ग्रान्डीमा बालरोग सेवा



ग्रान्डी अन्तर्राट्रिय अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा शुरू गरिएको र अस्पतालमा अब सातै दिन चौबीसै घण्टा बालरोग विशेषज्ञ उपलब्ध हुने जनाएको छ। ग्रान्डीले सेवा शुरू गरेको पाँच वर्ष प्रवेश गरेको उपलक्ष्यमा धापासीमा रहेको अस्पतालले बालरोग सेवा शुरू गरेको हो।

जसअन्तर्गत सातै दिन चौबीसै घण्टा बालरोग विशेषज्ञको उपलब्धता रहने पेडियाट्रिक इमरजेन्सी बाल आकस्मिक उपचार सेवा, अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बालबालिकाका लागि समर्पित पेडियाट्रिक बार्ड (समर्पित बाल उपचार कक्ष), सघन उपचार आवश्यक भएका नवजात शिशुका लागि नवजात सघन उपचार केन्द्र (नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयू) र सघन उपचार आवश्यक भएका बालबालिकाका लागि बाल सघन उपचार केन्द्र (पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट (पीआईसीयू) को व्यवस्था गरिएको जनाएको छ।

त्यसै गरी सरुवारोगको संक्रमण भएका र सघन उपचार आवश्यक भएका बिरामीका लागि एनआईसीयू र पीआईसीयूमा अलग्गै आइसोलेसन कक्षको समेत व्यवस्था रहेको अस्पतालले जनाएको छ। जनरल पेडियाट्रिक ओपीडी–बाल बहिरंग विभागअन्तर्गत बालबालिकामा देखिने विभिन्न किसिमका रोगको पहिचान, निदान र उपचार हुनेछ। यसका लागि पनि अस्पतालमा सातै दिन चौबीसै घण्टा बालरोग विशेषज्ञ हुनेछ।

नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयू) नवजात शिशु सघन उपचार केन्द्रअन्तर्गत नवजात शिशु तथा प्रिम्याचुअर समय अगावै जन्मिएका शिशुहरूलाई सघन उपचार गरिन्छ। यस विभागमा पेडियाट्रिक तथा नियोनेटोलोजिस्ट डा. विनोदकुमार शाह नेतृत्वको दक्ष तथा अनुभवी चिकित्सकहरूको टोलीले नवजात शिशुहरूको उपचार गर्ने ग्रान्डी अस्पतालले जनाएको छ।

पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट (पीआईसीयू), बाल सघन उपचार केन्द्रअन्तर्गत बालबालिकाको सघन उपचार गरिन्छ। पेडियाट्रिक पल्मोनोलोजी, बाल स्वासप्रश्वास रोग उपचारअन्तर्गत बालबालिकामा देखिने दम र एलर्जीलगायतका स्वासप्रश्वास सम्बन्धी विभिन्न रोगको उपचार गरिन्छ। पेडियाट्रिक सर्जरीअन्तर्गत बालबालिकाको सामान्यदेखि जटिल प्रकृतिका सर्जरी सेवा उपलब्ध हुनेछ भने पेडियाट्रिक कार्डियोलोजीअन्तर्गत बालबालिकामा देखिने विभिन्न मुटुरोगको उपचार गरिन्छ।

अस्पतालको नवजात शिशु परामर्श केन्द्र (नियोनेटल केयर युनिट) मा एक महिनाभन्दा कम उमेरका नवजात शिशुका आमाबाबुलाई सँगै राखेर विशेषज्ञहरूद्वारा परामर्श दिइन्छ। नवजात शिशुको स्याहार तथा हेरविचारसँगै स्तनपान र एक महिनाको अवधिमा सामना गर्नुपर्ने सम्भावित चुनौतीहरू र त्यसलाई समाधान गर्ने विषयमा समेत जानकारी गराइन्छ।

त्यसै गरी हेल्दी बेबी क्लिनिक (बाल स्वास्थ्य परीक्षण सेवा) अन्तर्गत बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा उनीहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा उपलब्ध रहेको छ।

जागरुक अभिभावकका लागि बालबालिकाको विकास तथा उनीहरूको स्वास्थ्य अवस्थाबारे विशेषज्ञ चिकित्सकहरूसँग जानकारी लिन यो सेवा उपयोगी रहेको छ। यसअन्तर्गत विशेष गरी बालबालिकाको उमेरको आधारमा पोषण र शारीरिक विकासको परीक्षण गरी परामर्श तथा उपचार गरिन्छ।

प्रतिक्रिया दिनुहोस्