लगानी सम्मेलन हुँदै एक खर्बको लगानी प्रतिबद्धता आउने आशा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्धेश्यका साथ नेपाल लगानी सम्मेलन आयोजना गरिएको छ। उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनमा तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा लगानी सम्मेलन फागुन १९–२० गते हुने भएको छ।

लगानीको सम्भावनालाई उजागर गरिने भनिएको उक्त सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन हुने तथा प्रमुखवक्तामा भारतीय अर्थमन्त्री अरूण जेट्ली र एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्वनको सहभागिता रहने बताइएको छ। उक्त अवसरमा विदेशी लगानीकर्ता, विज्ञ तथा नेपाल सरकारका मन्त्री तथा सरकारी अधिकारीका साथै स्वदेशी विज्ञ, व्यवसायी र राजनीतिक दलका नेतालगायत प्यानलिस्ट एवम् वक्ता रहने छन्।

नेपालमा लगानीका सम्भावनाहरूको उपयोग नाराका साथ काठमाडौंमा आयोजना हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा नेपालमा लगानीका सम्भावनका क्षेत्र लगानी आकर्षित गर्न, नेपालले अगाडि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयास तथा नेपालमा लगानीका तुलनात्मक लाभबारे गहन प्रस्तुति तथा छलफल हुनेछ।

सम्भावित विदेशी तथा स्वदेशी लगानीकर्ताहरू नेपालमा रहेका विदेशी लगानीकर्ताहरू नेपालस्थित विदेशी कुटनीतिक नियोग र विकास साझेदार संस्था, क्षेत्रगत विज्ञहरू, सरकारी सरोकावालाहरू निजी क्षेत्र र सञ्चारमाध्यमलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको हो। उक्त अवसरमा लगानीकर्ताका लागि सूचना कक्ष, लगानीकर्ताबीच बैठक, सरकार र लगानीकर्ताबीचको बैठकसमेत गर्ने व्यवस्था गरिएको छ। सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि, वनजन्य उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनेछन्। साथै लगानीका प्रमुख सम्भावना भएका क्षेत्रका क्षेत्रगत विवरण नेपाल सरकारका तर्फबाट प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंकका, सिंगापुर, हङकङ मलेशिया, अष्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रसिया, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायतका मुलुकबाट २५० जना संस्थागत एवम् व्यक्तिगत लगानीकर्ता आउने प्रतिबद्धता जनाएका छन् भने झण्डै तीन सय स्वदेशी लगानीकर्ता, नीति निर्माता एवम् विज्ञको सहभागिता हुनेछ।
लगानी सम्मेलनमा माग गरिएका प्रतिबद्धता र निर्णयहरूको प्रभावकारी कार्यान्वयन गराउने उद्धेश्यले राष्ट्रिय योजना आयोगअन्तर्गत नीतिगत सुधार समिति, अर्थ मन्त्रालयको संयोजकत्वमा परियोजना बैंक परिमार्जन समिति, लगानी बोर्डको संयोजकत्वमा औद्योगिक प्रवद्र्धन समिति तथा उद्योग मन्त्रालयको संयोजकत्व समग्र समन्वय समिति गठन गरिने भएको छ।

सम्मेलनले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूबीच नेपालको लगानीका सम्भावनाबारे प्रचारप्रसार गर्ने अवसर प्रदान गरी विदेशी लगानीमार्फत् नेपालमा हाल पूर्वाधारको कमी पूरा गर्ने वातावरण सिर्जना हुनुका साथै नीति निर्मातालाई नेपालमा लगानी गर्न र नेपालमा लगानीमैत्री वातावरणका लागि आवश्यक नीतिगत सुधारका लागि महत्त्वपूर्ण हुने विश्वास लिइएको छ।

सम्मेलनले नेपाल विदेशीका लागि खुला रहेको र नेपालका आर्थिक नीति तथा कानुन विदेशी लगानीमैत्री रहेका कारण नेपाल विदेशी लगानीको आकर्षक गन्तव्य बन्दै गएको सन्देश अन्तर्रा्ष्ट्रिय समुदायमा प्रचारप्रसार हुने विश्वास सरकारले लिएको छ। सम्मेलनमा करिब एक खर्ब रुपियाँबराबरको लगानी विभिन्न क्षेत्रमा प्रतिबद्धता हुने उद्योग मन्त्रालयको अनुमान छ। सम्मेलनको तयारीका विषयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले लागनीकर्तालाई नेपाल लागनीको सम्भाव्य मुलुक हो भनेर सन्देश दिनकै लागि आयोजना गर्न लागिएको बताउनुभयो। तीनवटा ‘ई लाई प्राथमिकता दिएर औद्योगिकमैत्री प्रशासन निर्माण गर्न प्रायास गरिएको उल्लेख गर्दै मन्त्री जोशीले कम्पनी ऐन पारित भएर आउने क्रममा भएको, उद्योग दर्ता तथा सञ्चालनको लागि एकद्वार प्राणाली निर्माणको प्रयास भइरहेको र धेरै नीतिगत व्यवस्था सम्मेलन अगाडि नै आउने र केही आउने क्रममा रहेकोले लागनीको वातावरण निर्माण हुने दाबी गर्नुभयो।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले विगत द्वन्द्वको समयमा पनि नेपालमा विदेशी लगानी निरन्तर आएको उल्लेख गर्दै यस सम्मेलन नेपाललाई लगानी गन्तव्यका लागि विकास गर्ने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो। संविधान निर्माणपछि शान्तिपूर्ण राजनीतिक अवस्था तथा लगानीमैत्री ऐन कानुन बनिसक्दा पनि अपेक्षित रूपमा लगानी नभित्रिएको उल्लेख गर्दै अधिकारीले यस्ता सम्मेलनले विदेशी लगानी बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। सम्मेलनमा सरकारले सम्भाव्यता अध्ययन भइसकेका आठ आयोजना प्रस्तुत गर्ने भएको छ। सम्भाव्यता अध्ययन भइसकेका रासायनिक मल कारखाना, पूर्व–पश्चिम रेलमार्ग, भारतसँग जोड्ने लिंक, काठमाडौं भ्याली मेट्रो, काठमाडौं–हेटौंडा सुरुङमार्ग, काठमाडौं–पोखरा रेलमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र तामाकोसी तेस्रो जलविद्युत् आयोजना रहेका छन्। साथै विभिन्न निकायले तयार पारेका अवधाणागत आयोजना, लगानी बोर्ड नै छनोट गरेका केही आयोजना पनि लगानीकर्ता माझ प्रस्तुत हुनेछन्।

प्रतिक्रिया दिनुहोस्