रसुवामा गोठ सार्ने परम्परा लोप हुन थाल्यो



रसुवा, ११ माघ । घरमा पालेका गाइवस्तु हिंउद लागेपछि सार्ने परम्परा विस्तारै लोप हुन थालेको छ ।
केही वर्ष अघिसम्म रसुवाको गाँउवस्तीमा मंसिर महिनादेखि फागुन महिनासम्म घरबाट वारीमा गोठ लैजाने चलन रहेको भएपनि अहिले यो परम्परा विस्तारै हराउन थालेको हो ।

मंसिरमा कोदो पाकेपछि नल काट्ने अनि वस्तुभाउ घरबाट जंगल वा वारीमा लगेर गोठ वनाउने परम्परा जिल्लामा पशुपालन गर्ने कृषक घट्दै जान थालेपछि लोप हुने अवस्थामा पुगेको हो ।

गाँउघरमा हिजोआज केहीले मात्र गोठ सार्ने गरेका छन् । पहिलेदेखि नै हिउदमा गोठ सारेर वस्दै आएका बुढावुढिहरुले गोठ सार्ने गरेपनि अहिलेका युवापुस्ताले परम्परालाई चटक्कै छाडेका छन् ।

घर भन्दा टाढा टाढा रहेको खोरिया वारीमा मल वोकेर लैजान गाह्रो हुने हुँदा वस्तुभाउ लगेर वारी मल्ने गरिएको धैबुङ–९ का चक्र बहादुर तामाङले वताउनुभयो । ‘आफुले पालेका वस्तुभाउ दिनभरी चराउने अनि वेलुकी वारीमा वनाइएको गोठमा वाध्ने परम्परा नै थियो तामाङले भन्नुभयो ।

चैत लागेपछि हिउँ पर्ने हुनाले घरमै पशु बस्तु सुरक्षित गरिने भएपनि करिव चार महिनाका लागि भने घरमा पालिएका गाई भैसीलाई वारीमा नै गोठ वनाएर राख्ने अनि मकै रोप्ने वेला भएपछि घरमा ल्याउने परम्परा रहेको थियो ।
वारी मल्नका लागि वारीमा लैजादा एक डोको मल हुने वेलामा एउटा गरा मलेर सकिने भएकाले पनि वारीमा लैजाने परम्परा रहेको धैबुङ–९ का वालकृष्ण पौडेलले वताउँनुभयो ।

पौडेलले भन्नुभयो – थला सरेर बारी मल्नाले खेतीपाती सप्रन्थ्यो अहिले त यस्तो चलन हराउदै जान थाल्यो जस्का कारण उत्पादन पनि घट्दै गएको छ । हिउँदभरी थला सारेर मलेको ठाउँमा राम्रो उत्पादन हुने कृषकहरु बताउछन् । ‘अहिले त दुई दिन काम गरे एक महिना खान पुग्छ वस्तुभाउ पाल्न त छाडिसके गोठ सार्ने परम्परा त अव परैको कुरा हो’ पौडेलले वताउनुभयो ।
घर भन्दा माथी रहेको खोरियामा गोठ वनाएर वस्तु पाल्दा घाँसपात गर्न सहज पनि थियो । दिनभर गाइवस्तु चराउदै गर्दा वेलुकी वाधेपछि दिनका लागि घाँस अनि खाना वनाउनका लागि दाउराको सिटा पनि दिउसो जम्मा हुन्थ्यो ।
भकारीले वारेर वनाइएको गोठमा खाना पकाउन अनि राती सुत्नका लागि ओछ्यानको समेत व्यवस्था गरिएको हुन्थ्यो ।

विस्तारै भकारी हराउदै जान थालेपछि जस्तापाताको प्रयोग गरे गोठ वनाउने परम्परा वस्यो तर अहिले गाँउमा पशुपालन गर्ने परम्परा विस्तारै हराउन थालेपछि गोठ सार्ने परम्परा पनि हराउदै जान थालेको हो ।

प्रतिक्रिया दिनुहोस्