मध्यपहाडी लोकमार्ग बन्द हुँदा यात्रुलाई सास्ती



रामधन राई/खोटाङ ।
खोटाङमा स्थानीय तह पुर्नसंरचना अन्र्तगत मुहुरेगढी गाउँपालिका हटाएर लामीडाँडा बनाएको बिरोधमा स्थानीयले पुनः मध्यपहाडी लोकमार्ग बन्द गरेका छन् ।

महुरेगढी हटाएर सिफारिस नै नगरिएको गाउँपालिका बनाईएको बिरोध गर्दै आन्दोलनमा उत्रिएका बुइपा, राजापानी, बिजयखर्क र नुनथलाका स्थानीयले महुरेगढी गाउँपालिका कायम गर्न पुनः अनिश्चित कालका लागि सडक बन्द गरेका हुन् ।

यसअघि पुस २३ गतेदेखि माघ १८ गतेसम्म सडक बन्द गरेको संघर्ष समितिले आईतबार बिहानदेखि नुनथलाको महुरेमा सडकमै टायर बालेर सडक बन्द गरेका छन् । स्थानीय तह पुर्नसंरचनाको अन्तिम टुंगो लगाउन लागिएको बेलामा महुरेगढी गाउँपालिकालाई कायम गर्नका लागि दवाव सिर्जना गर्न सडक बन्द गरिएको संघर्ष समितिका सहसंयोजक दिनेश राईले बताउनु भयो ।
सडक बन्दका कारण सदरमुकाम दिक्तेलबाट राजधानी काठ्माण्डौं, कटारी र गाईघाटका लागि छुट्ने यात्रु तथा मालबाहक सवारी साधन छुट्न सकेका छैनन् । राजधानी लगायतका शहर आवत–जावत गर्ने एक मात्र सडक दिक्तेल–जयराम सडक बन्द भएपछि यात्रुलाई शास्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस्