२ सय १ शिक्षक दरबन्दी काटियो १६ विद्यालय बन्द, ८२ लाई तह घटुवा



नानीराम नेपाल, सिन्धुपाल्चोक
लामो कसरत तथा वर्षौदेखिको प्रयासपछि अन्ततः दरबन्दी मिलानको प्रक्रियालाई नीतिगत रूपमा टुंग्याइएको छ। सोमबार अबेर सम्पन्न जिल्ला शिक्षा समितिको शैक्षिक कार्यदलले दरबन्दी मिलान तथा विद्यालय बन्द तथा समायोजन र तह घटुवाको विषयमा नीतिगत निर्णय गरेको छ। नीतिगत निर्णय भएसँगै जिल्लाका कुन–कुन विद्यालय बन्द वा समायोजन हुने, कुन विद्यालयको दरबन्दी काटिने र कुन–कुन विद्यालयमा दरबन्दी थप हुने भन्ने टुंगो लागिसकेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ।

शिक्षा कार्यालयका अनुसार जिल्लाका विभिन्न १६ आधारभूत तहका विद्यालय बन्द वा समायोजन हुने भएका छन्। अन्य विद्यालयसँगको नजिक दूरी र न्यून विद्यार्थी संया भएका १६ विद्यालयहरू बन्द (समायोजन) मा परेका हुन्। बतासेको ब्रम्हायणी आधारभूत विद्यालय र भीमसेन आधारभूत विद्यालय, फुल्पिङकोटको मनकामना आधारभूत विद्यालय र भीमसेन आधारभूत विद्यालय, नवलपुरको गणेश आवि, बाँडेगाउँको सल्ले आवि, भोटेचौरको सुयलछाप आवि र फटकसिलाको फट्केश्वर आवि बन्द (समायोजन) मा परेका छन्। त्यस्तै थुम्पाखरको सुन्दरडाँडा आवि र महांकाल आवि, पेड्कुको गाण्ोश आवि र पञ्चकन्या आवि, अत्तरपुरको जनचेतना आवि र साझावन आवि पनि बन्द तथा समायोजनमा परेका छन्।

सुनखानीको धनेश्वरी आवि, लिसंखुको जनजागृति आवि र तातोपानीको भूमाचौर आविलाई नजिकैका अन्य विद्यालयमा समायोजन गर्न लागिएको शिक्षा कार्यालयका शाखा अधिकृत यदुनाथ थापाले जानकारी दिए। शिक्षा कार्यालयका अनुसार ८ कक्षासम्म चलेका विभिन्न ६ विद्यालय तह घटुवा भई ५ कक्षासम्ममा झारिएको छ। त्यस्तै ५ कक्षासम्म चलेका विभिन्न ७६ विद्यालयहरूलाई ३ कक्षासम्म कायम गरिएको छ।

शिक्षा समितिको कार्यदलको बैठकले लामो कसरतपछि न्यून विद्यार्थी संख्या भई शिक्षक दरबन्दी बढी भएका र छोटो दूरीमा अर्को विद्यालय भएका आधारभूत विद्यालयका दरबन्दी कट्टा गरी आवश्कता हेरी अन्य विद्यालयमा थप गरिएको जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताए। विद्यार्थी संख्या उल्लेख्य भई शून्य दरबन्दीमा चलेका विद्यालयहरूलाई १ देखि ३ वटासम्म दरबन्दी थप गरिएको उनले बताए। ‘कतै शिक्षक धेरै थिए तर विद्यार्थी थिएनन्, कतै विद्यार्थी धेरै तर शिक्षक थिएनन्’, जिशिअ घिमिरेले भने, –‘वर्षौंको प्रयासपछि नीतिगत रूपमा दरबन्दी मिलान भएको छ।’ उनका अनुसार आधारभूत तहमा १ सय ९९ र निम्नमाध्यमिक तहमा २ विद्यालयको दरबन्दी कट्टा गरी अन्यमा थप गरिएको हो।

माध्यमिक तहमा भने दरबन्दी कट्टा भएको छैन। जिल्लामा सबै तहमा गरी कूल २४ सय ६६ शिक्षक दरबन्दी रहेकोमा निमावि तहका लागि १ सय ४५ दरबन्दी थप आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस्