जोखिममा रहेका बालबालिकालाई सहयोग



मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक ।
जिल्ला बालकल्याण समितिले काभ्रेपलाञ्चोक जिल्लाका एक्ला परिवारबाट अलग्गिएका र जोखिममा परेका बालबालिकाहरुलाई सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

जिल्ला बालकल्याण समितिले गत बर्षको विनासकारी भूकम्प पश्चात् जिल्लाका जोखिममा परेका १ हजार १ सय २० जना बालबालिकाहरुलाई आपत्कालिन सहयोग अन्तर्गत शैक्षिक सहयोग र पारिवारिक संरक्षण सहयोग प्रदान गरेको थियो ।

यस्तै सहयोगको कार्यक्रमलाई निरन्तरता दिने क्रममा यो आर्थिक वर्षमा समेत बालबालिकाको घटना व्यवस्थापन अन्तर्गत १ सय जना बालबालिका र मानबिय सहयोग अन्तर्गत ५० जना गरि जम्मा १ सय ५० जना बालबालिका लाइ सहयोग गरिएको जिल्ला बाल कल्याण समितिका सूचना व्यवस्थापन अधिकृत सरोज नेपालले जनाएका छन् । जिल्लामा विभिन्न कारणबाट अभिभावक विहिन बनेका बालबालिकाहरु भुकम्प पश्चात झनै संकटमा परेको एक सर्वेक्षणले देखाएको छ ।

जिल्ला बालकल्याण समिति अन्र्तगतको भुकम्प प्रभावित जिल्लाहरु मध्ये काभ्रेमा संचालन भएको आपतकालिन बालसंरक्षण परियोजनाले गरेको सर्वेक्षण अनुसार जिल्लामा विभिन्न कारणबाट एक्लिएका वा टुहुरा बनेका २ हजार ९ सय ८७ बालबालिकाहरु जोखिममा रहेको बाल कल्याण अधिकृत सरोज नेपालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी शिव सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रस्तुतीकरण गर्दै नेपालले चालु वर्षको ६ महिनामा थप २ सयको हाराहारीमा जोखिममा परेका बालबालिकाहरु फेला परेको जानकारी गराए ।

कुनै न कुनै कारणबाट जोखिममा परेका बालबािलकाहरुलाई तत्काल संरक्षण गर्न र राहतका कार्यक्रमहरु ल्याउन उनले सरोकारवाला निकायहरुको ध्यानाकर्षण हुनु पर्ने बताए । विषेषगरी बाबु वा आमा मध्ये एकले वा दुबैले दोश्रो विवाह गरी जाँदा बालबालिकाहरु संरक्षण विहिन भएको, त्यस्ता अभिभावकहरुबाट जन्मेका सन्तानहरुको जन्मदर्ता समेत नभएको, बढ्दो सूचना प्रविधिको दुरुपयोगका कारण बालबालिकाहरु मोवाईल विवाह गर्न लागेको, जोखिममा परेका मध्ये १२ दशमलब ६ प्रतिशत बालबािलकाहरुले अपाङ्गता भएका, होटल तथा यातायात र अन्य क्षेत्रमा समेत बालमजदुरहरु प्रयोग हुने गरेको नेपालले बताए ।

बालकल्याण समितिका अध्यक्ष रामकुमार मुल्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बालबािलकाहरुलाई जोखिमबाट मुक्त गर्न पहल गर्नु पर्ने बताएका थिए । स्थानीय विकास अधिकारी टेकराज निरौलाले बालबालिकाहरुको जन्म दर्ताका लागि संरक्षक भएको हकमा पनि हुने तर कानुन अनुसार संरक्षक बस्न नमान्दा जन्म दर्ता हुन नसक्ने बताएका थिए ।

संरक्षक बसेपछि उसको लालनपालन, विवाह र भविश्यमा अंश समेत दिनु पर्ने भन्ने मानसिकता र अभ्यासले पनि टुहुरा बालबालिकाहरुको हकमा संरक्षक बस्न समेत अस्विकार गर्ने गरेको निरौलाले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी नविनराज राईले बालबालिकाहरुको अवैद्य ओसार पसार तथा गैरकानुनी रुपमा प्रयोग भएको खवर भएमा तत्काल कारवाही गर्ने बताए ।

महिला तथा बालबालिका कार्यालयका प्रमुख पूर्णकुमारी श्रेष्ठले जिल्लामा बालबालिकाहरु जोखिममा परेको अवस्थामा प्रति बालबालिका २ हजारका दरले २५ जना बालबालिकाहरुलाई सहयोग गर्न सकिने रकम भएको बताईन् । जिल्लामा आमाबाबु दुबै गुमाएका १ सय २३, आमा मात्रै गुमाएका ५ सय ४८ र बुबा गुमाएका १ हजार १८ जना बालबालिका रहेका छन् । परिवारबाट अलग्गिएर बसेका ५ सय ३५ बालबालिका रहेका छन् भने नितान्त एक्लिएका ११ बालबालिका रहेका छन् ।

भुकम्पबाट मात्रै ८ जना बालबालिकाहरुले आमाबुबा दुबै गुमाएका थिए । सरकारले बालबालिकाहरुले बालगृहमा भन्दा सकेसम्म परिवार वा आफन्तहरुकै संरक्षणमा पुर्नस्थापना गर्न खोजे पनि त्यस्तो वातावरण नहुने र भएको अवस्थामा पनि बालबालिकाहरु दुब्र्यवहारमा पर्ने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्