पर्यटन लक्षित कार्यक्रम र चुनौती



ज्ञानमणि नेपाल कालोटोपी

नेपालको पर्यटनले यहाँको अर्थतन्त्रको धेरै ठूलो हिस्सा ओगटेको छ। २०१५ मा भूकम्प र नाकाबन्दीको कारण समग्रमा ३२ प्रतिशतले ह्रास आएको पर्यटन आगमनमा सन् २०१६ मा १६ प्रतिशतले वृद्धि भएको थियो। अहिले वार्षिक सरदर ८ लाख पर्यटकहरू नेपाल आउने गरेका छन्। सन् २०१४ मा ७ लाख ९० हजार ११८ जना पर्यटकहरू नेपाल आएका थिए। सन् २०१५ मा भूकम्प र नाकाबन्दीका कारण यो संख्यामा गिरावट आएको थियो। यस वर्ष ५ लाख ३८ हजार ९७० जना पर्यटक नेपाल आए। सन् २०१६ मा ६ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो वर्ष गतवर्ष भन्दा डेढ लाखले बढी हो। आगामी वर्ष करिब ९ लाख पर्यटक नेपाल ल्याउन सकिने सरकारले जनाएको छ।

विगतमा सरकारका पर्यटन लक्षित पुराना कार्यक्रमहरू एकपछि अर्को गर्दै असफल भए पनि उसले थप कार्यक्रम सार्वजनिक गरेको छ तर पूरा गर्न सकिने वा नसकिने भन्नेमा भने शंका नै छ। घोषित कार्यक्रमअनुसार आगामी १० वर्षसम्ममा वर्षेनि २० लाख पर्यटक नेपाल भित्त्याउने सरकारको महत्त्वाकांक्षी लक्ष्य छ। जुन लक्ष्य पूरा गर्नका लागि सरकारले पर्यटन क्षेत्रका पूर्वाधार निर्माण गर्न ६ अर्ब ६५ करोड रुपियाँ खर्च गर्ने जनाएको छ।

नेपालमा विश्वका हरेकजसो देशबाट पर्यटकहरू आउने गरेका छन्। जसमध्ये भारत, चीन, श्रीलंका, अमेरिका र बेलायतका पर्यटकहरू नेपालमा सबैभन्दा धेरै आउने गरेको तथ्यांक बताउँछ। विगत ५ वर्षयता भारतबाट मात्रै ६ लाख ७५ हजार ६ सय ५ जना पर्यटक नेपाल आएका थिए। यसै गरी सोही अवधिमा चीनबाट ४ लाख ५६ हजार ३ सय २१ जना पर्यटक नेपाल आए। श्रीलंकाबाट २ लाख ४१ हजार ६ सय ४६ जना, अमेरिकाबाट २ लाख ४२ हजार ४ सय ८२ जना र बेलायतबाट १ लाख ८९ हजार ७ सय ४६ जना पर्यटक नेपाल आएका थिए।

आगामी १० वर्षमा वैदेशिक मुद्रा आर्जनबाट मात्र वार्षिक २ अर्ब ७५ करोड ५० लाख अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य छ। सन् २०२० सम्ममा वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने र यसबाट हुने आम्दानीमा पनि वृद्धि गराई ४ खर्ब पुर्याइनेछ। सन् २०१७ र २०१८ मा वार्षिक २० प्रतिशतको पर्यटक आगमन वृद्धि रहने अनुमान छ। यसैबीच २०१८ लाई भने सरकारले अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्षको रूपमा मनाउने योजना पनि अघि सारेको छ। यस वर्षसम्ममा पर्यटकको नेपाल बसाइ अवधि अहिले रहेको प्रतिपर्यटक १४ दिनबाट बढाएर १६ दिनसम्म पुग्ने अनुमान छ। अहिले नेपालमा पर्यटन व्यवसायबाट प्रत्यक्ष रोजगारी २ लाख जना र अप्रत्यक्ष रोजगारी ५ लाख जनाले पाएका छन्। यदि सरकारले भनेअनुसार भयो भने सन् २०२५ सम्ममा पर्यटन क्षेत्रबाट ५ लाख जनाले प्रत्यक्ष र १२ लाख जनाले अप्रत्यक्षरूपमा रोजगारी पाउनेछन्। हाल ४९ नेपाली बराबर १ पर्यटकको अवस्था छ। यसमा पनि सुधार आउने सरकारको अपेक्षा छ। हाल विश्वमा ३.१ प्रतिशतले पर्यटनमा वृद्धि भएको छ। एशियामा यो ५.९ र युरोपमा २.२ प्रतिशत छ भने यही अवधिमा नेपालमा भने १६ प्रतिशतले वृद्धि भएको तथ्यांक देखाउँछ। त्यसैले सरकार आगामी १० वर्षमा आफ्ना योजना सफल हुनेमा ढुक्क छ। तर, यो योजना पूरा हुन सक्नेमा के–के चुनौती हुन सक्छन् भन्नेमा भने सरकार बेखबरझैं छ।
यसअघि सरकारले सन् १९९८ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। त्यो कार्यक्रम अनपेक्षितरूपमा सफल भयो। यसको सफलताबाट उत्साहित भएर प्रत्येक १० वर्षमा पर्यटन लक्षित अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गर्ने सरकारले बताएको थियो। तर, २००८ मा भने सरकारले उक्त कार्यक्रम सञ्चालन गर्न सकेन। अब २०१८ मा पुनः सो कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

पर्यटनसम्बन्धी विभिन्न कार्यक्रमहरू ओझेल परिरहेकै बेला अब भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुधारसहितका थप कार्यक्रम अघि सारेको छ। पर्यटन पूर्वाधारमा अहिलेसम्म भएका कमजोरीहरूमा सुधार गर्ने र २०२० सम्ममा २० लाख पर्यटक भित्त्याई १० लाखलाई रोजगारी दिलाउने सरकारको कार्यक्रम छ। यी विविध कार्यक्रमहरूको घोषणा गरिरहँदा नेपालको राजनीतिक अस्थिरताको अन्त्य गर्ने भन्ने कुरा कतै पनि उल्लेख छैन। पर्यटन प्रवद्र्धनमा यो नै सबैभन्दा खराब तत्त्व हो भन्ने कुरा योजना निर्माणकर्ताले बिर्सिए वा वास्ता नै गरेनन्।

त्यसै गरी अहिले पनि वर्षेनि ५ सय पर्यटक नेपालमा हराउने गरेका छन्। त्यति नै संख्यामा लुटिने गरेको तथ्यांक पनि आएको छ। त्यस्तै कतिपय पर्यटकलाई पथपर्दशक भनिएकाले नै जबरजस्तीरूपमा सामान किन्न बाध्य बनाउने र उनीहरूलाई सताउने गरेको पनि देखिएकै हो। यस्ता कुरामा सुधार नगरेसम्म जतिसुकै ठूला कार्यक्रमहरू घोषणा गरे पनि हुनेवाला केही छैन। तारे होटलमा पर्यटन विकासका योजना सार्वजनिक हुँदै गर्दा दुर्गम ठाउँमा पुगेको कुनै पर्यटक अलपत्र परेको वा लुटिएको सरकारले कहिल्यै देखेको छैन। यस्ता अप्ठइराहरू सल्टाउने कार्यक्रम निर्माण गरी पर्यटन क्षेत्रमा सुधार गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो। यतातिर ध्यान पुर्याएमा मात्रै नेपालले पर्यटन क्षेत्रबाट फाइदा लिन सक्छ।

प्रतिक्रिया दिनुहोस्