नेपालको सैनिक इतिहासको सवाल



डा. प्रेमसिंह बस्न्यात

वि.सं. १६१६ मा स्थापित लिगलिगकोट राज्य वि.सं. १७९९ सम्म मध्यकाल र वि.सं. १८०० देखि पछि आधुनिक कालमा पर्दछ। यसर्थ तत्कालीन गोर्खा राज्य विशाल नेपालभित्र टुक्रिएका थुपै राज्यमध्येको सबैभन्दा कान्छो थियो। वि.सं. १६१६ भाद्र २५ गते गोर्खा राज्यको स्थापना भएकै वर्ष हालको नेपाली सेनाको पनि स्थापना भएको थियो। इतिहासकारहरूले लेखेको आधारमा नेपाली सेनाले पनि आफ्नो स्थापना वर्ष बडामहाराजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको श्रीगणेश र नुवाकोटको विजय युद्ध वि.सं. १८०१ लाई मान्दै आएको छ। तर त्यसो होइन, गोर्खा राज्यको स्थापनासँगै वर्तमान सेनाको क्रमिकता २०७२ सालमा ४५६ वर्ष पुगेको छ भने वि.सं. १६१६ मा (हाल गोर्खामा रहेको) लिगलिगकोटका राजा द्रव्यशाहले भगीरथ पन्तलाई पहिलो सेनापति बनाई खडा गरेको हो र त्यही सैनिक दलबाट नै संस्थागत रुपले नेपाली सेनाको शुरु भएको हो।

लमजुङका राजकुमार द्रव्य शाह वि.सं. १६१६, भाद्र वदी, अष्टमी तिथि, रोहिणी नक्षेत्र, बुधबारको दिन लिगलिगकोटको राजा भए। सोही मितिबाट राजा द्रव्य शाहले नारायण अज्र्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राज पुरोहित, गणेश पाँडेलाई प्रशासन हेर्ने मन्त्री, भगीरथ पन्तलाई सेनापति, केशव बोहोरालाई भूमि विभागको प्रमुख तथा गंगाराम राना मगरलाई प्रधानन्यायाधीश –न्याय विभाग प्रमुख) नियुक्त गरेका थिए। प्रशासन हेर्ने १, सेना हेर्ने १, भूमिसम्बन्धी हेर्ने १ तथा न्याय हेर्ने १ गरी जम्मा ४ जना काजी (मन्त्री) को व्यवस्था भएको थियो। यो प्रथा पछिसम्म पनि रह्यो। त्यही मितिबाट सैनिक संगठन खडा भएकोले तिनै सेनाको विकासक्रम अहिलेको नेपाली सेना हो। यसर्थ नेपाली सेना वि.सं. १६१६ मा खडा भएको हो भने नेपाली सेनाको पहिलो सेनापति भगीरथ पन्त हुन्।

उतिखेर सेनापतिलाई प्रधान सेनापतिको जिम्मेवारी दिइन्थ्यो। त्यस बेला लिगलिगकोट, उपल्लोकोट र तल्लोकोट गरी ३ वटा साना भुरे राज्य थिए। ती सबैलाई राजा द्रव्य शाहले एकीकरण गरेर एउटै राज्य बनाई, गोर्खा नामकरण गरेर गोर्खा राज्य स्थापना गरिएको थियो। नेपाली सेनाले आफ्नो जन्म दिवस सोही तिथीमितिलाई मान्नु उचित हुन्छ। किनभने १६१६ सालमा स्थापित लिगलिगकोट राज्यको विकासक्रम विशाल नेपाल हो। त्यसै गरी सो राज्य स्थापना गर्ने उनै द्रव्य शाहका सन्तानको निरन्तरता पूर्वराजा ज्ञानेन्द्रसम्म हुन् भने राजा द्रव्य शाहले नियुक्त गरेको पहिलो सेनापति भगीरथ पन्तको मातहतमा खडा भएको सेनाको क्रमिकता वर्तमान सेना हुन्। गोर्खा राज्यको इतिहास लिगलिगकोटबाट शुरु भई, गोर्खा, नुवाकोट, कान्तिपुर, टिष्टा नदीबाट कांगडा पुगेर विशाल नेपाल बनेको हो।

