सामाजिक सञ्जालको हौवा



(शुकदेव थपलिया) यति बेला ट्वीटर, फेसबुकजस्ता सामाजिक सञ्जालहरू यति शक्तिशाली भएका छन् कि यसको माध्यमबाट सेकन्डभित्रै विश्वमा नै आफ्ना कुरा राख्न, अरुका कुरा थाहा पाउन सकिन्छ । सामाजिक सञ्जालकै कारण जीवन अलपत्र हुनेदेखि रातारात सेलिब्रेटी बनाउनेसम्मको खेल हुने यस्ता सञ्जालहरूको दुरुपयोग पनि बढ्दो छ । मिडियाहरूमा प्रविधिको विकाससँगै आएका अनलाइन मिडियालाई झनै सामाजिक सञ्जालले गहिरो प्रभाव पार्दै आएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरू आफूलाई कुनै मिडियाकर्मीभन्दा कम ठान्दैनन् । मिडिया पनि यो कुरालाई साथ दिन्छ भन्ने कुरा एउटा उदाहारण भर्खरै चर्चामा रहेकी तरकारीवालीको अन्तर्वार्तादेखि उनकै विषयमा बनेका समाचारले प्रस्ट्याउँछ ।

यता साइबर क्राइमसम्बन्धी काम गर्ने निकाय मौन बसिदिँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो अधिकारलाई निष्ठा, कर्तव्र्य, भुल्दै दुरुपयोग पनि गर्दै छन् । वर्तमान मिडियाको मुख्य चुनौतीको रुपमा खडा भैसकेको विषय सामाजिक सञ्जालमा पिटिने हौवा एक महत्वपूर्ण हो । व्यक्तिको प्रतिष्ठामा प्रत्यक्ष धक्का दिने गरी पिटिने हौवाहरू जस्तै– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई उनको परिवारिक र व्यक्तिगत विषयमा गरिने टिकाटिप्पणीका भाषाका प्रयोगहरू, जसले उनको व्यक्तित्वको स्वतन्त्रतामा समेत खलल पुर्याउन सक्छ । व्यक्ति र व्यक्तित्वबीचको दूरी ठम्याउन नजान्दा सामाजिक सञ्जाल यस्तो समस्याहरूले ग्रसित छ । समर्थन वा विरोध गर्ने अधिकार हुन्छ तर त्यसमा प्रयोग हुने भाषाशैलीमा अश्लीलता र स्वतन्त्रता हनन गर्ने हुनुभएन भन्ने विषयले महत्व राख्छ ।

यति बेला नेपालको सन्दर्भ केलाउने हो भने, केही दिनअघिको एउटा सर्वेक्षणले ७० लाख नेपालीले सामाजिक सञ्जाल फेसबुक चलाउँछन् । फेसबुकबाट हुने अपराध र दुरुपयोगको सन्दर्भबारे मिडियाले उठाएको सवाललाई नियन्त्रण गर्ने निकाय निकै पछि छ भन्ने कुरा सम्बन्धित निकायले प्रयोग गर्ने पेजहरूमा गएर पनि थाहा पाउन सकिन्छ । सञ्जालमा पोस्ट गरिएका कतिपय सूचनाहरू नै समाचारको रुपमा बाहिर आउने गरेका छन् । यसले गर्दा सामाजिक सञ्जाल प्रयोगकर्ताले मिडियाको वास्तविक परिभाषासमेत बुझ्न कठिन पर्ने अवस्था देखा परिसकेका छन् ।

उच्च ओहदामा बस्ने नेता, अभिनेताका नामहरूमा पेजहरू भेटिन्छन् । ती पेजहरू सत्य हुन् या झुटा हुन् भन्नेसमेत पहिचान गर्न कठिन छ । एउटा व्यक्तिले अरु व्यक्तिको तस्वीर राखेर पनि चलाइरहेको पाइन्छ । व्यङ्ग्य गर्ने, समर्थन गर्ने, विरोध गर्ने, यी त सामान्य पक्रिया हुन् तर अनायासै पिटिएका हौवाको पछाडि मिडियासमेत दगुर्न बाध्य बनाइने वर्तमान अवस्थाहरूले थलिएको छ मिडिया ।

