सुनमा कालोबजारी: प्रति तोला ४ हजार बढी



कुमार श्रेष्ठ, बाँके ।

आयात रोकिएको भन्दै व्यवसायीले सुनको मूल्य बढाएर कारोबार गर्दै आएका छन्। नेपाल सुन चाँदी महासंघले मंगलबार चार सय रूपैयाँ बढेर प्रतितोला ५५ हजार आठ सयमा कारोबार भइरहेको बताउँदा नेपालगञ्जमा भने ६० हजार रूपैयाँ प्रतितोलामा किनबेच भएको छ। ’प्रतितोला ५६ हजार आठ सय मूल्य हो। बजारमा अभाव छ। तपाईले लैजाने हो भने ६० हजार पर्छ, एक व्यवसायीले भने, आयात रोकिएकाले उही मूल्यमा दिन सक्दैनौं।’

नेपाल राष्ट्र बैंकले उही हप्ता कोटा बढाएपनि बजारमा सुनको अभाव रहेको छ। अहिले दैनिक २० किलो कोटा निर्धारण गरिएको छ। यसअघि १५ किलो थियो। सीआईबीले अवैध रूपमा भित्रिएको ३४ किलो सुन बरामद गरेपछि सुन आयातमा खल्लीबल्ली मच्चिएको हो।

पश्चिमको ठूलो बजार नेपालगञ्जमा मंगलबार मूल्य भन्दा दुई हजारदेखि बत्तीस सय बढीमा कारोबार भएको छ। चिनेजानेका या नियमित ग्राहकलाई व्यवसायी आफैले ’अहिले सुनको अभाव छ। धेरै पैसा हालेर नकिन्नुस्, दुई/चार दिनपछि आयात सहज हुन्छ अनि किन्नुहोला’ भनिरहेका छन्। किनेकै मूल्यमा पछि बेच्न पाइने भन्दै काँचो सुन किन्न पुगेका ग्राहकलाई व्यवसायीले यस्तो भनेका हुन्। ’तपाईले प्रतितोला ६० हजारमा किन्नुपर्छ। बेच्दाचाहि ५६ हजार आठ सयमा कारोबार हुन्छ, नेपालगञ्जमा नाम चलेको ज्वैलर्सका एक व्यवसायीले भनेपछि केही ग्राहक फिर्ता भएका थिए। त्यही ग्राहक अर्को पसलमा जादा एकले २५ सय र अर्कोले दुई हजार रूपैया तोकिएको भन्दा बढी मूल्य पर्ने बताए।

नेपालमा सुन तेस्रो मुलुकबाट भित्रिन्छ। दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स, हङकङ, स्वीजरल्याण्डलगायत देशबाट भित्रिने सुन सीमावर्ती शहरबाट भारतमा पुगेको पनि पाइन्छ। नेपालगञ्ज नाकापनि यो मामलामा चर्चित नै मानिन्छ। केही पहिला जुत्तामा राखेर लगिएको एक किलो सुन रूपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको थियो।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार संरक्षण अधिकृत जगत बस्नेतले अभावका नाममा बढी मूल्यमा कारोबार गर्न नपाइने बताउनुभयो। आफूकहाँ त्यस्तो कुनै उजुरी/गुनासो नआएको बताएका बस्नेतले छड्के जाँचेर दोषीलाई कारबाही गर्ने बताउनुभयो।

नेपाल सुनचाँदी व्यवसायी संघ, नेपालगञ्जका अध्यक्ष सलाउद्दिन जसगढले अहिले नेपालगञ्जमा सुनको अभाव भएको बताउनुभयो। उहाँका अनुसार, नेपालगञ्जमा मासिक तीन किलोसम्म सुन आइरहेको छ। नेपालगञ्जमा त्यसैपनि काठमाडौं भन्दा एक हजार बढीमा सुनको कारोबार हुने गर्दछ। मंगलबार चाँदीको मूल्य पनि तोलामा पा“च सय बढेर ८ सय १५ पुगेको छ। नेपालगञ्जबाट चाँदी भारत जाने र उताबाट विभिन्न प्रकारका गहना बनेर भित्रिने घटनाक्रमहरूले देखाएका छन्। नाकामा गहनासहित पक्राउ परेका दर्जनौंले यो कुरालाई स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्