पृथ्वीनारायण शाहको राज्यकालबाट मात्र गोर्खाको इतिहास शुरु गर्नु ऐतिहासिक पक्षपात हुनेछ। राजाहरूको गणना गर्दा द्रव्य शाहदेखि पूर्वराजा ज्ञानेन्द्रसम्मको इतिहास लेखिने अनि नेपाली सेनाको इतिहासचाहिँ पृथ्वीनारायण शाहबाट मात्र शुरु हुनु न्यायोचित हुँदैन। नेपाली सेनाको इतिहास वि.सं. १६१६ बाट घटाएर १८०१ साल बनाई जंगी अड्डा आफैँले पनि १८५ वर्ष कान्छो बनाएकोमा इतिहासमा अन्याय हुनेछ। कुनै पनि व्यक्तिले ऐतिहासिक तथ्यलाई नकेलाई यो होइन भनेमा प्राज्ञिक मर्यादाबाहिर हुनेछ। अहिले आएर (२०६७ साल) त सेनाको इतिहासलाई नेपाली सेना आफैंले पनि २४० वर्ष पनि भन्न थालेको छ, यो कसरी भयो अचम्म छ ? प्रधान सेनापति छत्रमानसिंह गुरुङले लेखाएको इतिहासअनुसार वि.सं. १८१९ मात्र स्थापना भएको मानेर १९३ वर्ष आयु घटाउँदा हामी ऐतिहासिक धरातलबाट बाहिरिएको ठहरिनेछ। वि.सं. १६१६ बाट वि.सं. १८०० सम्मको राष्ट्रिय इतिहासमै ऐतिहासिक क्रमिकता खोतलिएको छैन भने धेरै कुरा अस्पष्ट छन्। यो इतिहास आफैंको दोष होइन तर इतिहास खोतल्ने पक्षको कमजोरी हो। यसर्थ वर्तमान नेपाल र नेपाली सेनाको शुरुवात वि.सं. १६१६ नै हो। विश्वको जेठो इतिहासहरूमध्ये नेपाली सेनाको इतिहास पनि विश्वमै धेरै जेठो छ भने यो हामी नेपालीको गौरवको विषय हो।

तिलंगा, गोर्खाली सेना, नेपाली सेना, शाही सेना, शाही नेपाली सेना र पुनः नेपाली सेनाको नामबाट हुर्कंदै गएको यस संस्थालाई पृथ्वीनारायण शाहको पालामा नेपाली सेना भनिएको थिएन। पछि राजा त्रिभुवनको समयमा र श्री ३ चन्द्र शमशेरको पालामा मात्र गोर्खा सरकारको सट्टा नेपाल सरकार, गोर्खाली सेनाको सट्टा नेपाली सेना, राजालाई हिजहाइनेसको सट्टा हिजमेजेस्टी र प्रधानमन्त्रीलाई हिजएक्सिलेन्सी भन्न शुरु गरिएको हो। तसर्थ हाल आएर कान्तिपुरलाई नेपाल भनिन्थ्यो र कान्तिपुर १८२५ सालमा कब्जा भएपछि गोर्खा राज्य नेपाल भएको थियो भन्ने व्यक्तिगत भनाइलाई जोड दिएर नेपालको पूर्वराजसंस्था र सेनाको इतिहासलाई समेत २४० वर्ष भन्न थालिएको छ। जसमा कुनै ऐतिहासिक तुक रहेको छैन। विशाल नेपाल टुक्रिएर बाइसे–चौबीसे, सेन र मल्ल राज्य खडा भयो। यसर्थ कान्तिपुर राज्य पनि टुक्रिनुभन्दा पहिलाको विशाल नेपालकै एक टुक्रा थियो। कान्तिपुर राज्य आफैं नेपाल थिएन। नेपाल भनेको नेवार राज्य थियो पनि भनिएको छ। तर राजा जयस्थिति मल्ल क्षेत्री वंशीय मल्ल राजा हुन्। उपत्यकाभित्रका मल्ल राज्यहरूमा क्षेत्री वंशीय मल्ल राजाहरूले नै राज्य गरेका थिए। अब कसरी नेवारी राजा भए ? यसमा प्राज्ञिक मन्थन हुनै पर्दछ। जातीय मात लागेर अहिले नेपालको इतिहासलाई आपूmखुशी व्याख्या गर्न थाल्नु दुर्भाग्य हुनेछ। गोर्खा राज्यको स्थापना र इतिहासलाई पन्छाएर नेपाल र नेपाली सेनाको इतिहास लेख्न सकिँदैन। तसर्थ लिगलिगकोटबाट शुरू भई गोर्खा राज्य स्थापना भएको थियो र त्यही कुरालाई राष्ट्रिय इतिहासले मानेको छ भने वि.सं. १६१६ मा नेपाली सेनाको स्थापना भएको हो।

