नुवाकोटको आन्दोलन हिंसात्मक बन्दै



रामहरि गजुरेल, नुवाकोट
गाउँपालिका विवादका कारण नुवाकोटमा चर्किएको स्थानीयवासीको आन्दोलनले हिंसात्मक रूप लिने खतरा बढेको छ। जिल्लाबाट प्रस्ताव गरिएको लिखु गाउँपालिकालाई पुनःर्संरचना आयोगले गायब पारिदिएको भन्दै पूर्वी भेगका स्थानीयले १४ दिनदेखि चर्काइरहेको अनिश्चितकालीन बन्दसहितको आन्दोलनले उग्र रूप लिएपछि जनजीवन अस्तव्यस्त बन्दै गएको हो।

शुक्रबारदेखि बेलकोटगढी बचाउन भन्दै दक्षिणी क्षेत्रका वासिन्दाले पनि अनिश्चितकालका लागि जिल्ला बन्दको आह्वान गर्दै आन्दोलन थालेका छन्। शनिबार बन्दको अवज्ञा गरिएको भन्दै बदकर्ताहरूले आधा दर्जन सवारी साधनमा क्षति पु¥याएका छन्।
स्थानीय तह पुनर्संरचनाको विषयलाई लिएर उब्जिएको यस आन्दोलनबाट रसुवा र नुवाकोट जिल्लालाई बाहिरी जिल्लासँग जोड्ने तीनवटै नाका ठप्प बनेको छ। लिखु गाउँपालिकाअन्तर्गतको रुटमा पर्ने टोखा छहरे सडक १४ दिनदेखि बन्द छ भने बेलकोटगढी नगरपालिकामा पर्ने गल्छी–त्रिशूली सडक मार्ग र काठमाडौं– ककनी– त्रिशूली– धुन्चे सडकमार्ग तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध छ।

आन्दोलनले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लाबाट निर्णय गरी पठाएको प्रस्तावित लिखु गाउँपालिकालाई पुनर्संरचना आयोगले गायब बनाएको विरोधमा स्थानीयवासीले माघ २ गतेदेखि बन्द जारी राखेका हुन्। गाउँपालिकाको विवाद लम्बिदै जाँदा यसले थप हिंसा र संकट निम्त्याउने सम्भावना बढाएको छ।

लिखु गाउँपालिकामा पर्ने खानिगाउँ, चौघडा, थानसिंङ र सूर्यमति गाविसका स्थानीयवासी यातायातसमेत पूर्णरूपमा बन्द गर्दै आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। आन्दोलनको केन्द्र भाग ढिकुरे बजारमा बुधबार नेपाली कांग्रेसले गरेको जागरण सभामा पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महतको कार्यक्रममा आन्दोलनकारीहरूले अवरोध पु¥याउन खोजेपछि दोहोरो झडपसमेत भएको थियो।

प्रहरीले स्थानीयलाई नियन्त्रणमा लिन प्रहार गरेको अश्रुग्याँस र ४७ राउन्ड गोलीका कारण १३ जना स्थानीय र दुई प्रहरी घाइतेसमेत भएका थिए। स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लाबाट सिफारिस भएको प्रस्तावलाई उल्टाएको चर्को आरोप लगाउ“दै नागरिकहरूले त्यसलाई सच्याउनुपर्ने माग राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्