देश समृद्ध बनाउन पर्यटन र ऊर्जाको विकास



मोतीराम तिमल्सिना, काभ्रे
पर्यटन र ऊर्जालाई कसरी अर्थतन्त्रमा जोड्न सकिन्छ ? भन्ने सोचका साथ शुरु गरिएको एक सय युवाहरूको दोलखा भ्रमण धुलिखेलमा आइपुगेर समापन भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका अभियानको ऊर्जामन्त्री जनार्दन शर्माले समापन गरेका छन्।

सोही अभियानको समापनमा युवाहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले राजनीतिक अस्थिरता र अव्यवस्थाका कारण मुलुकमा लोडसेडिङलगायतका समस्या भएको बताए। ‘देशको अस्थिरता नै लोडसेडिङको प्रमुख कारण हो, यो हट्नुमा केही व्यवस्थापकीय काम र केही बिजुली थप गरिएको हो, उनले भने– ‘राजनीतिक कोर्ष पूरा भएकाले अब नयाँ संविधानअनुसार मुलुकमा निर्वाचनमार्फत् संविधानको कार्यान्वयन र जनतालाई परिवर्तनको प्रत्यक्ष अनुभूति गराउनु हो। लियो क्लब अफ काठमाडौं मार्गदर्शनको आयोजनामा शुरु भएको प्रिजम इन्टरनेसनल युथ क्याम्प दोलखाको कालिञ्चोक, जिरी, अपर तामाकोशी, खरिढुंगालगायतका स्थानमा पुगेको थियो। एक सय युवा सहभागी भएको क्याम्प फागुन १२ गते राजधानीबाट शुरु गरिएको थियो।

स्थानीयस्तरमै क्याम्प खडा गरी युवाहरू बास बसेका थिए। पर्यटन र ऊर्जालाई उद्यमका रूपमा विकास गर्न अवलोकन गरी फर्किएपछि पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, ऊर्जामन्त्री जनार्दन शर्मा, विश्व साइकलयात्री पुष्कर शाह, पर्यटन व्यवसायीलाई युवाहरूले एकपछि अर्काे प्रश्नको वर्षा लगाए। २०–३० वर्ष उमेर समूहका युवामध्ये गणेश खत्रीले लोडसेडिङ हुनु र ७ महिनाको बीचमा अन्त्य हुनुको राजका बारेमा प्रश्न गरे भने जीवन थपलियाले दोलखाबाट दोस्रो ५ सय ५६ मेगावाटको परियोजना फर्कनुको कारण सोधे। त्यस्तै विष्णु दंगालले राजधानीमा अन्त्य भएको लोडसेडिङ पश्चिम क्षेत्रमा कहिले हुने प्रश्न राखे। सम्झना बुर्लाकोटीले लोडसेडिङ हट्नु संयोग हो कि ? व्यवस्थापकीय पक्ष भएको जिज्ञाशा राखिन् भने अजय देवकोटाले कर्णालीको पानी भारतलाई निःशुल्क दिने अनि भारतलाई नै पैसा दिएर बिजुली किनेर नेपाललाई आत्मनिर्भर र स्वावलम्वन पार्छु भन्नु सपना मात्रै भएको बताए। आनन्द शर्माले खरिढुंगामा फिल्म सिटी वनन नसक्नुको कारण सोधे भने सुनीलभक्त श्रेष्ठले नेपालको एयरपोर्टको अवस्था र हवाई उडानमा भएको भाडा वृद्धिका बारेमा प्रश्न राखे। राजधानीका आकाशमा कति समय प्लेन होल्ड गरेर राख्ने ? भन्दै सहभागीहरूले मन्त्री तथा पूर्वमन्त्रीलाई प्रश्न तेस्र्याए।

कामना शर्मा, सवना सापकोटा, सुबोध सापकोटाले पनि युवाहरूले देखेको सपनामा दलका नेताहरूले राजनीति गरेको बताए। ऊर्जामन्त्री शर्माले युवाहरूले सपना देख्नुपर्ने र सपनाअनुसारको योजना वनाउँदै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। अनील गुप्ता रौनियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सविन बुढाथोकी, जीवन थपलियालगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्