मलामीलाई ओत लाग्न प्रतीक्षालय



हेटौंडा,(नेस) । मकवानपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको अवसरमा निर्मित प्रतीक्षालयको शुक्रबार हेटौंडाको राप्तितटमा उद्घाटन गरिएको छ ।

संघको स्वर्ण महोत्सव मूल समिति संयोजक उत्तम शर्माढकालको सभाध्यक्षता रहेको कार्यक्रममा सांसद् महालक्ष्मी डीना उपाध्यायले प्रतीक्षालय उद्घाटन गरेकी हुन् । सांसद् उपाध्यायले समाजिक कार्यका लागि थप सहयोग गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

हिन्दु संस्कारअनुसार मृत्युपछिको अन्तिम संस्कार गर्न राप्तितटमा लैजाँदा मलामीका लागि घामपानीमा ओत लाग्न सहयोग पुग्ने अभिप्रायले प्रतीक्षालय निर्माण गरिएको संघ बरिष्ठ उपाध्यक्ष तथा प्रतीक्षालय निर्माण संयोजक कृष्ण कटुवालले बताए ।
संघ अध्यक्ष राजकुमार न्यौपानेले सार्वजनिक भौतिक संरचना निर्माण सम्पन्नपछिको संरक्षण चुनौतीपूर्ण रहेकाले यस विषयमा नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा मध्यमाञ्चल उद्योग वाणिज्य महासंघ अध्यक्ष अरुणराज सुमार्गी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मादवाडी, सांसद् सरिता प्रसाईं (झापा), हेउनपाका प्रवन्धकद्वय बीके महर्जन र भीम तिमल्सिना, संघका महासचिव महेन्द्र राउतलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्