डोलेश्वरको आठौ वार्षिक साधारणसभा सम्पन्न



भक्तपुर, (नेस) ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिको शनिबार मन्दिर परिसरमा भएको साधारणसभाको उद्घाटन भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै प्रजिअ पोखरेलले डोलेश्वरले पूर्वाधार विकास लगायत भक्तजनको सेवामा विशष ध्यान दिंदै आएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास हुनुले भक्तपुरको विकासमा टेवा पुग्नु भएको बताउँदै यसलाई अझ प्रचार प्रसार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले मन्दिरको गुरुयोजनालाई अगाडि बढाउन आग्रह गर्दै मन्दिरको लागि पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा मन्दिरका संरक्षक भरत जंगमले केदारनाथको शिर डोलेश्वरमा हुनु भक्तपुर मात्र नभई नेपालीकै लागि गर्वको विषय भएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष विदुरमान बस्नेत, संस्थाका वरिष्ठ उपाध्यक्ष किरण थापा, महासचिव मोहन गिरी,कोषाध्यक्ष विश्वराम थापाले आआफनो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष अमर भुजु लगायतले बोल्नुभएको थियो । सो अवसरमा संस्थालाई आर्थिक तथा भौतीक सहयोग प्रदान गर्ने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्