहेको पहिचान गरिएको छ । भविष्यमा कुनकुन स्थान पहिरोको जोखिममा छन् भन्ने अध्ययन गरिएको छ । अध्ययनले जोखिमयुक्त पहिरो र ठूला पहिरोको तत्काल उपचार आवश्यक पर्ने ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्