विशालले मृगौला पाएनन्



ज्ञानमणि नेपाल, काभ्रे
वै मृगौलापीडित काभ्रेको चण्डेनीमण्डनका २२ वर्षीय विशाल नेपालका लागि आर्थिक सहयोग आउने क्रम विगत २ महिना यता निरन्तर छ।

बुबाको प्यारालाइसिस र छोराको दुवै मृगौला फेलसम्बन्धी समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि उनलाई देशविदेशबाट सहयोग गर्नेहरू ह्वात्तै बढेका थिए। यो समय अवधिमा उनलाई विदेशमा र स्वदेशमा रहेका साथीभाइ, आफन्त र अपरिचत मित्रहरूले समेत विशाल नेपाल बचाउ अभियान नै सञ्चालन गरी सहयोग जुटाइरहेका छन्। हालसम्म उनका लागि कुन्ताबेंसीस्थित मण्डनदेउपुर साकोस र स्थानीय युवा क्लबमार्फत् संकलित ६ लाख ७८ हजार रुपियाँ विशालको बैंक खातामा जम्मा गरिएको कुन्ताबेंसीबाट कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। त्यसै गरी अमेरिकाबाट चण्डेनीमण्डनकै देवेन्द्र नेपालले त्यहाँ संकलित २ लाख १८ हजार रुपियाँ पठाइसक्नुभएको छ भने अन्य सहयोग पनि उठिरहेको जानकारी दिनुभएको छ। अमेरिकामै रहनुभएका हिंगुवापाटीका महेश नेपालले पनि सहयोग संकलन गरिरहेको खबर पठाउनुभएको छ।

त्यस्तै अस्ट्रेलियाबाट रानीटारका सुनिल सापकोटाले ७० हजार सहयोग पठाउनुभएको छ भने कोरियाबाट दिलबहादुर लामा र तेज दाहाललगायत अन्य साथीहरूको सहयोगमा १ लाख ५७ हजार सहयोग आइसकेको छ। व्यक्तिगत रूपमा हिंगुवापाटीका मधुसूदन नेपाल र धाइटारका राममणि सापकोटाले १⁄१ लाख सहयोग गर्नुभएको छ। त्यसै गरी कान्तिटारका शंकरमणि नेपालले आफ्नो पहलमा २ लाख ७० हजार जति सहयोग संकलन गरी पीडितलाई बुझाइसकेको जानकारी दिनुभएको छ। दुबईबाट रायोबारीका दयाराम नेपालले ५७ हजार र ओमानबाट वसन्त नेपालले १३ हजार सहयोग गर्नुभएको छ। अमेरिकाबाटै दीपक सापकोटाले २१ हजार पठाउनुभएको छ। त्यस्तै यूकेबाट रायोबारीका नारायण नेपालले ७९ हजार सहयोग गर्नुभएको छ। चण्डेनीमण्डनस्थित माइटार, जोगिटार, ज्वानेटार, कान्तिटार र डडालीथोकबाट राजधानी आई बसोबास गरिरहनुभएका युवाले पनि विशाललाई करिब २ लाख ५० हजार संकलन गरी सहयोग गर्नुभएको छ। पेप्सिकोला निवासी मिलन नेपालले पनि सहयोग संकलन गरिरहनुभएको छ। मलेसियाबाट विमल पौडेलले ६८ हजार ५ सय संकलन गरेर पठाउनुभएको छ। मलेसियाबाटै चण्डेनीमण्डनका सरोज पराजुली र हर्क माझीले ८ हजार २ सय सहयोग पठाउनुभएको छ।

विशालकै निवासमा पुगेर व्यक्तिगत सहयोग गर्नु हुने दाताहरूको संख्या पनि उल्लेख्य छ भने अझै सहयोग गर्न इच्छुक व्यक्तिहरू पनि देखिनुभएको छ। यसरी विशाललाई नसोचिएको आर्थिक सहयोग आएको भए पनि मृगौला दाताको अभावले हालसम्म उनको मृगौला फेर्न भने सकिएको छैन। अस्पताल र डाक्टरहरूको प्रत्यक्ष निगरानीमा रहेका उनलाई आफ्नै बुबाले मृगौला दिनुहुने भनिए पनि रगत समूह नमिलेका कारण सम्भव हुन सकेन। उनको परिवारमा रहनुभएका सदस्यहरूको बी पोजेटिभ रगत समूह रहेको र विशालको भने ओ पोजेटिभ समूह भएकाले चाहेर पनि परिवारबाट मृगौला दान हुन सकेको छैन।
अस्पतालले पनि उनका लागि विशेष प्राथमिकता दिएर दाताहरूलाई अनुरोध गरेको छ। परिवारले कुनै इच्छुक दाता हुनुभए खबर गरिदिन सबैलाई अनुरोध गरेको छ। विशालका बुबा राजु नेपाल भन्छन् – ‘आर्थिक सहयोग गर्नुहुने सबै दाताप्रति आभारी छु।’ अहिले अस्पतालले केही हप्ता नेपालमै उपचार गराउन र यहाँ सम्भव नभए मात्र बाहिर लैजाने सल्लाह दिएको उहाँले जानकारी दिनुभयो। गएको असोजदेखि यता उनको उपचारका लागि ४ लाख ५० हजार रुपियाँ खर्च भइसकेको पारिवारिक स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्