लोकनाथकोे काजकिरिया सुरु



सुरुङ्गा झापा, ११ माघ / नागरिक समाजले दबाब दिएपछि मृत्यु भएको चार दिनपछि बल्ल कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई ईश्वरी को हिन्दू परम्पराअनुसार सोमबार अपराह्नदेखि काजकिरिया सुरु भएको छ ।

अन्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेको भनिएका कनकाई नगरपालिका–७, मन्सापुर निवासी भट्टराईको काजक्रिया नहुँदा पीडित परिवारमा थप पीडा थपिएको थियो ।

भट्टराई परिवारले विगत १२ वर्षदेखि पुज्दै आएका पुरोहित सोही ठाउँ निवासी रोहिणीप्रसाद गौतमले उनको काजकिरिया नगरिदिएपछि मृतक भट्टराईको काजक्रिया हुन नसकेको बताइएको छ ।

उनको काज किरियाका लागि सोमबार दिउँसो नागरिक समाजको टोलीले भट्टराईको घरमा गएर पुरोहित यादवप्रसाद खतिवडालाई काजक्रिया गराउन आग्रह गरेपछि अपराह्न ३ बजेदेखि उनको काजकिरिया थालिएको हो ।
सोमबार अपराह्नदेखि मृतकका ठूलोबुबा लीला भट्टराई भतिजाको काजकिरियाका लागि कोरोढिकुरो गरेर कोरामा बस्नुभएको सामाजिक अगुवा कुमारप्रसाद खरेलले बताउनुभयो ।

भट्टराईको काजकिरिया गराउन गङ्गा उप्रेती, धनपति चुडाललगायतले पुरोहित गौतमलाई अनुरोध गरेपनि उहाँले आफूले नभ्याउने भन्दै उनको काजकिरिया नगराएपछि अर्को पुरोहितको व्यवस्थापन गरिएको खरेलले बताउनुभयो ।

स्थानीय समाजसेवी गोपाल सिवाकोटीले भन्नुभयो, तुरुन्तै ‘मन्सापुरे समाज’ गठन गरी एउटा हिन्दूले अर्को हिन्दूलाई उपहास गरेको र अन्तरजातीयताको नाममा गरिएको विभेदको अन्त्यका लागि चाँडै हिन्दू महासङ्घमा समेत छलफल गरी यस्तो सामाजिक अन्योलताको अन्त्यका लागि अभियान चलाइने बताउनुभयो । भट्टराईले पुज्दै आएका पुरोहित गौतमलाई अब अन्य व्यक्तिले समेत नपुज्ने बताइएको छ ।

गत शुक्रबार भट्टराई र सोही ठाउँ निवासी अस्मिता तोलाङ्गी स्थानीय विरीङ्ग नदीको किनारामा सिसौको रुखमा एउटै डोरीले पासो लगाई आत्महत्या गरेका थिए ।

मृतकको शव परीक्षण गरेपछि वैदिक परम्पराअनुसार दाहसंस्कार गर्ने समयमा पुजेका पुरेतलाई खबर गर्दा आफू नभ्याउने भन्दै पन्छिएको र अन्य पुरोहितले पनि काजक्रिया गर्न नमान्दा पीडित परिवारमा शोकमाथि शोक थपिएको थियो । रासस
––––––––––––

प्रतिक्रिया दिनुहोस्