इन्भेष्टमेन्ट बैंकद्वारा तीन दशक पार



काठमाडौं, (नेस)
नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको तीन दशक पार गरेको छ। भर्खरै फाइनान्सियल टाइम्स लण्डनबाट पाँचौंपटक ‘बैंक अफ द इयर को अन्तर्राष्ट्रिय पुरस्कार पाएको बैंकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको अवधि अगाडिनै आठ अर्बको चुक्ता पुँजी पुर्याउन सफल भएको छ।

बैंकले ४७ वटा शाखा, दुईवटा एक्स्टेन्सन काउन्टर, ८४ वटा एटीएम र ४२ वटा शाखारहित संजालबाट ७ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा पुर्याउँदै आएको जनाएको छ। गत आव २०७२⁄७३ मा बैंकले ४ अर्ब १३ करोड रुपियाँ सञ्चालन मुनाफा कमाएको थियो भने बैंकको खुद नाफा २ अर्ब ५५ करोड रुपियाँ थियो। जुन अघिल्लो आवभन्दा क्रमशः ३२ दशमलब ६ र ३० प्रतिशतले बढी हो। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ५८ करोड खुद नाफा गर्न सफल भएको छ।

दोस्रो त्रैमासीक सम्ममा चुक्ता पुँजी ८ अर्ब ७१ करोड रुपियाँ रहेको छ भने शेयरधनी कोष १८ अर्ब रुपियाँभन्दा बढी भइ निजी बैंकमध्ये सर्वाधिक पुँजी भएको बैक बनेको छ। बैंकको पुँजी पर्याप्तता अनुपात १४ दशमलब २८ प्रतिशत छ भने बैंकले निश्क्रृय कर्जालाई शून्य दशमलब ७० प्रतिशतमा सीमित पारेको छ।

प्रतिक्रिया दिनुहोस्