ओपीडी सेवा तीन बजे नै बन्द



हेटौंडा अस्पतालमा ओपीडी सेवा दिउँसो ३ बजे नै बन्द भएको पाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी नेतृत्वको टोलीले मंगलबार अनुगमन गर्दा अस्पतालको ओपीडी सेवा ३ बजे नै बन्द भएको
पाइएको हो।

अस्पतालको ओपीडी सेवा साँझ ५ बजेसम्म सञ्चालन हुनुपर्ने भए पनि ३ बजेसम्म मात्र सेवा दिइएको हो। ओपीडी कक्षमा एक दर्जन डाक्टर, मेडिकल अधिकृत कार्यरत भए पनि डेन्टल एक डाक्टरबाहेक कोही थिएनन्। अस्पतालको सेवा ५ बजेसम्म सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरे पनि त्यसअनुसार कार्यान्वयन नभएको जनगुनासो आएपछि अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी दुवाडीले बताए।

३ बजेसम्म बिरामीको जाँच गर्ने अभिप्रायले अस्पतालमा ओपीडी सेवाका लागि १२ बजेसम्म मात्र टिकट काटिँदै आएको छ। धेरै समय टिकट काट्दा बिरामी जाँच गरेर रिपोर्ट हेर्न नभ्याउने भएकाले १२ बजेसम्म मात्र टिकट काट्ने गरिएको हेटौंडा अस्पातलका प्रमुख डा. सर्वेश शर्माले बताए।

अस्पतालमा कार्यरत डाक्टर दरबन्दी, निजी स्रोत गरी २८ जना भए पनि मंगलबार अस्पतालको ओपीडी सेवा, इमर्जेन्सी, प्रसूति सेवालगायत वार्डमा चार जनामात्र डाक्टर थिए। अन्य कोही बिहानको ड्युटी, दिउँसो, बेलुकाको ड्युटीमा रहेको अस्पतालका अर्का डाक्टर कमल दवाडीले बताए। प्रजिअसँगै सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायव सुब्बा सहदेव आचार्यलगायत टोलीले अस्पताल अनुगमन गरेको हो। अस्पतालमा सुधार ल्याउन अनुगमन गरिएको र देखिएका त्रुटी सच्याउन लिखित निर्देशन दिइने प्रशासनले जनाएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको पनि अनुगमन गरेको छ। जनस्वास्थ्य कार्यालयका धेरैजसो कर्मचारी फिल्डमा निस्किएको हाजिरीमा उल्लेख भएको पाइएको छ।

यसै गरी अञ्चल आयुर्वेदिक औषधालय हेटौंडामा ल्याब र अन्तरंग सेवा अभावमा उपचार सेवामा अवरोध देखिएको छ।

दैनिक ४० जनासम्म बिरामी उपचार सेवा लिन आउने गरे पनि दैनिक उपचारका लागि आवश्यक ल्याब र भर्ना गर्न अन्तरंग सेवा नहुँदा ल्याब परीक्षण नगरी सामान्य परीक्षणका भरमा औषधी दिनुपरेको औषधालयका आयुर्वेद निरीक्षक वैकुण्ठ आचार्यले बताए।

जटिल अवस्थाका बिरामीलाई क्षेत्रीय तथा केन्द्रीय औषधालयमा रिफर गर्ने गरेकाले धेरैजसो बिरामी पुनः जिल्लाका मेडिकलतिर सेवा लिन जाने गरेको उनको भनाइ छ। सेवा लिन आउने बिरामीमध्ये १० प्रतिशत बिरामी भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका आउने भए पनि विस्तारित उपचार सुविधा नहुँदा बिरामी फर्केर जाने गरेको उनले जानकारी दिए।

पछिल्ला वर्ष एलोपेथिक चिकित्साबाट आयुर्वेदतर्फ सर्वसाधारणको झुकाव बढेकाले नारायणी अञ्चल औषधालयमा पनि उपचार सेवा लिन आउने बिरामीको संख्या वृद्धि भएको छ। यद्यपि, सेवा विस्तार नहुँदा जनमानसमा नकारात्मक असर पर्नसक्नेमा उनले चिन्ता व्यक्त गरे। चालू आर्थिक वर्षमा साउनयता ३ हजार २ सय ३१ जनाले यहाँबाट आयुर्वेदिक औषधी तथा उपचार सेवा लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्