२७ जनाको ज्यान लिने चालकलाई कैद



मोतीराम तिमल्सिना, काभ्रे
ल्लाको विर्तादेउराली गाविस वडा नम्बर ९ को खहरेखोलामा गत साउन ३१ गते सोमबार २७ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका चालकलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले दुई वर्ष कैद र पाँच हजार जरिवनाको फैसला सुनाएको छ।

न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले चालक अर्जुन भन्ने चिन्तामणि गौतमलाई कैद र जरिवनाको फैसला सुनाएको श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले सरकारी वकिलको कार्यालयमार्फत गौतमलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६२(२) बमोजिम २ वर्ष कैद र सोही ऐनको दफा १६२(१) अनुसार घाइते तथा अङ्गभङ्ग गराएकोमा ५ हजार जरिवनाको फैसला सुनाएको हो। ऐनले २ वर्ष देखि १० वर्ष कैदको व्यवस्था गरेको छ। लापरवाही गरी बस चलाएको अभियोगमा चलाइएको मुद्दामा चालकले सजायँ पाएका हुन्।

बीमा समितिमार्फत मृतकका आफन्तले प्रतिब्यक्ति ५⁄५ लाखका दरले रकम बुझिसकेका छन्। मृतकका आफन्तमध्ये नोर्बुु तामाङले दुईजना आफन्तको १० लाख रुपियाँ बुझेको बताए। त्यस्तै बसमा सवार व्यक्तिहरूमध्ये ४० भन्दा धेरै घाइते भएका थिए। अङ्गभङ्ग भएका घाइतेहरूको उपचारका लागि अरनीको यातायात सेवा समितिको तर्फबाट सबै उपचार खर्च भुक्तानी भएको घाइते मध्येकी एक रीता पाठकले अदालतमा गरेको बकपत्रमा उल्लेख गरिएको छ।

जिल्लाकै ठूलो घटनाका रूपमा रहेको उक्त दुर्घटनापछि देशभर सरकारले यातायात सञ्चालनमा कडाइ गरेको थियो भने केही समय बसहरू बन्द भएका थिए। जिल्लास्थित राजनीतिक दल र सरकारी प्रतिनिधिहरूको उपस्थितिमा व्यवसायीहरूले मृतकका आफन्तहरूलाई किरिया खर्चबापत बीमाबाहेकका एक⁄एक लाख रुपियाँ भुक्तानी गर्ने अनौपचारिक सहमति विरुद्ध मुद्दा परेपछि समितिले क्षतिपूर्ति दिन इन्कार गरेको थियो। ‘लापरवाही गर्ने व्यक्तिलाई कानुनअनुसार कारवाही हुनुपर्छ, घाइतेहरूलाई क्षतिपूर्ति र उपचार गर्ने कुरामा हामीले कञ्जुस्याइँ गरेका छैनौ’ –अरनीको यातायात सेवा समितिका अध्यक्ष श्याम लामाले बताए।

अरनीको यातायात सेवा समितिले कानुनअनुसार मृतकहरूका आफन्तलाई भुक्तानी र घाइतेहरूलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको अध्यक्ष लामाले बताए। काठमाडौंदेखि मादनकुँडारीका लागि छुटेको बा३ख १०६ नम्बरको बसमा बनेपाबाट र अन्य विभिन्न स्थानबाट यात्रुहरू चढेका थिए। यात्रुसहित केही खाद्यान्नसमेत लोड गरी गएको बस उकालोमा ब्रेक नलागी स्टार्ट बन्द भएपछि पछाडि सर्दै भिरबाट तल खसेको थियो। घाइतेहरूलाई हेलिकप्टरबाट राजधानी लगिएको थियो।

दुर्घटनामा कात्तिके देउरालीका सीता बर्देवा, कुनमाया परियार, उमेश सापकोटा, विष्णु बास्कोटा, कृष्ण दमाइ, परशुराम गौतम, गोविन्दप्रसाद गौतम, सीता गिरी, कृष्णहरि बर्देवा, सुशिला शिवभक्ती, मादनकुँडारीका एलिशा तामाङ, सञ्जा तामाङ, सुनमाया तामाङ, छविलाल चौलागाईं, नीलकण्ठ गौतम, औलकसिहं वाइबा, माईली तामाङ, विनोद गौतम, केशव पाण्डे, सुष्मा लामा मगर, मेच्छेपौवाका इन्द्रकुमारी लामा, गोठपानीका रेशम विक, ठूलीकान्छी सुनुवार, बिर्तादेउरालीका कृष्णहरि पाण्डे पोखरीचौरीका रमेश गौतम र रामेछापका रामेछाप लिलानाथ गौतम, जुनकिरी गौतमको मृत्यु भएको थियो।

गम्भिर घाइते भएका ध्रुव कोइराला, शोभा गिरी, रामशरण परियार, यसु लामा, शिखनाथ गौतमको स्वास्थ्य अझै पहिलाको अवस्थामा फर्किन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्