चुनाव चिन्ह गाई राख्ने राप्रपाको निर्णय



काठमाडौं
नीय निर्वाचनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्ह गाई नै राख्ने निर्णय गरेको छ। सरकारले घोषणा गरेको स्थानीय निर्वाचनको स्वागत गर्दै राप्रपाले सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गर्ने पनि निर्णय गरेको छ। साथै, राप्रपाले चैत्रको आठ गतेदेखि गोरखा, काठमाडौं, झापा र कञ्चनपुरबाट शीर्ष नेताहरूको अगुवाइमा एकैपटक पाँचदिने राष्ट्रिय एकता यात्रा गर्ने निर्णय पनि गरेको छ।

हलो चुनाव चिन्ह भएको राष्ट्रिय प्रजातन्त्र पार्टी र गाई चुनाव चिन्ह रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकीकृत भएपछि शीर्ष नेताबीच चुनाव चिन्ह बारे विवाद भएको थियो। शीर्ष नेताहरू पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलगायतका नेताहरूले चुनाव चिन्ह हलो हुनुपर्ने जिकिर गरे पनि शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा अधिकाशं केन्द्रीय सदस्यहरूले चुनाव चिन्ह गाई राख्नुपर्ने धारणा राखेपछि राप्रपाले यस्तो निर्णय गरेको हो।

राप्रपाका नेता राजाराम श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार बिहीबारदेखि बसेको केन्द्रीय समितिको बैठकले स्थानीय निर्वाचनमा पार्टीको पक्षमा जनलहर ल्याउन पाँच दिने एकता यात्रा गर्ने निर्णय भएको हो। एकता यात्रामा चार जिल्लामा शीर्ष चार नेताले नेतृत्व गर्नेछन्। राष्ट्रियता, सनातन धर्म र मुलुकको समग्र आर्थिक समृद्धि र विकासलाई केन्द्रित गरी राप्रपाले एकता यात्रा गर्न लागेको हो। चार फरक ठाउँबाट हुने यात्राको अध्यक्ष कमल थापा, संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वराष्ट्रिय अध्यक्षहरू पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नेछन्। राष्ट्रिय एकता यात्राको समापन चैत्र १२ गते चितवनमा हुनेछ।

राप्रपा केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य ध्रुबबहादु्र प्रधानद्वारा प्रस्तुत स्थानीय निर्वाचनसम्बन्धी विस्तृत कार्ययोजना तथा अर्का केन्द्रीय सदस्य राजेन्द्र लिङदेनद्वारा प्रस्तुत स्थानीय तहमा पार्टीको संरचनाको निर्धारणसम्बन्धी कार्यपत्रलाई परिमार्जनसहित पारित गरेको छ।

राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार २७ जना पदाधिकारीहरूको मनोनयन पनि गर्नुभएको छ। अध्यक्ष थापाले उपाध्यक्षमा दिपक बोहोरा, राजिव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द्र रायलाई मनोनित गर्नुभएको छ भने महामन्त्रीमा ध्रुबबहादुर प्रधान, राजेन्द्र लिङदेन, डा. धवल शमशेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापालाई मनोनित गर्नुभएको छ। अध्यक्ष थापाले कोषाध्यक्षमा उद्धव पौडेललाई मनोनित गर्नुभएको छ। राप्रपाको प्रवक्तामा अध्यक्ष थापाले रोशन कार्की, सुशील श्रेष्ठ र भुवन पाठकलाई मनोनित गर्नुभएको छ।

शुक्रबार नै अध्यक्ष थापाले चार सहमहामन्त्री तथा सात जना सहायक महामन्त्री पनि मनोनित गर्नुभएको छ। सहमहामन्त्रीमा हेमजंग गुरुङ, नीलकण्ठ काफ्ले, रामथापा र चन्द्रबहादुर गुरुङ छन् भने सहायक महामन्त्रीमा वृजलाल यादव, कुन्ती शाही, मनोज प्रधान, राजाराम बर्तौला, विन्दु पहाडी, राजेन्द्र गुरुङ र राजेन्द्र श्रेष्ठ रहेका छन्।

सहायक प्रवक्तामा अध्यक्ष थापाले मोहन श्रेष्ठलाई नै मनोनयन गरेका छन्। अध्यक्ष थापाले सहायक कोषाध्यक्षमा गिरिधर परियारलाई मनोनित गर्नुभएको छ। राप्रपाको विधानमा कूल १ सय ६३ सदस्यी केन्द्रीय समितिमा पदाधिकारी र ४० प्रतिशत केन्द्रीय सदस्य अध्यक्षले मनोनित गर्ने उल्लेख छ।

राप्रपा बैठकले निर्वाचन घोषणा भइसकेको अवस्थामा आन्दोलनरत मधेश केन्द्रित राजनीतिक दलहरूलगायत सबै पक्षहरूलाई विश्वासमा लिई चुनावमा सबैको सहभागिता सुनिश्चित गरिनुपर्ने जनाएको छ। साथै राप्रपाले संसद्मा प्रस्तुत विधेयकमा सिमांकन जटिल विषय रहेको र यस बारे राजनीतिक दलका बीच सहमति आवश्यक रहेकाले साथै स्थानीय निर्वाचनसँग सिमांकनको विषयको सम्बन्ध पनि नहुने भएकाले हाललाई सिमांकनको विषय थाँती राखी अन्य विषयहरू परिमार्जनसहित अघि बढाउन सकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्