विप्लवको चन्दाले सचिवहरु त्रासमा



मोतीराम तिमल्सिना,काभ्रे

नेकपा कम्युनिष्ट पार्टी माओवादी विप्लब समुहका नाममा जिल्लाका अधिकांश सचिवहरुलाई चन्दाको पत्र र फोनबाट दिएको धम्किका कारण अधिकांश सचिवहरु त्रासमा परेका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेला दिईएको धम्किले सचिवहरुले असुरक्षाको महसुस समेत गरेका छन् ।

विप्लब समुहका नाममा जिल्लाका ठुला ठुला विद्यालय, कलेज र गाउँ विकास समितिमा सचिवहरुलाई चन्दा आतंक मच्चाईएको छ । आठौ महाधिबेशनको सहयोगार्थका नाममा उठाईएको चन्दा जर्बजस्ति रुपमा असुल गरिएको छ ।

महाधिबेशन सकिएको झण्डै महिना पुग्ना लाग्दा समेत पहिला नै भनिसकेकाले रकम चाहियो भन्दै आतंक मच्चाईएको हो । गाउँ विकास समितिका सचिवहरुलाई तोकेरै ५० हजारसम्म चन्दा मागिएको छ । टेलिफोन मार्फत मागिएको चन्दा अधिकांश गाविसका सचिवहरुले बार्गेनिङ्गमा बुझाई सकेका छन् । विप्लब माओवादी नेता प्रकाश लामा र शिक्षक नेताका नामबाट चन्दा माग गरिएपछि सचिवहरु आतंकित भएका हुन ।

धम्कीपूर्ण भाषामा चन्दा अभियान शुरु गरेको विप्लब माओवादीका कार्यकर्ताहरुले चन्दा नदिए जे पनि हुन सक्ने भन्दै जर्बजस्ति गरेका छन् । पटक पटक फोनमा चन्दा माग गरेपछि सचिवहरुले रेकर्ड लगेर सुरक्षा निकायमा बुझाई कडा कारवाहीको माग गरेका छन् ।

५० हजार एउटा सचिवले कहाँबाट दिन सक्नु ? नाम नबताउने शर्तमा एक सचिवले भने । गाउँ परिषद् सम्पन्न भईसकेको र चालु वर्षका लागि योजनाहरु कार्यान्वयन भईरहेका बेला मागिएको चन्दा कुन शिषर्कबाट उपलब्ध गराउने ? सचिवहरु अन्योलमा परेका छन् ।

अझ सचिवहरुले पैसा दिन्न सक्दैनौ कहाँबाट दिने भनेपछि जे पनि हुन सक्ने भन्दै दिईएको धम्किले आतंक मच्चिएको छ । चन्दा नदिए जे पनि हुन सक्ने भन्या के हो ? सचिवहरुले सोधेपछि फोन गर्नै माओवादी नेताले भने तिमीहरुलाई हामीले जान्या छौं ? केहि सचिवहरुले ताकेता धेरै भएपछि १ हजार ५ सय देखि २० हजारसम्म रकम आफ्नै तलबबाट मिलाउने गरी विप्लब माओवादीका कार्यकर्ताहरुलाई बुझाएका छन् । केहिले अटेर गर्दै किन बुझाउने रकम ? कहाँबाट ल्याउने ? चोरेको धन छ र ? भ्रष्टाचार गरेको भए पनि त्यहिबाट बुझाउँ नत्र कहाँबाट बुझाउने भन्दै लगार्दै आएका छन् । फागुन महिना सचिवहरुले सामाजिक सुरक्षा वितरण गर्ने महिना हो ।

जिल्लाका केहि दुर्गम गाविसहरु छन् । जहाँ बैकहरु पनि छैनन । अहिलेसम्म बैक मार्फत रकम भुक्तानी गर्ने भनिएपनि शुरु गर्न सकिएको छैन । लाखौ रकमको बोरा बोकेर गाउँ जानु पर्दा लुटिने हो कि भन्ने डरमा पर्न थालेका छन् ।

सचिवहरुले चन्दा माग्न गरिएको धम्कीको अडियो रेकर्ड बुझाएपछि त्यसकै आधारमा कारवाही गरिदिए सामाजिक सुरक्षा भत्ताको रकम लिएर सहजै गाउँ जान सक्ने आशय ब्यक्त गरेका छन् । नत्र जुनसुकै बेला चन्दाका नाममा सचिवहरुलाई तलमाथी हुन सक्ने शंका गरिएको छ ।

गाउँ विकास समितिका सचिवहरुको संगठन गाविस सचिव हक हित केन्द्रका अध्यक्ष विश्वनाथ दाहालले सचिवहरुलाई विप्लब माओवादीका कार्यकर्ताहरुले चन्दाका नाममा धम्कि दिईरहेको बताए । केहि सचिवहरुले मौखिक गुनासो गरिसक्नु भएको छ । ‘हामीले संस्थागत रुपमै चन्दा दिन नसक्ने बताएका छौं, कानुन विपरित कसैले धम्कि दिन्छ भने कारवाही हुनुपर्छ’–दाहालले भने ।

उता जिल्लाका प्रमुख कलेज तथा नीजि विद्यालयहरुमा एक÷एक लाख रुपैया चन्दा माग्दै विप्लब माओवादीले पत्र पठाएको छ । चन्दा नदिने कलेज तथा विद्यालयका गाडीहरु सडकमा गुड्ने भन्दै धम्कि दिन थालिएको छ । माओवादी कार्यकर्तालाई त्यति धेरै रकम दिन विद्यालयहरुले कहाँ को सँग कसरी लुटेका छन् र ? चन्दा भने जति दिनु पर्ने ? एक विद्यालय संचालकले भने ।

प्रतिक्रिया दिनुहोस्