बालबालिकालाई शिक्षासँगै संस्कारको खाँचो



हरेक आमाबुबाले आफ्नो सन्तान ठूलो मान्छे बनाउने सपना देखेका हुन्छन् । तर ठूलो मान्छे बनाउने नाममा असल संस्कार दिन भने भुल्ने गरेका छन् । हरेक बालबालिकालाई नैतिक शिक्षाको खाँचो रहेको छ । विज्ञान र प्रविधिको बढ्दो प्रयोगसँगै समाजमा नैतिक शिक्षाको कमी हुँदा विकृति र विसंगति बढ्दै गएको छ ।

नैतिक शिक्षाको अभावमा कलिलै उमेरमा बालबालिकाले आत्महत्या गर्ने डरलाग्दो घटना बढ्दै गएको छ । शहरी जीवनको व्यस्तताले छोराछोरीलाई बुबाआमाले समय दिन नसक्नु र विद्यालयमा कडा अनुशासनमा बस्नुपर्दाको पीडाको कारण बालबालिकाले आत्महत्याको बाटो रोज्ने गरेका छन् ।

सरकारले केही वर्षदेखि विद्यालयका पाठ्यक्रममा समावेश गराएको नैतिक शिक्षाको विषय नै हटाएको छ । समाजसँग जोड्ने, सामाजिक दायित्व र कर्तव्यबोध गराउने नैतिक शिक्षाको विषय नै खारेज भएपछि समाजमा झन् विकृति र विसंगति झाङ्गिएको छ । केही समययता विशेषगरी १० देखि १६ वर्षका स्कुले विद्यार्थीले आत्महत्या गरेको घटना सार्वजनिक भएका छन् । विद्यालयमा कडा अनुशासनको नाममा विद्यार्थीले मनोवैज्ञानिक दबाब झेल्दै आएका छन् ।

गृहकार्य नगरेको नाममा शिक्षकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने घटनाले पनि बालबालिकालाई त्रसित बनाउने गरेको छ । घरपरिवारमा उचित संस्कारको अभाव र विद्यालयमा अनुशासनको नाममा झेल्नुपरेको सास्तीका कारण पनि बालबालिकाले आत्महत्याको बाटो रोक्ने गरेका छन् । यस्ता घटनालाई नियन्त्रण गर्नका लागि पहिलो घरपरिवारमा बुबाआमाले असल संस्कार प्रदान गर्ने र दोस्रो विद्यालयले दिने मनोवैज्ञानिक असर कम गर्नुपर्छ ।

असल संस्कारको साथै नैतिक शिक्षा प्रदान गर्न सकेको खण्डमा मात्र राम्रो समाजको निर्माण हुनसक्छ । परीक्षामा फेल हुँदा नराम्रो ठान्ने मानसिकताले पनि विद्यार्थीले आत्महत्या गर्ने गरेका छन् । साना कक्षाका विद्यार्थीले नै आत्महत्या गर्न थाल्नु गम्भीर विषय हो । बालबालिका चाँडै रिसाउँछन्, धैर्य गर्ने क्षमताको विकास नहुने र परिवारमा एक्लो भएको महसुस गर्दै सानै उमेरमा आत्महत्या गर्ने गरेको तथ्यहरू सार्वजनिक हुने गरेका छन् ।

विद्यालयले कडा अनुशासनलाई परिमार्जन गर्दै नैतिक शिक्षा प्रदान गर्नुपर्छ । साथै शिक्षाको नाममा रटाउने भन्दा पनि जीवनोपयोगी र व्यावहारिक शिक्षा प्रदान गर्नको लागि जोड दिनुपर्छ । विद्यार्थीलाई कडा अनुशासन भन्दा पनि असल शिक्षा र संस्कारको खाँचो छ । समाजमा नैतिक शिक्षाको कमी हुँदा आपराधिक घटनाहरू पनि बढ्दै गएका छन् । एसिड प्रहार गर्ने, आत्महत्या गर्ने घटना पनि बढ्दै गएका छन् । यस्ता सामाजिक विकृति र विसंगतिलाई निराकरण गर्नको लागि सरकारले नैतिक शिक्षा पाठ्यक्रममा नै समावेश गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्