विनयको निबन्ध, पुनरावृत्ति,ज्ञानमणि नेपाल कालोटोपी



साहित्यका विविध विधामा विगत ३ दशकदेखि कलम चलाउँदै आएका साहित्यकार विनयकुमार शर्मा नेपालले यसपटक बिल्कुलै फरक प्रकारको कृति प्रकाशन गरेका छन्। यसअघि कविता, उपन्यास, समालोचना, कथासंग्रह र एक दर्जनभन्दा धेरै शब्दकोशहरु प्रकाशन गराइसकेका नेपालले पछिल्लोपटक निबन्धसंग्रह प्रकाशन गराएका हुन्।

उनको निबन्धको नाम छ, ‘पुनरावृत्ति’। जसमा ११ वटा निबन्धहरु समावेश गरिएको छ। यस संग्रहमा उनले जीवनमा भोगेका, अनुभव गरेका र दैनिक जनजीवनमा आइपर्ने हरेकखाले विषयलाई अटाउने प्रयास गरेका छन्।

साहित्यका अन्य विधाहरुमा धेरै साहित्यकारहरुले कलम चलाउने गरेको पाइए पनि निबन्धमा थोरै मात्र साहित्यकारहरुले कलम चलाएका छन्। ती थोरैमध्ये विनयको यो कृति पनि परेको छ। सुन्दा सामान्यझैँ लागे पनि यसमा गहन विषयहरु समावेश गरिएका छन्। लेखकले शीर्ष निबन्ध पुनरावृत्तिमा भनेका छन्– ‘मानिसको जीवनमा हरेक कुराहरु दोहोरिरहन्छन्।’

दिन आउँछ, रात पनि आउँछ। यो दैनिकरुपमा दोहोरिन्छ। यति मात्र होइन, एक हप्तामा सात दिन क्रमैसँग दोहोरिएर आउँछन्। घडीका सुईहरुले दोहोरिँदै समयको जनाउ दिइरहेका हुन्छन्। यसरी दोहोरिने क्रमलाई नै लेखकले पुनरावृत्ति भनेका छन्। केमा छैन पुनरावृत्ति ? सँर्य प्रत्येक दिन उदाउँछ, अस्ताउँछ। यो पनि पुनरावृत्ति नै हो।

प्रकृति निरन्तर नयाँ जन्माइरहन्छ। प्रकृति कहिल्यै चिन्ता गदैन, कि उसका सन्तान लायक भए वा नालायक ? जीवित छन् वा मृत। उसको काम हो नयाँ जन्माइरहनु, निरन्तर उत्पादन गरिरहनु। लेखक यसलाई पनि पुनरावृत्ति भन्छन्। मानिसले दैनिकरुपमै खानुपर्छ। जीवनभर उसले कति खान्छ, कति पटक कपाल काट्छ, कति पटक दाह्री–जुँगा काट्छ, तैपनि उस्तै तरिकाले पलाउन छोड्दैन। उनले यसलाई पनि पुनरावृत्ति भनेका छन्।

लेखककै विचार मान्ने हो भन,े कुनै पनि वस्तु कुनै न कुनै तरिकाले दोहोरिन्छन् नै। त्यस्तै अन्य निबन्धहरु गुरु, अक्षर, स्रष्टा र द्रष्टा, भाव, सोच, विचारलगायतमा पनि निकै घतलाग्दो विषय प्रस्तुत गरेका छन्। थथर्कियो मन निबन्धमा उनले ०७२ वैशाख १२ को विनाशकारी भँकम्पले जनमानसमा पारेको प्रभावलाई समावेश गरेका छन्। भँकम्पले गर्दा छोटो समयमै भएको उथलपुथल, क्षति र मानिसमा परेको मानसिक असरलाई उनले आफ्नै भोगाइको रुपमा निबन्ध बनाएका छन्। यसका अतिरिक्त बौद्धिकता उनका निबन्धको अर्को पाटो हो। सीधै मुखमा गाँस हाल्नुभन्दा अलिक फरक पाराले खायो भने त्यो तुलनात्मकरुपमा भिन्न देखिन्छ। निबन्ध पढ्दै जाँदा पाठकहरुले यस्तै कुराको अनुभव गर्न सक्नेछन्।

समग्रमा पुनरावृत्ति रोचक निबन्ध बनेको छ। निखारिएका अभिव्यक्ति छन्। तर कतै भाषा बुझ्न अलि मेहनत नै गर्नुपर्ने, अन्य साहित्यकारहरुका विषयजस्तै विनयका निबन्धहरु पनि कतै त्यस्तै त बन्ने होइन भन्ने केही पाठकहरुले दोष दिन पनि सक्छन्। शब्दहरु कलात्मक भए पनि थोरै जटिलता लाग्नेहरु पनि छन्। पढ्न पट्यार लाग्दा भने छैनन्। शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यस कृतिलाई पाठकले १७५ रुपियाँमा किन्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्