राप्रपाद्वारा करिब बीसलाखलाई सदस्यता वितरण



काठमाडौँ, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर करिब २० लाख साधारण सदस्यता वितरण गरेको छ ।

पार्टीलाई सङ्गठित र व्यवस्थित बनाउन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई सो सदस्यता लिन अनिवार्य गरिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर सञ्चालन गरिएको विशेष सदस्यता वितरण अभियानअन्तर्गत केन्द्रीय अध्यक्षदेखि साधारण सदस्य तथा नयाँले समेत सदस्यता लिएका छन् ।

पार्टीको आगामी फागुन ६ देखि ९ सम्म हुने महाधिवेशनका लागि देशभरका अधिकांश वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न गरिएको छ भने बाँकी रहेका महानगर तथा केही नगरको अधिवेशन यही माघ १५ गतेसम्म सम्पन्न गर्ने योजना छ ।

पार्टीले बूढानिलकण्ठ नगरपालिकामा विहिबार अधिवेशन सम्पन्न गरेको छ । पार्टीका सहायक महामन्त्री जयकुमार खड्काले सो अधिवेशनको शुभारम्भ गर्दै देश र जनताका पक्षमा कार्य गर्ने बलियो राष्ट्रवादी शक्ति अहिले मुलुकमा खाँचो रहेकाले राप्रपा र राप्रपा नेपालको एकीकरण भएको बताउनुभयो ।

केन्द्रीय सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि वडादेखि नै सन्तुलित ढङ्गले नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा रहेको निर्देशन समितिको बैठक आज बस्नेछ ।

केन्द्रीय सदस्य नानुमैया आचार्यका अनुसार सो समितिमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, केन्द्रीय अध्यक्ष कमल थापा, पूर्वअध्यक्ष पशुपति शम्शेर राणालगायत १० सदस्य हुनुहुन्छ । बैठकमा महाधिवेशन तथा देशका समसामयिक विषयमा छलफल हुने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्