यद्यपि हामीले वि.सं. १८०१ भन्दा पहिलाको करिब ५३ वटा स–साना राज्यमा विभक्त सबै नेपालको सैनिक महत्वका इतिहास पनि लेख्नु जरुरी छ। हालसम्म प्राप्त इतिहासमा प्रायः सबै इतिहासले केवल गोर्खा राज्यको मात्र बेलिबिस्तार लगाएको भेटिन्छ। यो सैनिक इतिहासबाट न्यायोचित भएको छैन। फेरि पनि भन्नुपर्दा बाइसे–चौबीसे राज्य, काठमाडौं उपत्यकाका तीनवटा मल्ल राज्य र तराई क्षेत्रमा रहेका तीनवटा सेन राज्यमध्ये सबैभन्दा कान्छो र गरिब राज्य गोर्खाको इतिहास वि.सं. १६१६ बाट शुरू हुन्छ। वर्तमान नेपाल र राजवंशको क्रमिकता त्यही वर्ष र स्थानबाट शुरू भएको तथ्य घामजत्तिकै टड्कारो छ। यसर्थ त्यही मिति र स्थानमा खडा भएको नेपाली सेनाको उमेर २०६९ सालमा ४५६ वर्ष पूरा भएको छ भने गोर्खा राज्यको इतिहास केलाउँदा र त्यस बखतका देशहरूको राज्य विस्तार गर्ने नीतिलाई विश्लेषण गर्दा गोर्खाले पनि वि.सं. १६१६ देखि नै सैनिक प्रयोग गरी राज्य विस्तार गर्दै आएको देखिन्छ। किनभने द्रव्य शाहका छोरा राजा पूर्ण शाहले गोर्खा राज्यको विस्तार गरेका थिए भने उनको पनि छोरा राजा राम शाहले उत्तरतर्फ तिब्बतको कुकुरघाटसम्म सैनिक युद्ध गरेरै आफ्नो अधिकार जमाएका थिए। तत्कालीन कान्तिपुरका राजाको विरुद्ध पाटनका राजा सिद्धिनरसिंह मल्लले सैन्य सहयोग माग्दा राम शाहको छोरा राजा डम्बर शाह स्वयम् ठूलो फौजको नेतृत्व गरी काठमाडौं उपत्यका पुगेको तथ्य इतिहासले देखाएको छ। त्यसै गरी डम्बर शाहको नाति राजा रुद्र शाहको राज्यकाल वि.सं. १७२८ मा गोर्खाली, पाटन र भक्तपुरको संयुक्त सेना भई मकवानपुरविरुद्ध लड्न गएको तथ्य पनि भेटिन्छ भने पृथ्वीनारायण शाहको पिता राजा नरभूपाल शाहले नुवाकोटमाथि असफल हमला गरेका थिए। उनको मृत्युपछि मात्र उनको छोरा पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट जित्न सफल भएका हुन्।

यसर्थ वि.सं. १६१६ बाट नै वर्तमान नेपाली सेना राज्य विस्तार तथा नेपाल एकीकरण अभियानमा अविछिन्न लागिपरेको थियो र पूर्वमा टिष्टा अनि पश्चिममा काङ्गडा पुगेर बृहत् नेपाल निर्माण गरेको हो। वर्तमान नेपाली सेनाले पृथ्वीनारायण शाहको पालाको शुरुमा तिलंगा, नुवाकोट विजयपछि गोर्खाली सेना, चन्द्र शमशेर राणा प्रधानमन्त्री भएको समयमा नेपाली सेना, राजा महेन्द्रको पालामा शाही सेना, राजा वीरेन्द्रको पालामा शाही नेपाली सेना र दोस्रो जनआन्दोलन (वि.सं. २०६२–६३) पछि बनेको वर्तमान सरकारबाट पुनः नेपाली सेनाको नाम पाई आफ्नो साढे ४ शताब्दी पार गरिसकेको छ। लिगलिगकोटबाट ग्रेटर नेपाल बनाउने सम्पूर्ण नेपाली नेतृत्व गर्ने राजा द्रव्य शाह र उनको सन्तान अनि नेपाली सेनालाई सम्पूर्ण नेपालीको सलाम छ। अनि माटोको मायामा सहादत प्राप्त गर्ने ज्ञात–अज्ञात लाखौं नेपाली सेनाका सपुत्री तथा सपुतप्रति हार्दिक श्रद्धञ्जली अर्पण गर्दछु। साथै सेना दिवस २०७३ को अवसरमा नेपाली सेनाका बहालवाला र भूतपूर्व सकलमा हार्दिक बधाई।

(लेखकले नेपालको सैनिक इतिहासमा पीएचडी गर्नुभएको छ भने उहाँ नेपाली सेनाको पूर्व–ब्रिगेडिएर जनरल पनि हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्