पिसाब चुहिने रोगको उपचार शुरू



नेपाल समाचारपत्र
काभ्रे
हाँस्दा, हिँड्दा वा खोक्दा र गह्रुँगो भारी बोक्दा पिसाब चुहिने समस्याबाट पीडित महिलाका लागि धुलिखेल अस्पतालमा उपचार शुरू गरिएको छ। यसअघि उक्त रोग महिलाहरूले लुकाउँदै आएका थिए।

विवाहित भई बच्चा जन्माइसकेका, गर्भवती भएका वा महिनावारी रोकिने अवस्थामा पुगेका महिलामा यो रोग हुने धुलिखेल अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. आभा श्रेष्ठले बताइन्। केही महिनाअघि अस्पताल आफैंले अस्पतालमा विभिन्न प्रकारको रोगबाट पीडित भई उपचारमा आएका महिलामा गरेको सर्भेक्षणमा १ सय महिलामा ३० जनालाई यस्तो रोग भए पनि लुकाउने गरेको तथ्यांक फेला परेको डा. श्रेष्ठले बताइन्। अस्पतालका अन्य क्षेत्रहरू र धुलिखेल अस्पतालमै उपलब्ध बिरामीबाट गरेको सर्भेक्षणपछि अस्पतालले यस्तो खालको सेवा दिन शुरू गरेको हो। उक्त सेवालाई प्रभावकारी बनाउन देशभर कार्यरत विभिन्न अस्पतालका ६६ जना चिकित्सक, नर्स, फिजियोथेरापिस्टको दुईदिने सम्मेलन धुलिखेल अस्पतालमा सम्पन्न भएको छ।

सम्मेलनमा जर्मनका डाक्टर बन्हार्टउलको नेतृत्वमा एक टोली सहभागी भएको छ। पहिलो चरणमा उक्त रोगबाट पीडित भएका ९ महिलाको उपचार गरिएको छ। पहिलो दिन उक्त रोगका बारेमा विषयगत जानकारी गराई दोस्रो दिन उपचारमै सहभागी भएको डा. आभा श्रेष्ठले जानकारी दिइन्। महिलामा त्यस्तो समस्या भएपछि खोक्दा, हाँस्दा र बोल्दा समेत खुट्टा च्याप्नुपर्ने, पिसाब गर्न शौचालय पुगिसकेपछि ढोका लगाउन नपाउँदै भित्री कपडामै पिसाब चुहिने, पिसाब कपडामा चुहिएपछि लामो समयसम्म रहँदा गन्हाउने र सोही पिसाबका कारण इन्फेक्सनसमेत हुने गरेको थियो। डाक्टरहरूले पनि उपचारका लागि अस्पताल आएका महिलालाई एलर्जीको उपचार गराउँदा पनि त्यो रोग नभन्ने र अरू रोगको उपचार हुने गरेको थियो। पिसाब चुहिएर एलर्जी भएको अवस्थामा समेत महिलाले थाहा नपाउने श्रेष्ठले बताइन्।

प्रतिक्रिया दिनुहोस्