सत्य घटनामा आधारित रहेर तथ्यहरू सूचनाको रुपमा पेस गर्ने मिडियाको परिभाषा यति बेला ताल न तुलका केही अनलाइनले आरोप, आक्षेप, भ्रम र स्वार्थकेन्द्रित रहेर चलाइरहेका छन् । यसले गर्दा पनि मिडियाप्रतिको जनसम्पर्क, विश्वास सामाजिक सञ्जाल र त्यस्ता अनलाइनहरूले टुटाउँदै छन् । हामी छिटो सूचना चाहन्छौँँ तर सत्य के हो, त्यो बुझ्दैनौँ । यसले गर्दा दुर्घटनाको सिकार आफैं हुने गर्दै आएका छौँ । हौवाको भरमा कतिपय अनलाइनहरू सञ्चालनमा छन्, जसका कारण सही सूचनाहरू पाउन निकै कठिन बनिसकेको छ ।

सामाजिक सञ्जालमा पिटिने हौवाहरूबाट राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म कुनै विषयबारे नकारात्मक अभिव्यक्ति प्रस्तुत हुनु राष्ट्रको राष्ट्रियतामाथि पनि प्रहार हुनु हो भन्ने बुझ्नुपर्छ । राष्ट्रिय कूटनीतिमा नकारात्मक असर पुग्ने कामहरूमा पनि यी सञ्जालहरू जिम्मेवार देखिन्छन् । मिडियाले आफूले अङ्गालेको नीतिलाई समेत तितरवितर बनाउने काम भैरहेको जस्तो भान यति बेला सामाजिक सञ्जालले दिलाएको छ । मिडियाकर्मीहरूले यस्ता कुराहरू बुझ्नुपर्छ
अब सरकारले सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा निगरानी बढाउनुपर्ने हुन्छ । यसकै कारण आत्महत्या, हत्या, बलात्कार, लुटपाट, चोरीजस्ता घटनाहरू फस्टाउँदै छ । यसकै कारण पनि कतिपय घटनाहरू लुकेर बसेका छन् ।

बालबालिकाको मनमस्तिष्कहरू पनि फेसबुक र ट्वीटरले भरिएका छन् । यसमा पनि अभिभावकहरूले यी सञ्जाल आफ्नो सन्तानले कसरी चलाउँदै छन् भन्ने कुरा बुझ्नु जरुरी छ । सामाजिक सञ्जालको सही सदुपयोग भएको खण्डमा समृद्ध समाजको निर्माणको मार्गमा पनि यसले धेरै ठूलो भूमिका खेलेको हुन्छ भन्ने कुरा हामीले बुझ्नै पर्छ । सामाजिक सञ्जालबाट अनावश्यकरुपमा पिटिने हौवाले मिडिया मात्रै होइन, धेरै व्यक्ति, संस्था र समाजलाई समेत नकारात्मक असर पुगेको हुन्छ भन्ने कुरा हामीले बेलैमा विचार गर्नुपर्छ । अनावश्यक हौवा फिँजाउनेहरूविरुद्ध पनि चाँडै कारबाहीका कदमहरू चालिनुपर्छ । हामी सूचना प्रविधिसँग नजिक छौँ । हामीले चाहे सेकन्डभरको संसारको घटना थाहा पाउन सक्छौँ । यसलाई गलत तरिकाले प्रयोग गर्न पुग्दा सेकेन्डभरमा नै दुर्घटनाको भूमरीमा पनि फस्न सक्छौँ भन्ने कुरा मनन गरौँ ।

प्रतिक्रिया दिनुहोस्