बेचविखनविरुद्ध ‘नाटक’ मा बालबालिका



मोतीराम तिमल्सिना काभ्रे, १२ माघ ।
भुकम्पपछि विभिन्न कारणबाट वेचविखन पर्न सक्ने भन्दै अभिभावकहरुलाई सचेत रहन खवरदारी गर्ने उदेश्यले नाटक मञ्चन गर्न थालेका छन् ।

जिल्लाका १० गाविसमा जागरण नेपालले एटविनको सहयोगमा उक्त नाटक बालबालिकाहरु मार्फत नै मञ्चन गर्न लागेको हो । भुकम्पले घर भत्किएको छ । पुर्ननिर्माणका लागि सरकारले दिएको अनुदान रकम पर्याप्त छैन । पहिलाको २५ हजार अस्थायी ब्यवस्थापनमा खर्च भईसकेको छ । घर भत्कनु अघि लिएको ऋण तिर्न आयश्रोत छैन ।

ऋण त तिर्न सकिएको छैन भने घर कहाँबाट बनाउनु ? भुकम्प प्रभावित १४ जिल्लाका अधिकांश परिवारको समस्या उस्तै छ । धेरै अभिभावकले ऋण तिर्न तथा पुर्ननिर्माणका लागि आयश्रोत जुटाउन बालबालिकाहरुलाई शहरी क्षेत्रमा काममा पठाउन थालेका छन् । उमेर नपुगेका बालबालिकाहरु पनि उमेर बढाउँदै दलालको माध्यमबाट विदशिएका छन् ।

शहरमा यौन तथा घरेलु श्रममा लागेका बालबालिकाहरु विदेशमा पनि कठोर श्रममा लागिरहेका छन् । मानव बेचविखन तथा ओसारपसार न्युनिकरणका लागि सचेतना दिने उदेश्यले भुकम्प प्रभावित जिल्लामा बालबालिकाहरु मार्फत नै अभिभावकहरुलाई खवरदारी गर्न कचहरी नाटक शुरु गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाका १० गाविसमा कचहरी देखाउन बालबालिकाहरुलाई ६ दिने तालिम प्रदान गरिएको छ । जागरण नेपालको कार्यान्वयन, एटविनको सहकार्य र युनिसेफको सहयोगमा जिल्लाका १० गाविसका ३० जना बालबालिकाहरुलाई कचहरी नाटकका बारेमा जानकारी गराईएको हो ।

नाटक कसरी लेख्ने ? नाटकमा अभिनय कसरी गर्ने ? नाटकले समाजमा कस्तो प्रभाव पार्छ ? अभिभावकहरु कसरी नाटकबाट प्रभावित हुन्छन् ? नाटक लेखन, निर्देशन र प्रदर्शनका बारेमा सन्तोष खनाल र पुष्पलाल अवस्थीले प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थी बालबालिकाहरुले ‘बुद्धिमानी छोरी’ नामक नाटक प्रदर्शन समेत गरेका थिए । भुकम्पबाट घर भत्किँदा बाबु आमाले साहुको ऋण तिर्न तथा घर निर्माणका लागि गाउँमा आएका दलाल मार्फत छोरीलाई शहर पठाउन लाग्दा छोरीले विद्यालयको शिक्षक बोलाउँदै शिक्षक मार्फत दलाल पक्रेका थिए ।

दलालले आफु प्रलोभनमा परी भुकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुलाई फकाउँदै थोरै रकम लिएर श्रममा लगाउने गरेको बयान दिएका थिए । बुद्धिमानी छोरीले आफु गाउँमै बस्ने र त्यस्ता अपरिचित तथा चिनिएकै ब्यक्तिबाट समेत बालबालिकाहरु बेचविखनमा पर्ने तथा महिलाहरु समेत पर्न सक्ने भन्दै सजग रहन अभिभावकहरुलाई अनुरोध गरिएको थियो ।

तालिम समापनमा जागरण नेपालका संस्थापक अध्यक्ष शर्मिला कार्की, अध्यक्ष सम्झना पोखरेलले नाटकले स्थानीय स्तरमा मानव बेचविखन रोक्न सहयोग पु¥याउने बताएका थिए । प्रशिक्षार्थी बालबालिकाहरुले केहि दिनको अभ्यास पछि धुलिखेलका विभिन्न स्थानमा नाटक प्रर्दशन गरेका थिए । तालिमबाट गाँउ फर्किएपछि बालबालिकाहरुले सोहि विषयमा कचहरी नाटक प्रर्दशन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्